भाषा सिक्ने छिटाेमिठाे तरिका

शनिबार, १२ पुष २०७६, ११ : २३ शुक्रवार
भाषा सिक्ने छिटाेमिठाे तरिका

विजय सिवाकोटी

बोलिरहने भाषाबाट अर्काे भाषा सिक्नु सुरुमा असहज लाग्नु स्वभाविक हो तर सिक्दै जाँदा नसकिने केही छैन। यो लेखमा समग्रमा अंग्रेजी भाषा कसरी सिक्ने भनेर उल्लेख गरिनेछ। अर्काे अंकमा वर्गीकरण गरिनेछ।

हिच्किचाहट नमान्ने
बिग्रन्छ कि भनेर सोच्यो भने बोल्न सकिदैन। बोल्दा कहाँ गल्ती हुन्छ, बोल्दै गएपछि बिस्तारै थाहा हुँदै जान्छ। कहाँ गल्ती भयो खुट्ट्याउने र आफैँ रियलाइज गर्ने अनि सुधार गर्ने। २५ वर्ष पढाएको मेरो अनुभवमा अन्तर्मुखी स्वभाव भएकाले भन्दा बर्हिमुखी स्वभाव भएकाले धेरै छिटो सिकेको पाएको छु।

वरपरको वातावरण अंग्रेजीमय बनाउने
हामी नेपालमा बस्छौँ। घरमा बस्दा आफ्नै भाषा बोल्छौँ। यसका अतिरिक्त यदि अंग्रेजीभाषालाई साँच्चिकै मजबुत बनाउने हो भने अंग्रेजी च्यानलका समाचारहरु गीत संगीतहरु सुन्ने गर्न सकिन्छ। जस्तो कि अहिले म सिएनएन, भ्वाइस अफ अमेरिका सुनिरहेको हुन्छु। त्यस्तै हिजोआज धेरै एपहरु हुन्छन्। रेडियो युएसए भन्ने त्यस्तै एप हो।
विभिन्न बोलीचालीका भाषाहरु भएको एपहरु डाउनलोड गर्न सकिन्छ।

स्पोकन एक्प्रेसनमा ध्यान दिने
हामी नेपालीहरुको बानी के हुन्छ भने अंग्रेजी सिक्ने तर नेपाली तरिकाबाट। हामीले शब्द उच्चारण गर्दा कुन शब्द कुन एक्सप्रेसनमा भनेको हो ध्यान दिएका हुँदैनौँ। जसरी नेपाली उखान टुक्काहरु कुन एक्सप्रेसनका साथ बोलियो भने के अर्थ लाग्छ भन्ने हामीलाई थाहा हुन्छ, त्यसरी नै अंग्रेजी शब्दहरु पनि कसरी बोल्दा बोल्दाको शैलीका कारण त्यस्तै अर्थ लाग्ने गर्छ। तसर्थ, खासगरी फ्रेज र आइडम घुसेका वाक्यहरु उच्चारण गर्दा निकै ख्याल राख्नुपर्छ।

शब्दको भण्डार बढाउने
शब्दको अभाव हुन दिनु हुँदैन। जसका लागि डिक्सनेरी पढ्न सकिन्छ। डिक्सनरी पढ्दा ध्यान दिनुपर्ने कुरा के हो भने अंग्रेजी टु अंग्रेजी डिक्सनेरी पढ्नु पर्छ। हामी अधिकांशको बानी अंग्रेजी टु नेपाली पढ्ने छ। यसरी शब्द बढ्दैन।

कुराकानी गरिरहने
अंग्रेजी बझ्ने साथीहरुसँग अंग्रेजीमा कुराकानी गर्नु ठीक हुन्छ। जोसँग हामी घण्टाँै कुराकानी गरिरहेका हुन्छौँ, ऊसँग हामीले सिक्न खोजेको भाषा प्रयोग ग¥यौँ भने अवश्य पनि राम्रो हुन्छ।

बेड टाइम रिडिङ
हामीहरु हिजोआज अति व्यस्त हुन थालेका छौँ। दिनभर जसो काममा हुन्छौँ। पढ्ने फुर्सद नहुन सक्छ। सजिलो उपाय भनेको सुत्नुअघि पुस्तक पढ्नु। सकेसम्म उपन्यास पढेको राम्रो। जसले हामीलाई त्यहाँको संस्कृति र नेटिभ ल्याङ्ग्वेजसँग परचित गराउँछ। सुत्नुभन्दा कम्तीमा आधा घण्टासम्म पढ्नु राम्रो हो।

हेर्ने सुन्ने बोल्ने
फिल्म कत्तिको हेर्नुहुन्छ ? हाम्रो देशमा हिन्दी फिल्म प्रायः हेरिरहेका हुन्छौँ। अंग्रेजी फिल्म एकदमै कम। यदि हप्ताको दुई वटा मात्रै फिल्म हेरियो भने पनि बोल्ने तरिका थाहा हुन्छ। त्यसमाथि नाटक हेरियो भने त झन् गज्जब !

Leave A Comment