जबर्जस्ती गर्भपतन गरे जेल

सोमबार, ३० मङि्सर २०७६, ०१ : ३९ स्वीकृति बराल
जबर्जस्ती गर्भपतन गरे जेल

म गर्भवती भएको ३ महिना भयो। मेरो घरमा मेरो श्रीमान् तथा सासू ससुराले छोरी भए गर्भपतन गराउन दबाब दिँदै हुनुहुन्छ। मलाई पटक्कै गर्भपतन गराउन मन छैन। के सरसल्लाहमा गर्भपतन गराउनु गैर कानूनी कार्य हैन ? यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?

गर्भपतन अहिले हाम्रो समाजको जटिल समस्या हो। भू्रण परीक्षण गरेर छोरी देखिएमा गर्भपतन गर्ने र छोरा भएमा मात्र जन्माउने प्रवृत्ति अहिले निकै बढेको छ। गर्भपतन कानुनले तोकेको अवस्थाबाहेक अन्य अवस्थामा गैरकानुनी काम हो। गर्भवती महिलाको मन्जुरीले बाह्र हप्तासम्मको गर्भपतन गराएमा कसुर मानिँदैन तर कसैले कसैलाई करकापमा पारेर, धम्की दिएर वा फकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन पाइँदैन। गर्भपतन अपराध भएजस्तै गर्भपतन गराउने उद्देश्यले गर्भमा छोरा वा छोरी के छ भनेर जाँच गराउनु मात्रै पनि आपराधिक काम हो। गर्भमा रहेको बच्चाको लिंग पहिचान गर्ने र गराउने दुवै कानुनी कारबाहीको भागिदार हुन्छन्।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हक महिलाको मौलिक हक हो। सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन,२०७५ को दफा ३ अनुसार प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक हुनेछ। प्रत्येक महिलालाई गर्भान्तर वा सन्तानको संख्या निर्धारण गर्ने अधिकार छ।

गर्भपतन गराउने र गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद र लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई लिंग नहेरी गर्भपतन गराउनेलाई भन्दा १ वर्ष थप गरेर सजाय हुन्छ।

गर्भपतन गराउनु जायज हो वा नाजायज मान्छेको गर्भपतन गराउनुको मनसायमा भरपर्ने कुरा हो। कानुनको नजरमा गर्भपतन अपराध हो तर कुन अवस्थामा अपराध मान्ने र कुन अवस्थामा नमान्ने भन्ने बुझ्नु जरुरी हुन्छ।

मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद १३ मा गर्भ संरक्षणविरुद्धको कसुरसम्बन्धी व्यवस्था छ। तपाईंको श्रीमान्ले या अन्य कोही परिवारको सदस्यले चाहँदैमा गर्भपतन गराउन पाइँदैन। शिशु जन्माउन पाउनु तपाईंको अधिकारको कुरा हो।

गर्भपतन गराउने र गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद र लिंगपहिचान गरी गर्भपतनगर्ने वा गराउनेलाई लिंग नहेरी गर्भपतन गराउनेलाई भन्दा १ वर्ष थप गरेर सजाय हुन्छ। साथै जबर्जस्ती गर्भवती महिलालाई करकापमा पारेर गलत मनसायले गर्भपतन गराउनु पनि कानुनले निषेध गरेको छ। यस्तो कसुर गर्नेलाई कानुनमा सजायको व्यवस्था गरिएको छ।

बाह्र हप्तासम्मको गर्भपतन गराउनेलाई एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुन्छ। बाह्र हप्ताभन्दा बढी र पच्चीस हप्तासम्मको गर्भपतन भए तीनवर्षसम्म कैद र तीस हजार रुपैँयासम्मको जरिवाना हुन्छ र पच्चीस हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुन्छ।
त्यसैले पहिला आफ्नो परिवारलाई यो गैरकानुनी काम हो भनेर सम्झाउनुस्। सम्झाउँदा पनि नमाने उजुरी गर्नु होला अवस्य न्याय पाउनु हुनेछ। हरेक आमाले छोरी बचाउनका लागि गर्भपतनविरुद्ध आवाज उठाउने हो भने भ्रुण हत्याको अवस्य अन्त्य हुनेछ।

Leave A Comment