वेटर काम गर्दा गेष्टले अर्कै नजरले हेर्थे

सोमबार, ०७ पुष २०७६, ०१ : ३९ शुक्रवार
वेटर काम गर्दा गेष्टले अर्कै नजरले हेर्थे

तीन वर्षदेखि दोहोरी साँझमा नाचेर दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेकी कलाकार हुन् सञ्जिता राना। उनी सोमबार साँझ दरबार मार्गमा रहेको दरबार दोहोरीसाँझमा नाचिरहेकी थिइन्। उनैले भोला अधिकारीसँग रात्रिकालीन अनुभव साटेकी छन्।    

दोहोरीसाँझमा डान्स गर्न कसरी आइपुगियो ?
मलाई मोडलिङ गर्न मन लाग्थ्यो। मोडलिङ गर्ने रहरले गर्दा काठमाडाैं आएकी हुँ। काठमाडौं आएपछि नयाँ बसपार्कमा एउटा  डान्स  कल्चर थियो । त्यहाँ मैले एक वर्ष जति डान्स सिकेँ। डान्स सिकेपछि मैले नयाँबसपार्कमै रहेको ‘यानी माया’  दोहोरीसाँझमा डान्स गर्ने काम पाएँ। यसरी नै डान्स गर्न थालेकी हुँ।

काम गर्न थालेको कतिभयो ?
दोहोरीसाँझमा डान्स गर्न थालेको तीन वर्ष जति भयो।

कतिवटा दोहोरीसाँझमा नाच्नुभयो ?
तीन/चार वटामा नाचिसकेँ। सुरुमा नयाँ बसापार्ककै यानीमाया दोहोरीसाँझमा नाचेँ झण्डै दुई वर्ष जति त्यसपछि राजधानी दोहोरीसाँझमा तीन महिना जति नाचैं। अब ननाच्ने भनेर छ/सात महिना त्यत्तिकै हल्लिएर बसेँ। अनि फेरि नाच्न मन लाग्यो। आफूले नाचिरहेको ननाच्दा के–के मनमा कुरा खेलिरह्यो अनि फेरि नाच्न सुरु गरेकी हुँ। अहिले दरबार रोधिघरमा नाच्न थालेको पनि एक वर्ष नै हुन लागिसक्यो।

अनि राजधानीमा तीन महिना नपुग्दै छोडेँ भन्नुभयो ? किन छोड्नुभयो त्यहाँ   ?
हैन , त्यत्तिकै मन नै लागेन।

सुरुमा कसरी दोहोरीसाँझमा काम गर्न पुग्नुभयो ?
एकजना काभ्रेकै दिदी हुनुहुन्थ्यो। उहाँले मलाई दोहोरीमा काम गर्छौ भन्नुभयो। मैले काम नपाइरहेको अवस्थामा हुन्छ भनेँ। नयाँ बसपार्ककै दोहोरीसाँझमा काम गर्न भनेर गएँ। सुरुमा मैले त्यहाँ वेटरमा काम गरेँ। एक महिना जति वेटर काम गरेपछि डान्समा छिरेकी हुँ। मलाई वेटरमा पनि खासै मन लागेन।

वेटर गर्दा र डान्स गर्दा गेष्टले कस्तो नजरले हेर्दा रहेछन् ?
मैले त निकै फरक पाएँ। वेटरलाई कहिलेकाहीँ छुन खोज्ने, कस्ता कस्ता व्यवहार गर्न खोज्ने। राम्रो नराम्रो व्यवहार गर्ने। वेटर भनेपछि अलिक हेपिएको अनुभूति भयो। अरुले डान्स गरेको देख्दा मलाई पनि डान्स गरौंगरौं लाग्न थाल्यो। यता डान्स पनि सिकिरहेकी थिएँ। वेटरमा मलाई काम गर्न त्यति मन लागेको थिएन। साहुसँग कुरा गरेर डान्स गर्न थालेँ।
 
बुबाआमालाई राति छोरी नाच्छे भन्ने थाहा छ ?
सबैैलाई थाहा छ। मैले काठमाडाैंमा यसरी नाच्छु भनेर घरपरिवारलाई भनेकी छु। बुबाआमाले तिमीलाई जे इच्छा छ गर तर नराम्रो काम भने नगर्नु भन्नु हुन्छ। मलाई घरबाट रोकतोक छैन।  

काठमाडाैं आएपछि कहाँ बस्नुभयो ?
मित्रनगरमा एकजना काभ्रेली मामा भन्ने हुनुहुन्थ्यो। उहाँले काठमाडौं आउ भन्नुभयो। उहाँहरु परिवारसहित बस्ने हुनाले मलाई काठमाडाैं आउन सहज थियो। त्यही मौकामा काठमाडाैं आएँ।

काभ्रेको मामा कसरी नि ?
प्युठानकै एकजना मामा पर्ने हुनुहुन्थ्यो ? उहाँको चिनजानले गर्दा काभ्रेली मामाको परिवारसँग चिनजान गराइदिनुभयो। उहाँकै घरमा १५, १६ दिन बसेँ। त्यसपछि आफैँले रुम लिएर बसेँ।  

काठमाडौं आउने बित्तिकै त बस्नका लागि समस्या थियो होला एकै चोटी डान्समा आउनुभएको पक्कै होइन होला ? अन्त केही काम गर्नुभयो होला ?  
मैले फेन्सी पसलमा काम गरेँ। एक, दुई दिन काम गरेपछि मलाई अल्छि लाग्न थाल्यो। काम गर्ने मनै भएन। त्यसपछि मैले छोडिदिएँ।

तीनवटा दोहोरीसाँझमा काम गर्दा क–के फरक पाउनुभयो ?
 सबैको होटल चलाउने आ–आफ्नै तरिका हुन्छ। सबैतिर नराम्रो भन्नै मिल्दैन।

मातेका गेष्टहरुले कस्ता व्यवहार देखाउँछन् ?
काठमाडाैं दोहोरीमा भने अलिक हर्कत देखाउन खोज्थे। उनीहरुले के भन्नु र घुम्न जाऊँ, रमाइलो गर्न जाऊँ, यति पैसा दिन्छु । उति पैसा दिन्छु भनेर भन्छन्। खाएको बेला जे पनि बोल्छन्। तर आफू सही हुनुपर्छ।

राम्रो व्यवहार गरेर टिप्स पाएको छ कि छैन ?
छ नि। तिमी राम्रो नाच्दिरहिछौ भनेर पाँच हजारसम्मको टिप्स दिएका छन्। थोरैमा पाँच सयसम्म पनि टिप्स दिएका छन्। त्यो भने ‘हिमाललाई ढाक्यो कान्छा’ बोलको गीतमा नाचेकी थिएँ। त्यो गीत एकजना गेष्टलाई मन पर्दो रहेछ। उहाँले गोजीबाट फुत्त पाँच हजार निकालेर दिनुभयो । त्योभन्दा बढी भने पाएकी छैन।

त्यो पाँच हजार केमा खर्च गर्नुभयो ?
मैले सायद रुम भाडा तिरेँ होला। अरु चार पाँच सय त खाएरै सिध्याएँ होला। अरु त खै के गर्नु र ?

मैले एउटा कुरा सोध्नै भुलेँछु, पहिलोपटक दोहोरीसाँझमा छिर्दा कस्तो अनुभव भयो ?
कहाँ पसेको जस्तो फिल भयो। रमाइलो रमाइलो पनि भयो। अर्कै संसारमा आएँ कि जस्तो पनि लाग्यो। बिस्तारै बानी बस्दै गएपछि भने दोहोरी भनेको यस्तै रहेछ भन्ने लाग्न थाल्यो।

Leave A Comment