करोडका कुरा गर्नेले पैसा दिँदैनन्

मङ्गलबार, ०१ पुष २०७६, ११ : २८ शुक्रवार
करोडका कुरा गर्नेले पैसा दिँदैनन्

रामप्रसाद श्रेष्ठ, ट्याक्सी चालक

मैले ट्याक्सी चलाउन थालेको धेरै भएको छैन। त्यस्तै तीन चार वर्ष जति भयो। योभन्दा अगाडि म विदेश गएको थिएँ। विदेशमा मैले ठूलो गाडी चलाएँ। विदेशबाट कमाएर ल्याएको केही पैसाले ट्याक्सी किनेँ। किनभने ठूलो गाडी चलाउन मलाई ढाडको समस्या भयो। त्यस कारण सानो गाडी चलाउन थालेको हुँ। विदेशमा गाडी चलाएको हुनाले यता आएर पनि ड्राइभिङ पेसा नै ठिक लाग्यो र यसैलाई निरन्तरता दिएँ।

ट्याक्सी पेसा दुःख
मलाई ट्याक्सी पेसा निकै दुःखी पेसा लाग्यो।  यता दौडियो, उता दौडियो केही हुन्न। मान्छेहरुले ट्याक्सी चालकलाई नै लुटेरा भन्ने गरेका छन्। दिनभरि रातभरि ट्याक्सी चलायो खानलाउन धौ धौ हुन्छ। लोन  लिएको ट्याक्सी छ। यसको लोन तिर्नुपरिहाल्यो। छोराछोरी पढाउने, घरभाडा तिर्ने हरेकको भाउ बढ्यो तर ट्याक्सीको मिटर भाउ बढेको छैन। टुटल, पठाओले हाम्रो पेसालाई धराशयी बनायो। सरकारले उनलाई बढवा दिएका कारण एउटा दुईटा यात्रु पाउन पनि मुस्किल भइसक्यो।

टुटल पठाओसँग प्रतिस्पर्धा
सरकारले टुटल पठाओलाई रोकेको  थियो। यसले हामी ट्याक्सी व्यवसायलाई राम्रै भएको थियो। तर फेरि फुकुवा गरेर हामी माथि सरकारले लात हान्यो। हाम्रो भन्दा टुटलको भाडा महँगो भए पनि उसैमा यात्रु चढ्न रुचाउनुको कारण छिटो भनेको ठाउँमा पुगिन्छ भनेर होला तर हाम्रो जस्तो भरपर्दो त हुँदैन नि। सुरक्षाका हिसाबले हेर्ने हो भने ट्याक्सी धेरै राम्रो हो।  

ठमेल पनफनी घुमाएर यात्रु बेपत्ता
म गौशालाबाट दरबारमार्ग जाँदै गर्दा रातोपुल ओरालोमा पुगेपछि एउटाले हात दियो। मैले ट्याक्सी रोकेँ। उसले ठमेल जाऊँ भन्यो मैले हुन्छ भनेँ। ठमेल पुगेपछि यता जाऊँ भन्छ उता जाऊँ भन्छ। घुमेको घुमै गरियो रातिको ठ्याक्कै दस बजिसक्यो त्यसपछि पैसा छैन के गर्ने भन्न थाल्यो। अनि त्यस्तो जँड्याहालाई के गर्नु भनी त्यत्तिकै छोडेर आएँ।

अर्को एउटाले ज्ञानेश्वरबाट ठमेल, दरबारमार्ग, नयाँबानेश्वर ल्याएर सिभिल जाउँ भन्यो। मैले मिटरमै चलाइरहेको थिएँ। मिटरमा आठ सय चढिसकेको थियो। त्यो मान्छे सिभिलभित्र छिरेको बाहिर निस्कँदै निस्किएन। ननिस्किएपछि खोज्न जान लागेको त्यहाँको पालेले ट्याक्सी पार्किङमा लगेर आउनुभन्यो। पार्किङमा पचास रुपैयाँ माग्छ। यता हेर्छु उता हेर्छु कतै नभेटिए पछि बेपत्ता भएकै रहेछ भनेर छोडेर आएँ। नाइटमा धेरै गाह्रो छ। राम्ररी अनुहार पनि देखिँदैन। यसो छेलिएर बस्यो भने पनि कुन हो कुन हो। नरम भएर ट्याक्सी भित्रैबाट पैसा दिने कमै भेटिन्छन्।
 
करोडका कुरा गर्नेले पैसा दिँदैनन्
ट्याक्सीमा थरिथरिका यात्रु चढेका हुन्छन्। साधारण खाल्का मान्छे ट्याक्सीमा चढे भने पैसा दिन्छन्। तर मै हँु भन्ने अनि यता यति करोड छ, उता यति करोडको प्रोपटी छ भनेर ट्याक्सीमा चढ्यो भने मिटरमा उठेको पैसाभन्दा कम दिएर जान्छन्। यही भन्ने त छैन प्रायः जसो भेटिन्छन्।

ट्याइलेट र पार्किङ खोइ
ट्याक्सी चालकको समस्या भनेको पार्किङ नै छैन। पार्किङ नभएपछि रोडैमा राख्नुपरि हाल्यो। यसले गर्दा सबैलाई सास्ती त भइहाल्यो। अर्को कुरा पिसाब फेर्ने ठाउँ छैन त्यो मुख्य समस्या छ। चिनेको ठाउँमा त कहिलेकाहीँ पुगिन्छ नत्र कतै छैन। ट्याक्सीलाई मात्र होइन हरेकलाई काठमाडांैमा ट्याइलेटको खाँचो छ। यसमा नगरपालिका वा सरकारको छिट्टै ध्यान जाओस् भन्न चाहन्छु।
प्रस्तुति :भोला अधिकारी

 

Leave A Comment