यादवलाई एक महिने माया

शुक्रबार, ११ पुष २०७६, ११ : २४ शुक्रवार
यादवलाई एक महिने माया

मंसिरको शुभ मुहूर्तसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा चिप्लिएर पुगेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अन्ततः सत्ताबाटै चिप्लिए। प्रधानमन्त्रीले माया गरेर कानुन मन्त्रालय पठाउनु भएको उनको भनाइले प्रधानमन्त्रीको माया कति बढी रहेछ भन्ने देखियो। उनलाई गरिएको माया डेढ महिना पनि टिकेन।

पुसको पहिलो साता लाग्नासाथ प्रधानमन्त्रीसमक्ष मन्त्री यादवले राजिनामा ठोकिदिए। अब प्रधानमन्त्रीले धेरै माया गरेपछि यस्तै हुँदो रहेछ क्या ! हुन त ठूला मान्छेसँग न ज्यादै नजिक ठीक, न त ज्यादै टाढा ठीक भनेको यही हो कि क्या हो ?

प्रधानमन्त्रीको माया पाउँदापाउँदै पनि भण्डै एक महिना त कानुन मन्त्रीका रुपमा उनी टिकेकै हुन्। राष्ट्रिय सभामा राष्ट्रिय जनता पार्टीसँग नेपाल कम्युनिस्ट पार्टीले तालमेल गर्ने सहमति भएपछि प्रधानमन्त्रीले यादवलाई गरेको थप माया छर्लंग भैहाल्यो। अब उनले कति लाज पचाएर बस्नु ! दुई बुँदे सहमतिले प्रदेश दुईको राष्ट्रियसभाको निर्वाचनमा नेकपा र राजपाबीच दुई–दुई सिट सुरक्षित गर्ने सहमति भएको छ।

संविधान संशोधन नभएको र संशोधन गर्ने प्रस्ताव अस्वीकार गरिएको बहानामा राजिनामा ठोेकिदिएका यादवले घच्चीको बहाना पाएका हुन्। नत्र त त्यत्तिकै मन अमिल्याउँदै छाड्नु पथ्र्यो।

तर उपेन्द्रज्यूले धेरै दुःख मानिरहनु पर्दैन। जसरी उनले अनपेक्षित रुपमा राजिनामा ठोक्नुप-यो, सोही नियति राजेन्द्र महतोमाथि पनि सोही ढुंगो नबज्रेला भन्न सकिन्न किनभने तपाईंहरु आवश्यकता पर्दा मात्र सम्झिइने पात्र जो हुनुहुन्छ !

फेरि भएन अब जनताको मूड बुझ्ने अवसर पनि पाइने ! प्रधानमन्त्रीले त माया नै गर्नुभएको हो नि ! नत्र त जनताका समस्या र जनताका माग सबै यसबीचमा बिर्सिइएको जो थियो ! अब जनता याद आउँछन्, तिनका मुद्दा र तिनले सांसद बनाउनुका सबैसबै कारण स्मृतिमा आउँछन्। त्यसैले प्रधानमन्त्रीज्यूले जे गर्नु भा’छ, त्यो निकै उचित छ भन्ने हाम्लाई लागिरा’छ।

Leave A Comment