साइकल सिटीको सपना

शनिबार, १९ पुष २०७६, ०१ : ०१ मनोज घर्तीमगर
साइकल सिटीको सपना

पोखरामा साइकल लेन बनाउनुपर्ने माग नयाँ होइन। नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीलगायतको टोलीले ८ वर्षअघि नै ‘साइकल सिटी पोखरा’ संस्था खोलेरै यसको वकालत गर्दै आइरहेका छन्। तै पनि अहिलेसम्म साइकल लेनको सपना पूरा भएको छैन।

तर लेन नभए पनि पोखरामा साइकल चढ्नेको जमात भने बाक्लिँदो छ। साइकल सिटीको अवधारणा अगाडि बढाउन टुर दी पोखरालगायतका विभिन्न अभियानसमेत हुने गरेको छ।

स्वास्थ्य र पर्यटनसँग जोडिएर फ्रान्समा १ सय १६ वर्षअघि सुरु भएको ‘टुर दी फ्रान्स’ कै सिको गरेर पोखरामा टुर दी पोखरा सुरु भएको थियो सात वर्ष अगाडि। फ्रान्सको त्यो कार्यक्रमले विश्वकै ध्यान तान्यो। फ्रान्सको सिको ग-यो पोखराले।

यो साता भएको टुर दी पोखरामा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायत पाँच सयभन्दा बढी सहभागी थिए। साइकल यात्रीले झण्डै ३० किलोमिटरको यात्रा गरे।

‘मैले बेलैमा साइकल चलाइन शरीर बिग्रियो, जिऊ बिग्रियो, देश पनि बिग्रियो,’ हास्य कलाकार अभियानमा संलग्न आचार्यले भने, ‘हाम्रो देशबाट सबैभन्दा बढी पैसा बाहिर गएको इन्धन र उपचारमै हो। विदेशीका अस्पतालहरुमा नेपालीको भीड छ। स्वस्थ रहन, वातावरण जोगाउन र राष्ट्रको पैसा बचाउन साइकल चढ्नुपर्छ।’

‘एकजनाले एक दिन साइकल चढे पनि तेलमा जाने धेरै रकम बचत हुन्छ,’ साइकल सिटी पोखराका अध्यक्ष शंकर भण्डारी भन्छन्, ‘साइकल चढ्न उत्साहित गर्नका लागि वर्षेनी कार्यक्रम गरिरहेका छौं।’

टुर दी पोखरामा एक हात मात्रै भए पनि कुशलतापूर्वक साइकल चलाउने विशाल गर्बुजा र सागमा रजतपदक विजेता जमुना थापा पनि सहभागी भइन्। पोखराको तल्लो गगनगौंडा निवासी गर्बुजाको देब्रे हात छैन।

टुर दी पोखरामा दौडमा साइकलमार्फत दैनिक जीवन चलाउनेहरु पनि सामेल थिए। साइलकमा कवाडी सामान उठाउनेहरुले भाग लिए भने बालबालिका, प्रौढ, वृद्ध, यहाँका विभिन्न संघसंस्था र त्यसका प्रमुखसम्मले साइकल चढेर पोखराको फन्को लगाए।

बेलाबेला साइकलिङसम्बन्धी हुने यस्तै कार्यक्रमले पोखरालाई साइकल सिटी बनाउने अभियानलाई थप बल पुगेको अभियन्ताहरुको अनुभव छ। पोखरामा साइकल सिटीको अवधारणा आएपछि सडक बनाउँदा साइकल लेन पनि बनाउनुपर्छ भन्ने आवाज उठिरहेकै छ।

साइकल सिटीले नेपालमै पहिलो पल्ट साइकल मैत्री पर्यटकीय शहरको अवधारणा, साइकल लेनको माग, पोखराका पर्यटकीय क्षेत्रमा २१ वटा साइकल स्टान्ड गाडिसकेको छ।

साइकलसम्बन्धी थुप्रै काम भएपछि पोखरालाई साइकलमैत्री शहर बनाउन लागेका अभियन्ताहरु अहिले खुसी छन्। साइकल सिटी पोखराका अध्यक्ष महेन्द्रराज कोइरालाले नेपालले २ खर्ब र पोखराले १६ अर्बको वार्षिक इन्धन खपत गर्ने परिपेक्ष्यमा इन्धनको खपत कम गराउनु पनि यो कार्यक्रम आयोजना गरिएको सुनाए।



Leave A Comment