अडियोले सिकाउँछ भाषा

सोमबार, २१ पुष २०७६, ११ : ३४ शुक्रवार
अडियोले सिकाउँछ भाषा

विजय सिवाकोटी, वेस्टफर्ड एजुकेशन

कुनै पनि भाषा सिकाइका चार भाग हुन्छन्, पठन, वाणी, श्रवण र लेखन। अघिल्लो अंकमा समग्रमा अंग्रेजी कसरी सिक्ने भन्नेबारे लेखेको थिएँ। अंग्रेजी भाषा सिक्ने कलामा हामीले सुन्ने, पढ्ने, लेख्ने, बोल्नेजस्ता चारै वटा कलालाई हामीले मिहिन रुपमा बुझ्न जरुरी छ।

यस अंकमा भने हामी कसरी अंग्रेजी भाषा सुन्ने भन्नेबारे उल्लेख गर्नेछु। अंग्रेजी सुनिरहनेले पनि कहिलेकाहीँ सुनेको कुरा नबुझ्न सक्छ। यसको मुख्य कारण भनेको सीमित शाब्दिक ज्ञान भएर पनि हो।

जसरी नेपाली भाषा समयअनुसार लेख्ने र बोल्ने कुरामा परिस्कार र विकसित हुँदै जान्छ, उसरी नै अंग्रेजी भाषामा पनि समय–समयमा परिस्कार भइरहेको हुन्छ। अघिल्लो वर्ष सुन्दै नसुनिएका शब्दहरु यो वर्ष निकै प्रचलनमा आएको हुनसक्छ। त्यसकारण समयअनुसार शब्दबारे अपडेट हुन आवश्यक त छ नै साथै शाब्दिक भण्डार बढाउन पनि आवश्यक हुन्छ। 

अडियो सुन्ने
कुनै पनि भाषामा पोख्त हुन अधिकतम सुन्नु पर्छ। आफ्नो रुचिअनुसारका कार्यक्रमहरु  सुन्न आवश्यक छ। कसैलाई पुस्तक मनपर्छ भने अडियो पुस्तक सुन्ने। कसैलाई गीतसंगीत सुन्न मनपर्छ भने अंग्रेजी गीतसंगीत सुन्ने, समाचार सुन्न मनपर्छ भने अंग्रेजीमा समाचार सुन्ने गर्नुपर्छ। यसरी सुन्दा शब्दहरुसँग फेमिलियर भइन्छ। कुन आशयमा कुन शब्द प्रयोग गरेको हो, बुझ्न सहज हुन्छ।

डिजिटल डिक्सनेरी प्रयोग गर्ने
कुनै–कुनै डिक्सनरीमा शब्दहरुको कसरी उच्चारण गर्ने भनी लेखेको हुन्छ भने कुनैमा हुँदैन। तर प्रविधिले यो समस्याको सामाधान पनि गरेको छ। कुन शब्द कसरी उच्चारण गर्ने भनी डिजिटल डिक्सनरीको प्रयोग ग-यौँ भने छिटो सिकिन्छ।

प्रयास गर्ने तर मरिहत्ते नगर्ने
वाक्यहरुमा प्रयोग भएका प्रत्येक शब्दको अर्थ बुझ्नुपर्छ भन्ने पनि छैन। भन्न खोजेको के हो भनी बुझ्न कोसिस गर्ने तर मरिहत्ते गरेर इरिटेट नै हुने गरेर त्यसमा नलाग्ने। यसो गर्दा भाषामा रमाउन सकिन्छ।

शब्दको उत्पत्ति कसरी भएको छ ध्यान दिने
कुनै–कुनै शब्दहरु दुई वटा शब्द मिलेर बनेका पनि हुन सक्छन्। जस्तै नेपाल प्लस ली नेपाली भनेजस्तै। अंग्रेजी शब्दहरु पनि दुई शब्दबाट एक शब्द बनेको हुन्छ। यसरी शब्दको व्युत्पन्न कसरी भएको हो भन्नेतर्फ ध्यान दियौँ भने पनि शाब्दिक भण्डार बढाउन सक्छौँ। 

शब्दहरु सम्झने
धेरै जसो शब्दहरु सम्बन्धित हुन्छन्। जस्तै अंग्रेजीमा जर्मेन भन्ने शब्द छ भने त्यसको अर्थ सम्बन्धित अर्थात् कुनै कुरासँग रिलेटेड हुन्छ। अब यो जर्मेन भन्ने शब्द सम्झन जर्मन देशको प्रयोग गरेर वाक्य बनायौँ भने सम्झन सकिन्छ। शब्दका अल्फाबेटलाई ब्रेक गरेर पनि सम्झन सकिन्छ। रमाइला वाक्यहरु बनाउने, शब्दसँग सम्बन्धित गीत बनाउँदै बुझ्न पनि सकिन्छ।

सबटाइटल भएको मुभी हेर्ने
भाषा सिक्ने सुरुवाती चरणमा सबटाइटल भएका फिल्म हेर्न सकिन्छ। सबटाइटल भएका मुभीसँगै सबटाइटल भएको गीत सुन्दै गाउँदै गरियो भने झनै छिटो सिकिन्छ। भाषा सुन्दा अमेरिकन, अस्ट्रेलियन र ब्रिटिश उच्चारण कसरी हुन्छ भनेर पनि ध्यान दिने। एउटै शब्द अमेरिका, ब्रिटिश र अस्ट्रेलियामा फरक तरिकाले उच्चारण हुन्छ।
पहिलो चोटि सबटाइटल भएको फिल्म हेर्ने अनि दोस्रो चोटि त्यही फिल्म सबटाइटल नराखी हेर्दा कति बुझिन्छ भनी आफैँलाई परिक्षण गर्न पनि सकिन्छ।

दोहो-याइरहने
जबसम्म सुनेका नयाँ शब्दहरुसँग फेमिलियर भइन्न, तबसम्म दोहो-याउनुको विकल्प हुन्न। नयाँ शब्द छ भने सुनिरहने गर्नुपर्छ। जसका लागि विभिन्न एपहरु डाउनलोड गर्न सकिन्छ।

विषयगत शब्दहरु याद गर्ने
हामीले सिक्दा शब्दहरुलाई छुट्ट्याउँदै सिक्यौँ भने शब्दहरु सिक्न झिँजो लाग्दैन। विज्ञान, सामाजिक, अर्थशास्त्र, वातावरणजस्ता विषयहरुका शब्द छुट्याएर सिक्यौैँ भने छिटो सिकिन्छ।

Leave A Comment