अंग्रेजी कसरी बोल्ने ?

शनिबार, ०५ पुष २०७६, १२ : २८ शुक्रवार
अंग्रेजी कसरी बोल्ने ?

कसैले राम्रोसँग अंग्रेजी कसरी बोल्ने भनेर टिप्स माग्यो भने एउटा सहज उत्तर आउनेछ तर ठट्टाको रुपमा र त्यो ठट्टाको कुरा हो– रक्सी खानू। रक्सी खाएको बेला अंग्रेजी नजान्ने मान्छे पनि फरर अंग्रेजी बोल्छ।

तर सामान्य अवस्थामा अंग्रेजी जान्ने मान्छे पनि बोल्न नजानेर जात्रा हुन्छ। वाक्य आउँछ तर बक् फुट्दैन। बक् फुटे पनि विन्यास मिलाउँदैन। विन्यास मिले पनि उच्चारण ठीक हुँदैन। उच्चारण ठीक भए अन्य के मिल्दैन, थाहा छैन !

त्यसैले संसारभर व्यापक रुपमा बोलिने अंग्रेजी भाषा सहज तरिकाले पढ्न र बोल्न सकियोस् अनि सम्प्रेषण गर्न सकियोस् भनेर नै यसप्रति आकर्षण बढेको हो। अंग्रेजीलाई जतिसुकै इन्कार गरिए पनि समयले यसको महत्व दिनहुँ बढाउँदै लगेको छ।

संसारभर धेरै बोलिने र लेखिने भाषा अंग्रेजी भएपछि अंग्रेजीमा नै धेरै पढ्ने, हेर्ने, सुन्ने कुरा उपलब्ध हुने नै भए। त्यसकारण पनि अंग्रेजीभाषालाई सशक्त बनाउनु राम्रै हो। त्यसका लागि केही यस्ता सानातिना कुरा छन्, तिनलाई ध्यान दिनेबित्तिक्कै भाषामा सुधार ल्याउन सजिलो हुन्छ।

आफैँलाई विश्वास गर्ने
आफूले बोलिरहने भाषाभन्दा अर्काे भाषा बोल्नुपर्दा जोसुकैलाई अप्ठेरो लागिहाल्छ। पढ्ने, बुझ्ने तर अंग्रेजी भाषा बोल्न नआउनु भनेको पनि दोस्रो अथवा कसैकसैको तेस्रो भाषा भएको कारणले हो। त्यसकारण आफूले गर्दा बिग्रने हो कि अरुले गिज्याउने पो हुन् कि भन्ने सोच्न हुन्न। आत्मविश्वासका साथ बोलिहाल्नुपर्छ। बोले त बानी पर्छ, नबोले त पर्दैन।

सुन्ने, बोल्ने, पढ्ने र लेख्ने यो प्रक्रिया निरन्तर दोहो-याइरहने
अंग्रेजी गीत, अन्तर्वार्ताहरु सुन्ने र केही बोल्ने प्रयास पनि गर्ने। बुझेका कुरा लेख्ने। निरन्तर यो प्रक्रिया दोहो-याइरहने गर्नाले बानी बस्दै जान्छ। धेरैभन्दा धेरै सुन्ने, धेरैभन्दा धेरै बोलेका शब्दहरु र हाउभाउ याद गर्ने। कुन भावमा कस्तो शब्द बोलेको हो याद गर्ने।

कान सधैँ खुला राख्नुस्
अंग्रेजी जता पनि छ र युट्युबमा जानुस्, अनेकथरिका भिडियो हुन्छन् नै। समाचार मन पर्छ, मुभी मन पर्छ, अथवा अरु के मनपर्छ त्यही विषय अंग्रेजी भाषामा निरन्तर हेरिरहनुस् र शब्द भण्डार विकास गर्नुस्।

उत्तर खोज्नुस्
सानातिना जस्तै डज हि ? यस हि डज, इज इट ? यस इट इज यस्तो प्रश्नहरु गर्ने र उत्तर दिने बानी बसाल्नुस्। यस्ता कुराले भाषामा पोख्त हुन मद्दत गर्छ।

ऐनालाई मिल्ने साथी बनाउनुस्
मनमनै अंग्रेजी बोल्नुस्। अझ ऐना अगाडि राखेर आफ्नो एक्सप्रेसन हेर्दै बोल्नुको मज्जा अर्कै हुन्छ। यसरी बोल्नाले आत्मविश्वास बढ्दै जान्छ।

पूरा वाक्य पढ्ने
धेरैको बानी के हुन्छ भने पूरा वाक्य नपढ्ने तर त्यसो होइन पढ्दा पूरा वाक्य मनमनै बोलेर पढ्नुपर्छ। कुन वाक्य कसरी बोल्ने त्यसको पनि याद गर्नुपर्छ। पढ्दा पूरै वाक्य पढ्ने अनि पूरै वाक्य बोल्ने गर्नुपर्छ।

व्याकरण बिग्रन्छ भन्ने चिन्ता नलिऔँ
बोल्दा पूरै वाक्य बोल्ने बानी नपरिसकेको बेलामा व्याकरण मिलाएरै बोल्नुपर्छ भन्ने पनि छैन। त्यसकारण साथीहरुसँग म्यासेज गर्दा, बोल्दा पनि अंग्रेजी नै बोलौँ। व्याकरणको चिन्ता नलिऔँ ।

अंग्रेजी पत्रिका पढौँ
दिनको एउटा अंग्रेजी पत्रिकाको एउटै मात्र समाचार ध्यान दिएर पढियो भने पनि धेरै कुरा जानिन्छ। पढ्दै जाने नयाँ शब्द देख्नेबित्तिक्कै त्यसको अर्थ खोजिहाल्ने दिनकै पत्रिका पढियो र नयाँ एउटै शब्द जानियो भने पनि धेरै जानिन्छ।

शब्दको प्रयोग गर्ने
नयाँ शब्द देख्नेबित्तिक्कै त्यसलाई आफ्नो तरिकाले वाक्य बनाइहाल्ने। मानौँ कि आज नयाँ शब्द ‘कमिटी’ थाहा पाउनुभयो भने यो शब्दको वाक्य बनाइहाल्ने जसले गर्दा त्यो वाक्य पछिसम्म सम्झरहिन्छ।

निरन्तर अभ्यास गरिरहने
निरन्तर अभ्यास गरिरहनाले अवश्य पनि सफल भइन्छ। जसरी जीवन छोटो छैन, त्यसरी नै अंग्रेजी सिक्नु पनि छोटो समयमा सिकिन्न तर निरन्तरको अभ्यासले अवश्य पनि राम्रो अंग्रेजी बोल्ने भइन्छ।

Leave A Comment