लक्ष्य निर्धारणको कार्यदिशा

शुक्रबार, १८ पुष २०७६, १२ : ०६ प्रकाश जंग थापा
लक्ष्य निर्धारणको कार्यदिशा

हरेक नयाँ वर्षमा ३६५ वटा अवसरहरू उपलब्ध हुन्छन्। यही अवसर सदुपयोग गर्ने अभिप्रायले प्रायःजसो मानिस नयाँ वर्षमा संकल्प अथवा लक्ष्य तय गर्ने गर्छन्। अनुसन्धानअनुसार जति पनि परिपक्व युवायुवती छन्, तिनको आधा संख्याले नयाँ वर्षमा विविध संकल्प लिने गर्छन्। तर लक्ष्य लिनेमध्ये दश प्रतिशतले मात्र लक्ष्य प्राप्तिका लागि केही महिना कार्य गर्छन्। त्यसपछि असफल वर्गमा समाहित हुन पुग्छन्। लक्ष्य नलिनेहरु र लक्ष्यप्रति गम्भीर नहुनेहरू असफल हुने भइहाले। केही महिना कार्य गर्नेहरु पनि किन असफल हुन्छन् ? यसको प्रमुख कारण हो, लक्ष्य निर्धारणको उचित, वैज्ञानिक कार्यदिशा नहुनु।

लक्ष्य प्राप्तिका लागि निम्न कार्यदिशा अवलम्बन गर्न सकिन्छ।
पूर्णतः स्पष्ट रहने
अधिकांश मानिसको स्पष्ट लक्ष्य हुँदैन। अस्पष्ट इच्छाहरू मात्र रहन्छन्। जस्तोः
केही वजन घटाउन चाहन्छु।
नयाँ सम्बन्ध जोड्न चाहन्छु।
नयाँ व्यवसाय सुरुवात गर्न चाहन्छु।
सफल वैवाहिक जीवन जीउन चाहन्छु।
धनी हुन चाहन्छु, आदिइत्यादि।

यी सबै अस्पष्ट इच्छाहरू मात्र हुन्, लक्ष्य होइनन्। सामान्यतः हर कोही मानिस यसैलाई लक्ष्य ठान्छन्। वर्षौसम्म यही इच्छासाथ बाँच्छन्। कतिपय त जीवनभरि यही इच्छाहरु पालेर बाँच्छन्। भ्रममा परेको महसुस नै गर्न सक्दैनन्। अनि यही कारण असफल जीवन बाँच्न बाध्य हुन्छन्। सफलता प्राप्तिका लागि सर्वप्रथम लक्ष्यबारे पूर्णतः स्पष्ट हुनोस्। स्पष्ट लक्ष्य बिनाको कार्य हवाइफायर गरेसरह हो। त्यसबाट कुनै उपलब्धि हासिल गर्न सकिँदैन। त्यसकारण जीवनमा के बन्न चाहेको हो, के हासिल गर्न चाहेको हो, त्यस कुराको यकिन गरेपछि मात्र कार्य अगाडि बढाउने प्रयत्न गर्नोस्। उदाहरणार्थ मानौँ तपाईँले नयाँ घर किन्ने लक्ष्य निर्धारण गर्नु भयो। यस्तो अवस्थामा तपाईँको लक्ष्य पूर्णतः स्पष्ट हुनुपर्छ। भनाइको तात्पर्य कुन शहरमा घर किन्न चाहेको हो ? शहरको कुन भागमा ? कुन दिशातिर फर्केको हुनुपर्ने ? घर कति क्षेत्रफलमा फैलिएको हुनुपर्ने ? कति तला हुनुपर्ने ? कतिवटा कोठाहरु हुनुपर्ने ? कहिलेसम्म किन्नुपर्ने ? यी यावत् विषयमा स्पष्ट हुनोस्। अनि बल्ल तपाईँ घर किन्ने लक्ष्यमा पुग्न सफल हुनुहुन्छ। अन्यथा तपाईँको घर किन्ने लक्ष्य केवल इच्छामा सीमित हुन पुग्छ।

ठूलो लक्ष्य राख्ने
व्यक्तित्व विकासको क्षेत्रमा ठूलो लक्ष्य लिन सिकाइन्छ न कि सानो। यसै क्रममा एउटा भनाइ निकै प्रचलित छ– ‘सानो लक्ष्य राख्नोस्, सानै उपलब्धि हासिल हुन्छ। ठूलो लक्ष्य राख्नोस्, ठूलै उपलब्धि हासिल हुन्छ। त्यसैगरी शून्य लक्ष्य राख्नोस्, शून्य उपलब्धि हासिल हुन्छ।’ यो भनाइ प्रेरणाका लागि मात्र उल्लेख गरिएको होइन। यस भनाइलाई पुष्टि गर्ने वैज्ञानिक एवं मनोवैज्ञानिक आधारहरू पनि छन्। जब सानो अथवा महत्वहीन लक्ष्य राखिन्छ, मानवीय मस्तिष्क आवश्यक परिवर्तनको लागि सक्रिय हुनै सक्दैन। अझ यसो भनौँ उत्प्रेरित हुनै सक्दैन। यसलाई एउटा उदाहरणमार्फत प्रस्ट हुने कोसिस गरौँ। मानौँ तपाईँ ९० केजीको युवा हुनुहुन्छ। तपाईँलाई पाँच वा तीस केजी तौल घटाउने विकल्प दिइयो रे ! यस्तोमा कुन विकल्प रोज्नु तपाईँका लागि सहज तथा बुद्धिमताको सही प्रयोग होला ? तुलनात्मक हिसाबमा तीस केजी तौल घटाउन भन्दा पाँच केजी तौल घटाउन सहज जस्तो देखिन्छ। यसमा पूर्ण सत्यता छैन। पाँच केजी तौल घटाउन भन्दा तीस केजी तौल घटाउन सहज अनुभूत हुन्छ। सोही विकल्पप्रति नै बढी प्रेरित हुन सकिन्छ। कसरी ? तीस केजी तौल घटाउँदा शारीरिक बनावट परिवर्तन हुन्छ। फोटोमा बिलकुलै फरक देखिने सम्भावना अधिकतम रहन्छ। शरीर ऊर्जाशील हुन्छ नै। विपरीत लिङ्गी आफूप्रति आकर्षित हुने सम्भावना अत्यधिक हुन्छ। यसको अर्थ हो, डेटिङ र यौन जीवन थप परिष्कृत हुनु। यति मात्र होइन, आत्मविश्वासको स्तर पनि उच्च रहन्छ। तीस केजी तौल घटाउन प्रतिबद्ध हुँदा यिनै सकारात्मक पक्षहरु परिकल्पना गर्न सकिन्छ। यद्यपि पाँच केजी तौल घटाउन प्रतिबद्ध हुँदा भने यो प्रकृतिको परिकल्पना सम्भव हुँदैन। ९० केजी तौल भएको अवस्थामा केवल पाँच केजी तौल घटाउँदा जीवनमा कुनै तात्विक परिवर्तन आउँदैन। सो कार्यका लागि उत्साहित हुन सकिँदैन। यसैकारण तीस केजी तौल घटाउन प्रतिबद्ध हुनु तपाईँका लागि फलप्रद साबित हुन्छ। भनाइको मतलब, ठूलो लक्ष्य लिनुमा भलाइ छ। त्यसैले ठूलो सोचको विकास गर्नोस्। ठूलो लक्ष्य निर्धारण गर्ने हिम्मत गर्नोस्।

लक्ष्य कापीमा उतार्ने
दिमागमा राखिएको लक्ष्य दिगो अर्थात् प्रभावकारी हुँदैन। कुनै पनि बेला उड्न सक्छ। जसकारण लक्ष्य समीक्षा गर्ने वातावरण सिर्जना हुँदैन। जीवनमा के गर्न चाहेको हो, के हासिल गर्न चाहेको हो, कस्तो विरासत छोड्न चाहेको हो त्यसप्रति स्पष्ट हुन सकिँदैन। जुन लक्ष्यबारे स्पष्ट हुन सकिँदैन, त्यस लक्ष्य प्राप्तिका लागि उत्साहित हुन पनि सकिँदैन। अर्को शब्दमा भन्नुपर्दा कार्य सम्पादनमा ऊर्जाशील हुन सकिँदैन। लक्ष्य नजिक पुग्न स्पष्ट मानचित्रको विकास हुने झन् सम्भावना नै रहेन। त्यसकारण लक्ष्यबारे स्पष्ट रहन, त्यस लक्ष्य प्राप्तिका लागि प्रभावकारी कार्ययोजना तय गर्न लक्ष्यलाई कापीमा उतार्नु बुद्धिमानी मानिन्छ। यसलाई विभिन्न अनुसन्धानले समेत पुष्टि गरेको छ। विभिन्न अनुसन्धानले कापीमा लेखिएको लक्ष्य प्राप्त हुन सक्ने सम्भाव्यता उच्च रहेको प्रमाणित गरेको छ। आखिर पाउने भनेको लेखेकै हो, देखेको होइन। त्यसैले आफ्नो लक्ष्य कापीमा लेख्नुस्। त्यो पनि ठूलठूला अक्षरमा।

समीक्षा गर्ने
केवल लक्ष्य लिनु मात्र सफलताको लागि पर्याप्त कदम होइन। लक्ष्यबारे नियमित समीक्षा हुनु पनि उत्तिकै आवश्यक छ। दुःखको कुरा प्रायः मानिस आफ्नो लक्ष्य समीक्षा नै गर्दैनन्। र, असफल हुन पुग्छन्। जो मानिसले आफ्नो लक्ष्य समीक्षा नै गर्दैनन्, उही मानिस असफल हुनु कुनै पनि दृष्टिकोणबाट असामान्य होइन। त्यसैले हरेक दिन अतिरिक्त समय उपलब्ध हुनासाथ आफ्नो लिखित लक्ष्यप्रति नजर लगाउनुहोस्। आफूले तय गरेका लक्ष्यबारे हरेक दिन सोच–विचार गर्नोस्, गहन समीक्षा गर्नोस्। यसका लागि समय उपलब्ध नभए पनि समय व्यवस्थापन गर्नोस्। आखिर लक्ष्य समीक्षा किन यति धेरै महत्वपूर्ण ? किन यसलाई प्राथमिकतामा राख्नु पर्ने ? सबैमा जिज्ञासा उत्पन्न हुन सक्छ। लक्ष्य समीक्षा गर्दाका केही फाइदाहरू छन्। जस्तोः लक्ष्य प्राप्तिका लागि कुन कार्य सुरुवात गर्ने, कुन कार्य गर्न बन्द गर्ने र कुन कार्यलाई निरन्तरता दिने भन्नेमा प्रस्ट हुन सकिन्छ। त्यसैगरी नियमित समीक्षा गर्नाले लक्ष्यलाई अवचेतन मस्तिष्कमा प्रवेश गराउन सहयोग मिल्छ। जब लक्ष्य अवचेतन मस्तिष्कमा प्रवेश हुन्छ, लक्ष्य प्राप्तिका लागि कार्य गर्न हरदम ऊर्जाशील भइन्छ। त्यसैले जीवनको लक्ष्य नियमित रुपमा समीक्षा गर्नोस्।

लक्ष्य र व्यक्तिगत मूल्य मान्यताबीच मिलान गर्ने
हरेक व्यक्तिको मूल्य मान्यता फरक हुन्छ। कसैको आध्यात्म हुन्छ भने कसैको भौतिक सुख सुविधा। कसैको परिवार हुन्छ भने कसैको पैसा। कसैको करिअर हुन्छ भने कसैको स्वास्थ्य। त्यसैगरी कसैको सिर्जनशीलता हुन्छ भने कसैको शिक्षा। अब यी व्यक्तिगत मूल्य मान्यता र लक्ष्यबीच मिलान हुन्छ या हुँदैन त्यो ख्याल गर्नुपर्ने हुन्छ। लक्ष्य र व्यक्तिगत मूल्य मान्यताबीच मिलान हुन सकेन भने ? समाजको वहावमा बगिन्छ। समाजले जे भन्छ, त्यही गरिन्छ। जता जा भन्छ, त्यतैतिर गइन्छ। समाज विपरीत खडा हुने सहास हुँदैन। बिना सोचविचार गरेर लक्ष्य निर्धारण गरिन्छ। परिवारमा कोही डाक्टर भए, डाक्टर बन्ने लक्ष्य राखिन्छ। साथीभाइले आकर्षक गाडी चढे, त्यस्तै गाडी चढ्ने लक्ष्य राखिन्छ। क्षमताले भ्याउने नभ्याउने कुराको मूल्यांकन गरिँदैन। व्यक्तिगत मूल्य मान्यता र लक्ष्य मिलान हुन नसक्दा उत्पन्न हुने जटिलतातर्फ ध्यान दिन सकिँदैन। परिवार प्रमुख मूल्य मान्यता हुनेले पैसा कमाउने लक्ष्य राखे के होला ? अन्ततः हात लाग्ने भनेको असन्तुष्टि र असफलता नै हो। त्यसैले आफ्नो प्रमुख व्यक्तिगत मूल्य मान्यता पत्ता लगाएर सोहीअनुसार लक्ष्य निर्धारण गर्नोस्।

Leave A Comment