मानसिक चिन्ताको मनोपरामर्श

शनिबार, २८ मङि्सर २०७६, १२ : १५ प्रकाश जंग थापा
मानसिक चिन्ताको मनोपरामर्श

डिप्रेसन (मानसिक चिन्ता) आधुनिक विश्वको प्रमुख समस्या हो। विश्व स्वास्थ्य संगठनअनुसार संसारभरि ३० करोड सर्वसाधारण मानसिक चिन्ताबाट ग्रसित छन्। अशक्तताको प्रमुख कारणमध्ये मानसिक चिन्ता एउटा हो। मानसिक चिन्ताको समयमै पहिचान गर्न सक्नुपर्छ। मानसिक चिन्ताको प्रकार पहिल्याएर उचित उपचार दिनुपर्ने हुन्छ। क्लिनिकल कारणले मानसिक चिन्ता भएको हो भने क्लिनिकल उपचार दिनुपर्ने हुन्छ। मनोवैज्ञानिक कारणले मानसिक चिन्ता भएको हो भने मनोपरामर्श दिनुपर्ने हुन्छ। अन्यथा यसले जो कोहीलाई आत्महत्याको बाटो रोज्न बाध्य गराउन सक्छ। तथ्याङ्कअनुसार हरेक वर्ष आठ लाख मानिस आत्महत्या गर्ने गर्छन्। यो आफैँमा एक भयानक तथ्याङ्क हो। चिन्ताको कारण बढ्नुमा दुई कारण छन्। एक, चिकित्सकीय अवस्था। जस्तो आनुवांशिक कारणले मानसिक चिन्ता हुनु। दुई, खराब मनोविज्ञान। खराब मनोविज्ञान कसरी मानसिक चिन्ताको कारण हुन सक्छ त्यसमाथि चर्चा गरौँ।

हरेक व्यक्तिमा इगो (अभिमान) हुन्छ। प्रश्न यति हो कति ठूलो, कति सानो ? अथवा इगोको मात्रा अधिकतम छ कि न्यूनतम ? ठूलो अभिमान राख्ने व्यक्ति आफूमा मात्र केन्द्रित हुन्छ। आफ्नो फाइदा मात्र हेर्छ। आफ्नो सेल्फ इमेज यथावत् राख्न कुनै पनि हदसम्म जान सक्छ। अरुको बारेमा सोच्न सक्दैन। अरुको आवश्यकताबारे कुनै मतलब राख्दैन। आफूले चाहेको जस्तो पाउन सकेन वा भएन भने अनावश्यक चिन्ता लिन थाल्छ।
त्यसैगरी प्रायजसो मानिस आफ्नो मूल्य मान्यता चिन्न सक्दैन। आफ्नो वास्तविक व्यक्तित्व प्रस्तुत गर्ने हिम्मत गर्दैन। अनि सोही मुल्य मान्यता, व्यक्तित्वअनुसारको व्यवहार गर्न र जीवनशैली रोज्न सक्दैन। जसकारण जीवनमा सामान्य उतारचढाव आउनेबित्तिकै उनीहरु चिन्तन गर्न छाडेर चिन्तित हुन पुग्छन्।

केही समाधान विधि
क्लिनिकल मामिलामा चिन्ता हटाउन मनोचिकित्सककै भूमिका महत्वपूर्ण रहन्छ। यस्तोमा गुलियो वचन दिएर अथवा परामर्श त्यति प्रभावकारी नहुन सक्छ। खराब मनोविज्ञानकै कारण चिन्ता बढेको अवस्थामा भने निम्न विधि अवलम्बन गर्न सकिन्छः

(क) आत्मविश्लेषण
अधिकांश मानिसअरुको आत्मनिरीक्षण, आत्मविश्लेषण गर्नमा व्यस्त रहन्छन्। स्वयं आफ्नो आत्मविश्लेषण गर्न भने समय नै छुट्याउन सक्दैनन्। भनाइको तात्पर्य, आफ्नो लागि समय दिन सक्दैनन्। के(कस्तो सोच र मनोविज्ञानले चिन्ता उत्पन्न गराएको छ ? अभिमानले कसरी चिन्ताको मुखमा धकेल्छ ? यी यावत् विषयमा अनभिज्ञ रहन्छन्। मानसिक चिन्ताको जरा भेट्न सक्दैनन्। त्यसपछि त्यही मानसिक चिन्ताको जरा जीवनमा यसरी फैलिँदै जान्छ कि उनीहरुलाई अर्थपूर्ण जीवन जीउन असम्भव सिद्ध हुन्छ। चिन्तामुक्त जीवन जीउन चाहनुहुन्छ भने आत्मविश्लेषण कार्यमा पर्याप्त समय व्यतित गर्नोस्। यति मात्र होइन, अभिमानले तपाईँमा कसरी चिन्ताको स्थिति निर्माण गरेको छ, त्यसबारे स्पष्ट बुझाइको निम्ति जोड दिनुहोस्।

(ख) ध्यान
प्रायः मानिसलाई ध्यान के हो ? यो कसरी गरिन्छ ? यसका फाइदा के(के छन् ? ती बारेमा कुनै जानकारी हुँदैन। कतिपयमा झन् ध्यान भनेको आध्यात्मिक कार्यमा संलग्न हुने व्यक्तिले मात्र गर्ने हो भन्ने जस्तो गलत बुझाइ छ। उनीहरु वास्तविक जीवनमा ध्यानको उपयोगिता महसुस गर्न सक्दैनन्। चिन्ता हटाउन ध्यान गर्नोस् भनियो भने विश्वास गर्न सक्दैनन्। परिणामस्वरूप उनीहरु कुनै पनि समय मानसिक चिन्ताको सिकार हुन सक्छन्। आखिर ध्यानले कसरी मानसिक चिन्ता हटाउने काम गर्छ ? त्यसमाथि चर्चा गरौँ। अभिमान मानसिक चिन्ताको प्रमुख जड हो भन्ने हामीले बुझी सक्यौँ। ध्यानले अभिमान व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्छ, जसकारण मानसिक चिन्ता कम हुँदै जान्छ। त्यसैगरी कुनै पनि चुनौतीपूर्ण परिस्थिति सामना गर्नुअगाडि एकछिन ध्यान गरियो भने पनि निकै हदसम्म शान्त रहन सकिन्छ। कारण ? ध्यानले मस्तिष्कलाई चुनौतीपूर्ण परिस्थिति सामना गर्नको लागि तयारी अवस्थामा पुर्याउँछ। नकारात्मक भावना उत्पन्न हुन दिँदैन। संक्षेपमा भन्नुपर्दा ध्यानले मनोविज्ञानमा सकारात्मक प्रभाव पार्छ र मानसिक चिन्ता लाग्न दिँदैन। त्यसैले नियमित रुपमा ध्यान गर्ने बानी बसाल्नुहोस्। प्रत्येक दिन कम्तीमा पनि २० मिनेट ध्यान गर्नोस्। ध्यान गर्ने धेरै तरिका छन्। आफूलाई उपयुक्त हुने, सहज लाग्ने तरिका अनुसरण गरेर ध्यानलाई निरन्तरता दिनुहोस्।

(ग) व्यायाम
विभिन्न अध्ययनले एन्टिडिप्रेसेन्ट (चिन्ताकम गर्न दिइने औषधि) र व्यायामको प्रभाव एकैखाले हुने देखाएको छ। औषधिको प्रभाव औषधि सेवन गरुन्जेल मात्र हो। औषधि सेवन गर्न छोडेपछि पुनः चिन्ताको अवस्थामा फर्कने सम्भावना अत्यधिक रहन्छ। यसको अर्थ औषधि चिन्ताको दीर्घकालीन समाधान हुन सक्दैन भन्ने हो। लत बसाउँछ भन्ने नै हो। त्यसैगरी औषधिको धेरै नकारात्मक प्रभावहरु हुन्छन्। जस्तोस् निन्द्रा नलाग्ने, वजन बढ्ने, शारीरिक थकान तथा यौनशक्तिमा गिरावट आउने आदि। त्यसैले औषधिको प्रयोगबिना चिन्ता कम गर्ने प्रभावकारी विधि पहिल्याउन जरुरी छ। यस्तोमा व्यायाम औषधिको विकल्प हुनसक्छ। मनोभाव सकारात्मक हुनु, आत्माबल बढ्नु नियमित व्यायाम गर्नको केही मनोवैज्ञानिक फाइदाहरू हुन्। मनोभाव सकारात्मक हुने, आत्मबल उच्च रहने व्यक्ति तनाव र चिन्ताबाट टाढै रहन्छन्। शारीरिक व्यायाम गर्ने व्यक्तिले चिन्ताको कारण आत्महत्या गरेको समाचार सायदै सुनिएला। यस अर्थमा चिन्ता मुक्त रहनको लागि व्यायाम औषधि भन्दा निकै प्रभावकारी छ। त्यसैले निरन्तर व्यायाम गर्नोस्। कत्ति पनि अल्छी नगर्नोस्। व्यायाम गर्ने बानी बसाल्न साइत हेर्नु पर्दैन।

(घ) स्रोत परिचालन
ठूल्ठूला युद्ध चलेको बेला स्रोत परिचालन अत्यधिक हुने गर्छ। उदाहरणका लागि दोस्रो विश्वयुद्ध। यो अवधिमा अमेरिकाले स्रोत परिचालनको उत्कृष्ट नमुना प्रस्तुत गरेको थियो। अमेरिकालाई एउटै कुराको डर थियो, जर्मनीले युरोप विजय गर्यो भने त्यसपछिको लक्ष्य अमेरिका हुनेछ। यसर्थ अमेरिकाको लागि जीवन र मरणको अवस्था सिर्जना भयो। त्यसैले निकट भविष्यमा जर्मनीको आक्रमण रोक्न र देश सुरक्षित राख्न अमेरिकालाई आवश्यक तयारी गर्नुको विकल्प थिएन। यो स्रोत परिचालनबिना सम्भव थिएन। अमेरिकाले त्यस समय देशमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्यो। हरेक दिन जसो त युद्धमा प्रयोग गर्न सकिने पानीजहाज निर्माण गर्यो। अन्ततः उपयुक्त रुपमा देशको स्रोत परिचालन गरेकै कारण अमेरिकाले आफ्नो देश बचाउन सक्यो मात्र होइन, विश्वयुद्ध पनि जित्न सफल भयो। र, विश्वको शक्तिकेन्द्रको रुपमा स्थापित भयो। यो स्तरको स्रोत परिचालन शान्तिपूर्ण देशमा भने देख्न सकिँदैन। देशमा केही घटनाक्रम चल्छ। त्यो समाचारमा आउँछ। नेतृत्व तहका नेताहरुबीच तर्क चल्छ तर अन्तिममा केही ठोस कदम चालिएको देखिँदैन। यस्तो देश भनेको अल्छी देश हो। उत्साह, इच्छाशक्ति, आस्था र आत्मविश्वास हराएको देश हो जहाँ एउटा कानुन पारित हुन समेत एक दशक लाग्छ। प्रमाण हाम्रै देश छ नि ! जाबो एउटा संविधान बन्न त दश वर्ष लाग्यो ! त्यसैले भविष्यका लागि भावनात्मक पीडा सहन तयार हुनोस्। भौतिक एवं बौद्धिक स्रोतको अभाव रहला। यस अवस्थामा मनोवैज्ञानिक स्रोतहरुस् उत्साह, इच्छाशक्ति, आस्था र आत्मविश्वास परिचालन गर्नमा हरदम प्रतिबद्ध रहनोस्। जे गर्नु परे पनि गर्ने मानसिकताको विकास गर्नोस्।

Leave A Comment