अंशमा सबैको मञ्जुरी आवश्यक

मङ्गलबार, ०८ पुष २०७६, १२ : ०७ स्वीकृति बराल
अंशमा सबैको मञ्जुरी आवश्यक

आमाबुबाको मन्जुरीअनुसार नै हाम्रो अंशबण्डा गर्न लागेकोमा भाइले नगर्नेजस्तो व्यवहार देखाएर हामीसँग सम्पर्क विहीन भइरहेको छ। यस्तो अवस्थामा मैले आमाबुबाको भनाइअनुसार उहाँहरुलाई उहाँहरुकै मागअनुसार पैसा मात्रै राखेर कसरी अंशबण्डा गर्न सक्छु ? के भाइ नभए पनि आमाबुबाको मन्जुरीअनुसार अंशबण्डा गर्न सकिन्छ ?
अंशबण्डा कानुनले दिएको अधिकार हो। मुलुकी देवानी (संहिता) ऐन, २०७४ को पच्छिेद १० मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ।

सगोलमा सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई इज्जत सम्मानपूवर्क पालनपोशण नगरे, आर्थिक हैसियतअनुसार शिक्षा र स्वास्थ्योपचारको व्यवस्था नगरे वा आफूले गर्नुपर्ने दायित्व पूरा गर्न नसके अंशियार आफ्नो अंश लिई छुट्टिन पाउने कानुनी व्यवस्था छ।

मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १ं० को दफा २११ को उपदफा १ र २ मा गरिएको छ। एकै परिवारका सदस्यहरु अंशका हकदार हुन्छन् र अंशका हकदारलाई अंशियार भनिन्छ। प्रत्येक अंशियार अंशको समान हकदार हुन्छ। जस्तै, एकै घरका बुवा, आमा छोरा, छोरीबीच अंशबण्डा गर्नु परेमा उनीहरुको सगोलमा भएको सम्पत्तिमा हरेक परिवारका सदस्यको समान हक अधिकार हुन्छ।

कानुन न्यायका लागि यतिसम्म चनाखो रहन्छ कि यसले गर्भमा भर्खर आएको बच्चासमेतलाई अन्याय नपरोस् भन्ने उद्देश्यले गर्भमै रहेको अवस्थामा पनि बच्चा अंशियार हुने र उसको समेत अंश छुट्याउनुपर्ने प्रावधान राखेको छ।

अंशियारहरुबीच आपसी समझदारी भएमा निजहरु जहिलेसुकै अंश लिई भिन्न भई बस्न सक्नेछन्। तर त्यसो गर्नका लागि अंशियार कानुनबमोजिम उमेर पुगेको हुनु पर्दछ। मुलुकी देवानी संहिताको अंशबण्डासम्बन्धी व्यवस्थाको दफा २१६ अनुसार सगोलको सम्पत्ति अंशबण्डा गर्दा अंशियारहरुबीच लिखित रुपमा बण्डापत्र गर्नु पर्छ र घरको मुख्य भई काम गर्ने व्यक्तिले सगोलको सम्पत्ति अंशबण्डा नगरी अंश नलिएका र अंशियार हुने कुनै अंशियारलाई दिन पाउँदैन।

त्यसैले कसको कतिभाग लाग्छ असल कमसल मिलाई सम्पत्तिको बराबर बण्डा लगाएर आफ्नो मात्र भाग अंश लिन पाइन्छ। भाइले पछि अंश मागेको खण्डमा भाइलाई पनि मर्का नपर्ने गरी उनको भागको अंश दिनका लागि छुट्याएर राखिदिनु पर्छ।

प्रश्नमा बुबाआमालाई उहाँहरुकै मागअनुसार पैसा मात्र राखेर कसरी अंशबण्डा गर्न पाउँछु भनेर सोधिएको छ। मुलुकी देवानी संहिता, २०७४ को  परिच्छेद १० को दफा २१५ अनुसार कुनै अंशियारले आफ्नो अंश आंशिक रुपमा लिई वा नलिई वा अंशबापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न पाउँछ। यसरी अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्नी वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति, पत्नी वा छोरा, छोरीको मन्जुरी लिएमा मात्र अंश छोडपत्र गर्न पाइन्छ।

यसरी अंश छोडपत्र गरेमा निजले अंश लिएसरह मानिन्छ। भाइ सम्पर्कमा नआएको कारणले गर्दा बुबाआमालाई पैसा मात्र भाग लगाएर दिन अहिले मिल्ने अवस्था देखिँदैन। त्यसरी भाग लगाउनका लागि सबैजना उपस्थित हुनु पर्छ र सबैको मन्जुरी हुनुपर्छ।

Leave A Comment