बिल बढाएर देऊ भन्ने यात्रु पनि पाएँ

सोमबार, ०७ पुष २०७६, ०१ : १२ शुक्रवार
बिल बढाएर देऊ भन्ने यात्रु पनि पाएँ

प्रेमबहादुर कार्की, ट्याक्सी चालक

नौ वर्षदेखि ट्याक्सी चलाइरहेको छु। नौ वर्षको अन्तरालमा हरेक परिवर्तन भए तर ट्याक्सीका लागि सरकारबाट कुनै राम्रो परिवर्तन भएन। बरु ट्याक्सीलाई दमन मात्रै गरियो। पहिलाको तुलनामा अहिले ट्याक्सी बिरामी अवस्थामा छ।

ट्याक्सी कस्तो अवस्थामा पुगेको छ भने राज्यबाट पनि पेलानमा परेको छ। पब्लिकबाट पनि उत्तिकै मात्रामा पेलानमा परेको छ। पेलानमा पर्ने काम जारी छ। यति मात्र होइन। राज्यका निकायबाट पनि ट्याक्सीलाई हेपिएको अवस्था छ।

राम्रो नराम्रो छुट्याइदिए हुने
ट्याक्सी चालक सबै राम्रा पनि छैनन्। सबै नराम्रा पनि छैनन्। राम्रा र नराम्रा सरकारले छुट्याएर कारबाही गरे हुन्थ्यो। राम्रालाई प्रोत्साहन गरोस्। मिटरमा हिँडेको ट्याक्सीलाई पनि कारबाही गरेकै छ। हाउमचमा कुदाउन जोगिएका पनि छन्।

सानो सिपाहीले घुस खायो भने माथिल्लो निकायसम्म हल्लिन्छ। तर माथिल्लो निकायले घुस खायो भने चुपचाप नै देखिन्छ। हाम्रोमा पनि त्यस्तै हो। बोल्नेलाई कसैले केही गर्र्नै सक्दैनन्। तर निमुखालाई कारबाही गर्छन्।

प्रहरीको त कुरै नगरौं
एक हप्ता मात्रै हुँदैछ।  मैले सुकेधारामा खाना खाएर रोडमा ट्याक्सी निकालेको मात्रै थिएँ। रोडमा निस्कने बितिक्कै एकजनाले बानेश्वरतिर जाउँ भन्नुभयो। मैले निलो पुलमा गएर मान्छे उठाउनु छ। अर्कोमा जानु न ल भने। उहाँले हुन्छ भन्नुभयो। एउटा ट्राफिकले देखेछ अनि उसलाई सोध्यो। ट्याक्सीले जान नमानेको हो भनेर। त्यो मान्छेले हो भनिदियो। मलाई किन जान नमानेको भनेर पाँच सयको चिट काटिदियो। मैले आफ्ना आफन्त लिन जान नपाउनुभन्दा रोडमा निकालिसकेपछि प्यासेन्जरले भनेको मान्नुपर्छ भन्दै पाँच सयको चिट थमाए।

त्यहाँको सइ सापले त तपार्इंहरुले ट्याक्सी पार्किङ गरेर बाहिर जानुभयो भने लक लाइदिन्छु समेत भन्नुभयो। हामीले पार्किङमा राखेर खाना, खाजा  खान जान नपाउने।

यात्रु नि फटाहा
यात्रुले बिल खासै माग्दैनन्। कुनै कुनैले माग्छन् त्यो पनि अफिसमा पेस गर्न छ भनेर। त्यस्ता मानिसले लागेको भन्दा अलिक बढाएर लेख्न मिल्दैन भन्ने गर्छन्।

यात्रु पनि ठगै हुन्छन्। सय रुपैयाँको बिल उठेको छ भने कसरी बढाउनु र ? बढाउन मिल्दैन भनेर जति उठेको छ त्यति मै पठाइदिने गरेको छु।

एउटी बैनीले ठगिन्
कोही कोही ट्याक्सीमा चढ्ने यात्रु ठग्ने नियतले चढेका हुन्छन्। नाइटमा त कुरै नगरौँ। दिउँसो नै छक्याइदिन्छन्। सुकेधाराबाट एकजना बैनीले नारायणथान गएर फेरि अनामनगरतिर जानुपर्ने छ भनिन्। उनले झोलासोला केही बोकेकी पनि थिइनन्।

ओहोरदोहोर गर्ने भनेपछि मैले हुन्छ भनेँ। उनले भनेको ठाउँमा पुगेपछि म पाँच मिनेटमै आइहाल्छु। फेरि मैले अर्को ट्याक्सी पाउँदिनँ भनिन्। मैले पनि हो भन्दै उनको दुःख बुझिदिएँ। तर उनी एउटा घरभित्र छिरेकी आउँदै आइनन्। अनि ट्याक्सी फर्काएर तल आएको प्रहरीलाई भेटेँ।

प्रहरीलाई एकजना लेडिजले मलाई भाडा नदिई भागिन् भनेको उल्टै पो मोजमस्तीमा कुरा मिलेन होला भन्दै उल्याए। प्रहरी प्रशासनबाट समेत हामी ट्याक्सीलाई सहयोग पाइँदैन।

Leave A Comment