विगत कसरी भुल्ने ?

शुक्रबार, ११ पुष २०७६, ११ : ५४ प्रकाश जंग थापा
विगत कसरी भुल्ने ?

सामाजिक सञ्जालको प्रयोग हरेक स्मार्टफोन बोक्ने व्यक्तिको अनिवार्य दैनिकी हो। यसमा सक्रिय नहुने सायदै होलान्। फरक यत्ति हो कि कोही फेसबुकमा सक्रिय हुन्छन् त कोही इन्स्टाग्राममा। त्यसैगरी कोही ट्वीटरमा सक्रिय हुन्छन् त कोही युट्युबमा। केही सोच उत्पन्न भए, असन्तुष्टि व्यक्त गर्न चाहे, फेसबुक स्टाटस वा स्टोरी राखिन्छन्। कहीँकतै घुम्न गए, कुनै महङ्गो रेस्टुराँमा खाए, फेसबुक र इन्स्टाग्राम स्टोरी खचाखच राखिन्छन्। हरेक पटक सुन्दर फोटो, छोटो भिडियो तथा सकारात्मक विचारहरु मात्र पोस्ट वा सेयर गरिन्छन् भन्ने छैन। कहिलेकाहीँ व्यक्तिगत समस्या, असन्तुष्टि तथा नकारात्मक विचारहरु पनि पोस्ट गरिन्छन्।

केही समयअगाडि एउटी आत्मिय मित्रले इन्स्टाग्राम स्टोरी राखिन्। स्टोरी थियो– ‘तिमी कत्ति पनि बुझ्दैनौ र, म बुझाउन सक्दिनँ।’ जोसँग निकटता रहन्छ, जोसँग भावनात्मक सम्बन्ध हुन्छ, उसको ख्याल गरिन्छ नै। यसर्थ उनलाई सोधेँ, ‘के भयो ? तिमी यति धेरै निराश किन ?’ जवाफमा उनले जति कोसिस गरे तापनि विगत भुल्न नसकेको, ती हरेक पलहरु ताजै रहेको र बिताएका हरेक क्षण मस्तिष्कमा घुमिरहेकाले तनावमा परेको बताइन्। यो एउटा विगत प्रेमको नमुना हो। त्यसैगरी जीवनमा अकल्पनीय घटनाक्रम चलिरहन्छन्। जस्तोः किशोरी अवस्थामा बलात्कृत हुनु, सम्बन्धमा ब्रेकअप हुनु, प्रेमी वा प्रेमिकाको मृत्यु हुनु, परिवारमा कसैको मृत्यु हुनु, व्यवसायमा अधिक घाटा हुनु, कलिलै उमेरमा शारीरिक र मानसिक यातनाको शिकार हुनु आदि। यी यावत् घटनाक्रमहरु जोकोहीको विगत हुन सक्छ। अधिकांश मानिस यस प्रकृतिको विगत भुल्न सक्दैनन्। उनीहरुलाई विगत भुल्न सकिन्छ भन्ने आत्मविश्वासको कमी हुन्छ। जसकारण जीवन निरन्तर रुपमा अघि बढाउन सक्दैनन्। नयाँ गति र दिशा दिन सक्दैनन्।

विगत के हो ?
विगत केवल दिमागी स्मृति हो। अझ भनौँ अवधारणा मात्र हो। यसलाई सच्चाईको रुपमा व्याख्या गर्न सकिँदैन। सत्य मान्न सकिँदैन। कुनैबेला त्यो विगत एक वास्तविकता थियो तर अहिले वास्तविकता होइन र हुन पनि सक्दैन। जब विगत खोतलिन्छ रेका कुराहरु बढी हुने गर्छन्। जस्तैः यस्तो भएको रे ! उस्तो भएको थियो रे ! आदि इत्यादि।

त्यसैगरी भविष्य पनि सत्य होइन, केवल अवधारणा हो। भोलि कसैलाई थाहा हुँदैन। अनुमान मात्र गरिने हो। यस्तो हुन सक्ला कि ! सायद अनपेक्षित परिस्थिति सिर्जना हुने पो हो कि ! परिणाम उल्टिने पो हो कि ! यस्तैयस्तै विचारधारा दिमागमा उत्पन्न हुने गर्छन्। जब भविष्यको बारेमा सोचिन्छ, सायदको कुरा बढी हुने गर्छ। यही हुन्छ भन्न सकिने अवस्था रहँदैन। उदाहरणार्थ मानौँ तपाईँ एक प्रतिष्ठित संस्थामा कार्यरत हुनुहुन्छ रे ! त्यही जागिरले परिवार चलेको छ रे ! अब तपाईँले आफ्नो जागिर गुम्न सक्ने महसुस गर्नु भयो रे ! भोलिको दिनसम्म बर्खास्त हुने सङ्केत पाउनु भयो रे ! अझै पनि भोलि बर्खास्त हुन सकिने सम्भावना वास्तविकतामा परिणत नहुन सक्छ। भोलि जे पनि हुन सक्छ। संस्थापक पक्षको मुड फेरिन सक्छ। तपाईँको बर्खास्त हुने ठाउँमा झन् बढोत्तरी पनि त हुन सक्छ ! त्यसैले भविष्य पनि अवधारणा हो, सत्य होइन।

विगतलाई सत्य मान्न नसकिने, भविष्यलाई पनि सत्य मान्न नसकिने। उसो भए वर्तमान के हो त ? एउटा छोटो उत्तर, वर्तमान नै सत्य हो। वर्तमानमा जे जति घटनाक्रम चलिरहन्छ, त्यही वास्तविकता हो। यसर्थ वर्तमानमा बाँच्न सक्नुपर्छ।

केही महत्वपूर्ण विधि
विगतमा बाँच्नु भनेको कल्पनामा बाँच्नुसरह हो। पुराना घटनाक्रमलाई अनावश्यक स्थान दिनु हो। यथास्थितिलाई प्राथमिकता साथ मलजल गर्नु हो। यति मात्र कहाँ हो र ! यादमा हराउनु न हो। विगतमा रहेर प्रगतिशील हुन सकिँदैन। कार्यक्षमता तथा कौशलको विकास हुन सक्दैन। त्यसैले विगतप्रति संवेदनशील हुनु बुद्धिमानी होइन। यसलाई भुल्नुमा भलाइ हुन्छ। विगतलाई परिवर्तन एवं सच्याउन सकिँदैन। यद्यपि वर्तमानमा बाँच्न भने सकिन्छ, जसले गर्दा भविष्य निर्माण गर्न सहज हुन्छ। विगतलाई भुलेर अगाडि बढ्न निम्न विधि अवलम्बन गर्न सकिन्छ।

(क) निर्देशित ध्यान गर्ने
ध्यान गर्ने बानीको विकास सायदै मानिसले गरेका हुन्छन्। उनीहरुलाई ध्यानको शक्ति थाहै हुँदैन। ध्यानका धेरै फाइदाहरू छन्, जसमध्ये विगत भुलाउन सहयोग गर्नु एक हो। गम्भीरतापूर्वक गरिएको ध्यानले जो कोही मानिसलाई वर्तमानमा बाँच्न सहयोग गर्छ। विगतमा कुनै घटनाक्रम नचलेको र भविष्य अनिश्चित रहेको अनुभूति दिलाउँछ। यसलाई यसरी बुझौँ न ! विगत र भविष्यको कुनै अस्तित्व नरहेको बारेमा सचेतना अनुभूत गराउँछ। जसकारण विगत र भविष्यको कुनै चिन्ता हुँदैन। पीडित अवस्थामा बाँच्नु पर्दैन। त्यसैले निर्देशित ध्यान गर्ने बानीको विकास गर्नोस्।

(ख) साथीभाइसँग गुणवत्ता समय व्यतीत गर्ने
एक्लै रहेर विगतलाई मेटाउन सकिँदैन। भनाइको मतलब एक्लोपनमा विगतले दिने पीडाको उपचार हुन सक्दैन। यस्तोमा साथीभाइको आत्मियता, साथ र नैतिक सहयोगले निकै ठूलो महत्व राख्छ। यसलाई नजरअन्दाज गर्न मिल्दैन। असल साथी नभएको व्यक्तिलाई विगत भुलाउन निकै सकस हुन्छ। कारण ? उनको समस्या सुनिदिने, पीडा अनुभूत गरिदिने अथवा समानुभूति भाव राखिदिने असल मित्रको अभाव हुनु। विगतलाई भुलाउन साथीसर्कल बढाउनु आवश्यक छ। यसको अर्थ यो होइन कि जो पायो त्यहीसँग मित्रता गाँस्न तत्पर रहने। मानौँ तपाईँका असंख्य साथीभाइ छन् रे ! यसको अर्थ यो होइन कि, जो पायो त्यहीसँग गुणवत्ता समय बिताउने। यसको अर्थ यो पनि होइन कि जोसँग पनि आफ्ना नितान्त व्यक्तिगत समस्याहरु खुलाउने। आफ्ना साथीभाइ चिन्ने कोसिस गर्नोस्। सबै तपाईँको शुभचिन्तक हुन्छन् भन्ने छैन। सबैले उचित समाधान दिन सक्छन् भन्ने छैन। मौकाको फाइदा उठाउन बसेका पनि हुन सक्छन्। त्यसैले जसलाई विश्वास गर्न सक्नुहुन्छ, जोसँग भावनात्मक सम्बन्ध स्थापित छ, उसैसँग गुणवत्ता समय व्यतीत गर्नोस्। विगतलाई खुलाउने कोसिस गर्नोस्। यसो गर्नाले साथीभाइमार्फत जीवनमा अगाडि बढ्न उचित प्रेरणा र मार्गनिर्देशन मिल्छ।

(ग) नयाँ परियोजनामा संलग्न हुने
नयाँ परियोजना सुरुवात गर्नु सबैको सपना हुन्छ तर सबै सफल हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन। परियोजनामा संलग्न हुनु, नेतृत्व गर्नु सजिलो छैन। यसमा अत्यधिक समय, ऊर्जा र पैसाको लगानी गर्नुपर्ने हुन्छ। धैर्यवान हुनु आवश्यक छ। कुनै पनि परियोजनामा संलग्न भएपछि, कुनै पनि लक्ष्य प्राप्तिका लागि कार्य गरेपछि त्यसको सफलता र असफलता स्वयंमा निर्भर रहन्छ। सबै कुराको शतप्रतिशत जिम्मेवारी लिनुपर्ने हुन्छ। अरु कसैको सहयोगका कारण परियोजना सफल हुने होइन। अरु कसैको आशीर्वादले लक्ष्य प्राप्त हुने होइन। स्वयं आफू सक्रिय हुनुपर्छ। आवश्यक परेको खण्डमा व्यक्तिगत स्तर बढाउनुपर्ने हुन्छ। यसका लागि विविध विषयका पुस्तक अध्ययन गर्नेदेखि कयौँ तालिममा सहभागी हुनुपर्छ। पुस्तक अध्ययन तथा तालिममा सहभागी हुनु भनेको थप समय, ऊर्जा र पैसा लगानी गर्नु हो। जसकारण विगत बारेमा सोच्ने फुर्सद हुँदैन। विगतलाई पूर्ण रुपमा भुल्न आफूलाई उपयुक्त लाग्ने, उद्देश्य प्राप्तिका लागि सहयोग पु-याउने परियोजनामा आबद्ध हुनोस्।

Leave A Comment