देशको विकास ढिला होस् तर...

शुक्रबार, ०४ पुष २०७६, ११ : ३९ प्रसिद्ध कोइराला
देशको विकास ढिला होस् तर...

दक्षिण भारतीय ‘सदगुरु’ जग्गु वासुदेवले प्रायः भन्ने गर्छन्, ‘योग विज्ञानले धेरै वर्ष पहिले नै मानव मनलाई मूलतः १६ भागमा बाँडेको थियो। यो १६ भागलाई चार श्रेणीमा विभाजन गरेर अध्ययन गरेका थिए हाम्रा ऋषिमुनिहरूले। ती चार वटामा  बुद्धि, अंहकार, मनस र चित्त भनिएको छ।’

बुद्धिलाई हामी तर्क भनेर बुझ्छौँ। मानिससँग कुनै चिजमा फरक गर्ने साधन केही छ भने त्यो तर्क नै हो। यसै कारणले हामी आजसम्म यो पृथ्वीमा जिउँदो छौँ तर हामीले तर्कलाई अधिक महत्व दिएर मनका अन्य आयामलाई विकास गर्न केन्द्रित गर्न सकेका छैनौँ किनभने अहिलेसम्म संसारभर चलेको शिक्षा प्रणाली तर्कमा आधारित छ।

दोस्रो आयाम अहंकार हो। अहंकार हामीले बुझेजस्तो इगो होइन। यो त बरु पहिचान हो, आइडेन्टिटी। हाम्रो पहिचान जे आधारमा बनेको हुन्छ, हाम्रो तर्कले त्यसैलाई रक्षा गर्ने काम मात्र गर्छ। तर्क पहिचानको रक्षा गर्ने साधन हो भने पहिचान तर्कलाई निश्चित तरिकामा काम गराउने साधन हो। पहिचान बिना त हामी रहनै सक्दैनौं। पहिचान बेगर न हामी रहन सक्छौँ, न समाज रहन सक्छ, न त देश नै ! मानिसले ‘म’लाई  समाजमा ‘हामी’को रूपमा चेतना विकास क्रमसँगै फराकिलो पार्दै लैजानुपर्छ।

आदीमानव विकास सँगसँगै समूहमा बस्न सिक्यो। मिलीजुली सिकार खेल्यो। बाँडेर खान जान्यो। ढुङ्गे औजार बनाउन सिक्यो। आगो पायो। खाना पोलेर खायो। विकसित हुँदै आयो। बाँच्नलाई  आहारको अपुगताले, परिस्थितिको अनुकूलता नमिल्दा बसाइँसराइ ग-यो। हजारौँ माइल दौडियो। अफ्रिकाको रिफ्ट उपत्यकादेखि युरोप, एसिया, उत्तरी अमेरिका हुँदै दक्षिणी पुछार चिलीसम्म फैलियो। संसारभर सानो–सानो समूहमा बस्न थाल्यो। चेतना बढ्दै जाँदा ऊ आफ्ना बाध्यतालाई रहरमा परिणत गर्न सक्षम भयो। विकास चल्दै गयो।  अनुकूलताको खोजी हुँदैगयो। कोही हिमालय पार गरे, कोही तल झरे। कोही गंगा तरेर पुनः माथि आए। पश्चिमबाट छिरे, पूर्व सर्दै गए। समयक्रममा जाति संस्कार, धर्म, रितिथिति बसाल्दै गए। अलग–अलग विशिष्ट पहिचान हासिल हुनथाल्यो। यलम्बरहरू राजा भए, गोपालहरूले सत्ता हत्याए। किरातहरुले बहादुरी देखाए। लिच्छविहरुले कब्जा जमाए। मल्लहरु आए। शाहले विस्थापित गरे। यसरी क्रम जारी रह्यो। शक्तिका लागि रगतको खोली बग्यो। हजारौं हजारको रगतको आडमा हामीले नेपाल पायौँ।

हिजोको एकल जातीय राज्य आज इतिहासको किताबमा सीमित भइसकेको छ। आजको नेपाल पाउनुमा यहांका हरेक जाति, भाषीधारी, क्षेत्र, लिङ्ग, गोत्र सबैको बराबर भूमिका रह्यो।

समयको माग आज फेरियो। ती सबै आफ्नो विशिष्ट पहिचानधारीहरू तर्क प्रस्तुत गर्न सक्षम भए। पहिचानको रक्षा गर्न तर्ककै खाँचो थियो, आज पाए। अब बिना विकल्प, शान्तिपूर्वक बराबर शक्ति बाँडफाँड र आत्मनिर्णयको अधिकार दिलाउनै पर्छ। अब नीतिनिर्माणको तहमा बिना छलकपट सत्ताको अभ्यास गर्नैपर्छ। हुँदोखाएकाले एक भाग त्यागेर, नहुनेको पेट भर्नैपर्छ। भराउनैपर्छ। त्यसैले यसका लागि शान्तिपूर्वक, स्वस्थ बहसबाट निष्कर्ष निकालौँ।

उसो भए के गर्ने त ?
नेपालमा माओवादी जनयुद्धकालदेखि जोडतोडका साथ जातीय पहिचानको मुद्दा उठाइएको भए पनि अहिले त्यो खपतको विषय बन्न पुगेको छ। यस विषयले अझै केही वर्ष नेपालमा तर्कका असिना बर्साउनेछ। समाधान हुनैपर्ने मुद्दा भएकाले यो विषय टुङ्गोमा पुग्नेछ नै तर अझै केही वर्ष वादविवाद हुने नै छ। कारण, यो नेपाली राजनैतिक क्रान्तिको अधुरो रहेको एउटा अंश हो। नेपालमा जातीय र पहिचानको मुद्दा माथि उठेर फड्को मार्ने काम गर्नै सक्दैन। समयको एउटा क्रमिकता हुन्छ। कसैले रोक्छु भनेर पनि रोकिने छैन। अमेरिका मंगल ग्रहमा पुगिसक्यो, हामी पनि पुगिहाल्नु पर्छ भन्नेहरू ‘मूर्ख’ हुन्छन्। त्यसैले विकास ढिला होस् तर क्रमिकता नछोडियोस्। नेपालमा आफ्नो छुट्टै पहिचान बनाएर बसेका एक सय २३ जातजाति छन्।

नेपाली सबैको विकास गर्न, नेपाललाई सबैको साझा बनाउन, राष्ट्रको सबै व्यवस्थामा समान प्रतिनिधित्व हुनुपर्छ। तल्ला निकायमा मात्र आरक्षण दिएर नीति निर्माणमा एकल जातीय वर्चश्व कायम गराउन खोज्नु अर्को गल्ती सिवाय केही हुने छैन।

नीति निर्माण तहलाई सधैँका लागि सबैको प्रतिनिधित्व हुने बनाउन हाम्रा आधारभूत संरचनालाई परिवर्तन गर्नुपर्छ किनभने नेपालमा बस्ने सबै जातजाति एकै होइनन्। उनीहरू लामो कालदेखि फरक पहिचान बनाएर बसोबास गरिरहेका छन्। त्यो पहिचानलाई राज्यले समान रूपमा लिनुपर्छ।

कांग्रेस र कम्युनिस्टहरुले आफूबाहेक अन्यको विकल्प नरहने गरेर २०७३ को संघीयता लागू गराए। समय घर्किसकेको थियो। यसो नगर्दा राज्यले पुनः ठूलो धनजन गुमाउने डर थियो। ७० वर्षदेखिको नेपालीको धैर्यको बाँध फुट्ने डर थियो। स्थानीय तह, संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र प्रदेशलाई आफ्नो भोट अनुकूलता हेरेर सीमा निर्धारण भयो। असलमा जसको मुद्दा सम्बोधन हुनुपर्ने थियो, ती मुद्दाधारीहरूलाई निषेध गरियो। १०/१० वर्ष संविधान निर्माणमा लम्ब्याउनु यही षडयन्त्र थियो। तर अझै छुट्नै नहुने महत्वपूर्ण सवालहरू चौथो नेपाली क्रान्तिको जिम्मामा छ। अब यही मुद्दामा देशले धनजनको क्षति बेहोर्नुप-यो भने कांग्रेस र नेकपाका नेताहरूको नाम इतिहासमा अंगारले पोतिनेछ।

गहिरो गरी हे-यो भने नीतिगत तहमा, राज्यको मूल अधिकार रहेको ठाउँमा नेकपा र कांग्रेसको मात्र वर्चश्व हुने गरी संघीयता निर्माण गरिएको छ। यो अवस्थामा गरीब खसहरू, जनजाति, दलित, मधेसी, थारू र अल्पसंख्यक कि त बाहिरैबाट  लौ न हजूर भनेर हात जोर्नुप-यो कि त तिनै पार्टीभित्र गएर ठाउँ खोज्नुप-यो ! यो त आत्मसमर्पणवाला व्यवस्था पो भयो त ! हामीले खोजेको यस्तो संघीयता पक्कै थिएन।

एकथरीले भन्लान्, पार्टीभित्रैबाट लडदा भई गो नि ! तर यो असम्भवजस्तै छ किनभने अहिलेका मुख्य पार्टीमा समाजका सबै जातजातिको प्रतिनिधित्व एकदम कम छ। झण्डै दुई तिहाई जनजाति–मधेशी, थारू र अल्पसंख्यक यी दुई पार्टीभन्दा बाहिर छन्। त्यस्तै एकादुई जाति (पहाडे बाठा बाहुन र क्षेत्री)को मात्र सिन्डिकेट छ। माथिदेखि तलसम्मै। यो सिन्डिकेट तोडेर अर्को अमूक जातिमाथि जान झण्डै ५० वर्षको समय लाग्ला। यसैगरी, यी दुईको आइडियोलजी मात्र मान्नुपर्ने विकल्प लोकतन्त्र र प्रजातन्त्रको परिभाषा विपरीत छ। संसारको परिवेश हेर्दा यी दुई पार्टीले लिएका वैचारिक आधार साम्यवाद र उदारवाद दुवै असफल र आउटडेटेड भइसके। त्यसैले यिनको विचारमा, त्यो पनि सिन्डिकेटभित्र छिर्नु समानता चाहनेका लागि पुरानै घनचक्करमा फस्नु हो।
यसका अतिरिक्त नेकपा र कांग्रेस परिवर्तन हुनै नचाहने शक्तिको प्रतिनिधि हुन्। यी दुवैबाट भावि परिवर्तित नेपालको चाहना राख्नु पानी मथेर घिउ निकाल्न खोज्नुजस्तै हुनेछ। त्यसैले नेपालको भविष्यका लागि पहिचान र परिवर्तनकामी शक्तिहरूमा ध्रुवीकरण हुनु अति आवश्यक छ।

तर एउटा रोचक कुरो, नेपालमा किन कोही सत्ता र शक्तिमा आइराखेका होलान् त ? उत्तर सजिलो छ। अल्छी विज्ञहरुको रोजीरोटी चलाइदिन। विज्ञ भनेको त समाजको फ्याक्ट सिटलाई  बुझिने ढंगमा समाजलाई बुझाउने पेशा हो तर यिनले अमूक पार्टीको प्रवक्ता भएर जीवन निर्वाह गर्न पाएका छन् त किन जान्थे समाजमा खोज अनुसन्धान गर्न ? किन आउँथ्यो तेत्तिकै समाजको यथार्थ ! अनि कसरी बुझ्छन् जनताले। कन्स्पिरेसी थ्योरी घोकेर कहिले पश्चिमा, कहिले भारततिर विषय र मुद्दालाई मोड्ने र छाक टार्ने काम गर्दै ठिक्क छ। अर्को समस्याका रूपमा रहिआएको कुरा– हामी नेपाली अत्यन्तै सानो घेराका विद्वान र विज्ञहरूको मात्र कुरा सुन्छौं। अल्छी विज्ञहरूको मतलाई मात्र लिएर धारणा बनाउँछौँ। तिनै अल्छीविज्ञलाई मिडियामा हिरो बनाउँछौँ। मिडियाको बागडोर समाल्नेहरू समाजको चौतर्फी कुनाबाट छैनन्। समस्या कतै यहीँनेर छ कि ? मिडियाकर्मीलाई जे सुन्न मनपर्छ, उनीहरू जनतालाई पनि त्यही सुनाइरहेका छन्। यस हिसाबले नेपाली समाजले विचार विकास गर्न पाएको छैन।

केही स्वार्थी–लोभी विजातीय रावणहरू नेकपा र कांग्रेसमा लिसोजस्तै टाँसिनाले समस्याले हल नपाएको पक्कै हो। यिनले जीउहजूर गरेरै छाक टरेको छ। किन बोल्थे ? झन्झट उठाउने साहस त यिनले सिकेकै छैनन्। यी समाजमा कित्ताकाट गर्न नजान्नेहरूले गर्दा समस्या बल्झिरहेको हो। परिवर्तनको आशा यिनीहरूबाट राख्नु पनि अर्को मूर्खता हुन्छ।

रावणको सत्तामा विभिषणहरू जन्मिराखेका हुन्छन्, रामराज्यलाई मूर्त तुल्याउन। मिथकको एक रामराज्यजस्तो नेपाल बनाउन, थाँति रहेका पहिचानका मुद्दा, जाति, क्षेत्र आदिको लेप लगाउँदै बस्यौँ भने नेपालले दुःख पाइरहनेछ। यहाँ कसैको पनि नाफाघाटाको सवाल छैन। छ त केवल देशको नाफा अनि हामी सबैको नाफा। देश नबुझ्नेहरूलाई लगाऔँ पाखा। देश विकास ढिला होस् तर सबैको समान विकास हुनुपर्छ। यसलाई मनन् गर्न ढिला भइसकेको छ।
(लेखक नेपाली समाज अमेरिकाका सक्रिय सदस्य हुन्।)

Leave A Comment