प्रधानमन्त्रीज्यू, हाम्रो माग कहिले पूरा हुन्छ ?

शनिबार, १२ पुष २०७६, ११ : ०४ शुक्रवार
प्रधानमन्त्रीज्यू, हाम्रो माग कहिले पूरा हुन्छ ?

सम्माननीय प्रधानमन्त्रीज्यू,
हाम्रो देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्था छ रे ! पढ्ने, लेख्ने, आवाज उठाउने स्वतन्त्रा छ रे ! म त मेडिकल कलेजको विद्यार्थी ! के हो स्वतन्त्रता ? के हो लोकतन्त्र ? थाहा छैन। संविधानमा पनि लोकतान्त्रिक गणतन्त्र त लेखिएको छ तर के गर्नु संविधानमा लेख्दैमा लोकतन्त्र नआउने रहेछ !

मलाई थाहा छ, मैले आफ्नो र कलेजको नाम सहितको यो पत्र लेखेँ भने कलेज प्रशासनले धम्काउने छ। नियोजित रुपमा फेल गराएर मेरो मिहिनेत खेर फालिदिने जोखिम पनि उत्तिकैे छ। त्यसकारण ‘लोकतान्त्रिक’ देशको नागरिक भएर पनि म यो देशका सरकार प्रमुखलाई बेनामे पत्र लेख्दैछु।  

प्रधानमन्त्रीज्यू,
पाँच महिनादेखि मेडिकल शिक्षा सुधारका निम्ति विद्यार्थीहरुले गरेका चरणबद्ध आन्दोलन सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति कता पुग्यो ? त्यो सहमति गर्नेबेला आन्दोलनरत हामी विद्यार्थीलाई त समावेश गराइएन नै यथेष्ट प्रमाणसहित जिम्मेवार निकायमा उजुरी गर्दासमेत केही सम्बोधन भएन। बिरामीसँग हुनुपर्ने हामी विद्यार्थी सडकमा ओर्लेर आन्दोलन गर्न बाध्य छौँ। विद्यार्थीको अभिभावक बन्नुपर्ने सरकार उल्टै कलेज सञ्चालकको संरक्षक बन्दा दुःखी छु।

मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीको प्रधानमन्त्रीलाई खुला पत्र

सहमति गर्दा पनि अधकल्चो गरियो। माथेमा आयोगको प्रतिवेदन लागु भएपछिको वर्षको पैसा फिर्ता हुनुपर्नेमा विगत दुई वर्षको मात्र हुने सहमति आफैँमा अधकल्चो थियो। आधा दर्जन संकाय रहेको मेडिकल शिक्षामा एमबिबिएस र बिडिएसको मात्र कुरा गरिएको छ। यसअघि सरकारका कयौं निर्देशनलाई कुल्चेर हिँडेका सञ्चालकसामु सरकारले किन उधारो सहमति ग-यो ? के मेडिकल कलेज सञ्चालकभन्दा सरकार कमजोर हो र ?

प्रधानमन्त्रीज्यू,
हामी आन्दोलनरत विद्यार्थीको समान प्रश्न छ, समाजवादउन्मुख सरकारले स्वास्थ्य शिक्षालाई निःशुल्क गर्नुपर्नेमा किन उल्टो निजी क्षेत्रलाई पोसिरहेको छ ? कार्बाही हुनुपर्ने कलेज सञ्चालक कसरी तपाईंसँग कुम जोडेर तस्बिर खिच्छन् ? मेडिकल संचालकले विद्यार्थीलाई चुसिरहेका छन् भनेर देशकै कार्यकारीले सार्वजनिक रुपमै भनिरहँदा तिनीहरु किन कार्बाहीको दायरामा आउन सक्दैनन् ? सरकारले मेडिकल कलेज चलाइरहेको छ कि मेडिकल कलेज सञ्चालकहरुले सरकार ?

प्रधानमन्त्रीज्यू,
माथेमा कार्यदलको सुझावअनुरुप एमबिबिएसमा ३८ लाखदेखि ४२ लाखसम्म लिन पाउने प्रतिवेदन सरकारलाई बुझाइएपछि म हाम्रो कलेजको नयाँ शत्रमा भर्ना हुन आएका विद्यार्थीहरुको अवस्था बुझ्न गएको थिएँ।

मेरैअगाडि आएको फोनमा कलेजका कर्मचारीले एक अभिभावलाई भने, ‘आउनुहोस् न मिलाएर गरौँला।’ पछि बुझ्दा थाहा भो, प्रतिविद्यार्थी होस्टेल अनि खानाबाहेक ६२ लाखसम्म लिइएको रहेछ। अझ सरकारले कोटा घटाएको बहानामा प्रत्येक वर्ष सकिएपछि अतिरिक्त एक लाख शुल्क बुझाउनैपर्ने बाध्यकारी नियम भर्ना भइसकेपछि विद्यार्थीलाई जानकारी दिइएछ।

भर्नाताका समुदाय भ्रमणको नाममा लिने एकमुष्ट रकम दिलाउन हरेक वर्ष बिन्ती बिसाउँदा हामीबाट लिइएकोभन्दा आधा पनि दिइँदैन। लाइब्रेरी, परीक्षा शुल्कलगायत अन्य शीर्षकमा भर्ना भइसकेपछि पैसा असुलिन्छ। विद्यार्थीबाट सम्भव भएसम्म एकमुष्ट रकम लिने अनि तोकिएको समयमा नदिए चर्को ब्याज दिएमात्र परीक्षामा सामेल गराउने हर्कतले मानसिक यातनै दिन्छन्। यस्तो यातनामा कसरी अध्ययन गर्नु ?
कतिसम्मको बदमासी छ भने सरकारबाट पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीबाट समेत यो वा त्यो बहानामा अतिरिक्त शुल्क असुलिछाड्छन्।

प्रधानमन्त्रीज्यु,
पूर्णतः प्रयोगात्मक हुनुपर्ने मेडिकल पढाइमा १ सय ५० जनासम्मलाई एउटै कक्षामा राखेर पढाइरहेका छन्। एनाटोमी पढ्न अपरिहार्य हुने ‘क्याडाबरका’ संख्या चाहिने जति कहिल्यै पाइएन। विद्यार्थी अनुपातको बिरामी अनुगमनको बेलामा बाहेक कहिल्यै देखिएन।

न्यून संख्यामा रहने प्राध्यापकहरुले समयमै कोर्स नसकाउँदा आफैँ पढेर परीक्षामा सामेल हुनुुपर्ने अवस्था छ। मेडिकल कलेज सञ्चालनका निम्ति चाहिने प्राध्यापकलाई केवल अनुगमनका क्रममा मात्र ल्याउने कलेजको रवैयाले विद्यार्थीप्रतिको कलेजको लापरबाही छताछुल्ल हुन्थ्यो। सयौँ विद्यार्थी पढाउने कलेजको लाइब्रेरीमा मुस्किलले पचास विद्यार्थी अट्छन् तर यस्ता विषयमा आवाज उठाए छानीछानी प्रयोगात्मक परीक्षामा फेल पारिदिने गर्छ कलेजले।

नजिकै घर भएका विद्यार्थीलाई पनि होस्टेल बस्नैपर्ने बाध्यकारी नियमले अभिभावकलाई थप आर्थिक भार परिरहेको छ। कलेजको हाताभित्र खोलिएका पसलमा बाहिरको तुलनामा चर्को मूल्य राखिन्छ र त्यहीँबाट सामान किन्न बाध्य पारिन्छ तर विद्यार्थीसँग अर्बौं उठाउने कलेज एमबिबिएसको अन्तिम वर्षताका गरिने इन्टर्नसिपपमा कम पैसा दिएर २४ घण्टासम्म काममा खटाउँछ।

केही वर्षअघिसम्म मेडिकल शिक्षाको यो विकृति हामी पढिरहेका विद्यार्थीलाई अति भएको महसुस भएपछि हामीले विरोध ग-यौँ।  अति गर्नु, अतिसार नगर्नु। अतिसारै भएपछि हामी पढिरहेकै विद्यार्थी संगठित भएर विरोध ग-यौँ। विरोध अहिलेसम्म पनि जारी छ तर हामीलाई अहिले पनि धम्क्याइएको छ।  बोले परीक्षामा फेल गराउने, जिन्दगी बर्बाद पारिदिने भन्दै थर्काइएको छ।

तैपनि परीक्षाहलमा हुनुपर्ने हामी विद्यार्थी सडकमा छौँ। डाक्टर बनेर बिरामीको सेवा गर्ने हाम्रो भविष्यको लक्ष्यमाथि कुठाराघात गरिएको छ। मेरा साथीहरुको अभिभावकलाई छोराछोरीको भविष्यमाथि डर देखाउँदै मुख बन्द गर्न लगाइएको छ। फुटाऊ र राज गर भनेझैँ  विद्यार्थी बीचमा फाटो सिर्जना गरेर एकआपसमा भिडाइएको छ। लोकतन्त्रमा यो भन्दा ठूलो अन्याय के हुन्छ ?

प्रधानमन्त्रीज्यू,
यो वा त्यो सम्झौताको नाउँमा धेरै सम्झौता गरियो तर नतिजा आएन। म ठगिएँ भनेर आवाज उठाउने विद्यार्थी अपराधीजस्तै बनेर लत्रेर हिँड्नुपरेको छ। ठग कलेज सञ्चालकहरु छाती फुकाएर हिँडिरहेका छन् । यो देख्दा लोकतन्त्रको मर्ममाथि प्रहार भएको लाग्दैन तपाईंलाई ?

लोकतान्त्रिक मुलुकमा म ठगिएँभन्दा ज्यानै जोखिममा पर्ने कस्तो लोकतन्त्र हो यो ? सरकार किन मेडिकल कलेज सञ्चालकसामु लत्रिएको हो यसरी ? तपाईंकै क्याबिनेटका शिक्षामन्त्रीज्युको नेतृत्वमा गर्नुभएको सम्झौता कहाँ पुग्यो ? हाम्रो माग कहिले पूरा हुन्छ ? बढी असुलिएको हाम्रो रकम कहिले फिर्ता हुन्छ ? अनि ठगहरुलाई कहिले कार्बाही गर्नुहुन्छ ? 

अन्त्यमा,
प्रधानमन्त्रीज्यु बिरामी हुनुहुन्थ्यो अब त तङ्ग्रनु भयो होला। आशा छ, मेडिकल शिक्षाको यो बेथितिलाई सदाका लागि अन्त्य गर्न तपाईं आफैँले पक्कै नेतृत्व लिनुहुनेछ।

Leave A Comment