सरकारले ट्याक्सीलाई हेप्यो

सोमबार, २१ पुष २०७६, १२ : ४४ शुक्रवार
सरकारले  ट्याक्सीलाई हेप्यो

विष्णुप्रसाद पोखरेल, ट्याक्सी चालक

मेरो घर काभ्रे हो। मैले काठमाडाैं आएर ट्याक्सी चलाउन थालेको लगभग सात वर्ष जति भयो। मलाई पहिला–पहिला ट्याक्सी चलाउन रहर लाग्थ्यो। त्यो बेलादेखि मैले नाइट ट्याक्सी चलाउँदै आएको हुँ। धेरै जसो मेरो जक्सन भनेको ठमेल एरिया नै हो। रहरै रहरमा ट्याक्सी पेसामा लागेको हुँ। पहिले–पहिले त यो पेशा ठिकै थियो तर अहिले निजी सवारी साधनले यात्रु बोक्न थालेपछि ट्याक्सीले यात्रु पाउन कठिन हुँदै गएको छ।

ट्याक्सीमा नराम्रा कुरा धेरै
नाइटका यात्रु आ–आफ्नै तालमा आएका हुन्छन्। बाटोमा त्यस्तै खालका हिँडिरहेका हुन्छन्। जाँड खाएका यात्रु ट्याक्सीमा चढेपछि ट्याक्सीमै बमिट गरिदिने गर्छन्। नाइटमा ट्याक्सी चालकलाई सुरक्षा छैन। जता पनि जानुपर्ने नियम छ। रिङरोडबाट भित्र जाने बित्तिकै असुरक्षाको महसुस हुने गर्छ।

केही दिन अगाडिको कुरा हो। ठमेलबाट नारायणथान हाइटमा एकजना जँड्याहाले हातपात गरेर लछारपछार गरेको छ। राति दस बजेको समयमा ऊ मेरो ट्याक्सीमा चढ्यो। ट्याक्सीमा चढेपछि राम्रै मुखले दाइ नारायणथान जाऊँ भन्यो। ठिकै छ भनेर मिटर अन गरेर ट्याक्सी चलाएँ। नारायणथान हाइटमा पुगेपछि पैसा दिन मानेन। पैसा दिन्न भन्दै के–के शब्द बोल्न थाल्यो अनि म रित्तो हात ट्याक्सी लिएर ठमेल नै फर्किएँ।

यहाँ पुरुषमार्फत मात्र होइन, केटीहरु पनि ठग्ने नियतले नै आएका हुन्छन्। कति त ठग्ने पेसेवर नै छन् जस्तो लाग्छ। आफूले नभोगे पनि साथीहरुले प्रायः ठगिएको कुरा सुनाइरहन्छन्।

सरकारले  ट्याक्सीलाई हेप्यो
सरकारले ट्याक्सीलाई हेपेकै छ। हामीले सरकारले जे भन्यो त्यही मानेका छाैँ। हुटमा पहेँलो लगा भन्यो लगाएका छौँ। ड्रेस लगा भन्योे लगाएका छौँ। जे–जे भनेको छ सबै मान्याैँ तर टुटल पठाओलाई सरकारले केही भन्दैन। ट्याक्सी चालकलाई मात्रै किन अन्याय सरकार भन्न चाहन्छाैँ। निजी सवारी साधनले मान्छे ओसार्दा नम्बर प्लेट फेर्न नपर्ने ? उसले जे गरे पनि ट्याक्सीलाई मारमा पारिरहने हो र ? हामीले पटक–पटक कर तिर्नुपर्छ। एउटा ट्याक्सी किन्दा अहिले तेत्तीस लाख पुगिसक्यो। के अब ट्याक्सीको स्टेरिङ छोडेर खाडी जानुपर्ने हो र ? सरकारले समृद्ध नेपाल बनाउने कुरा गरेको छ । के गरिबलाई मारेर समृद्ध नेपाल बन्छ त ?। हामीलाई वैज्ञानिक भाडा दर लागू गरिदिन सरकारलाई किन गाह्रो। हामी ठमेलमा बसिरहेका हुन्छाैँ। हाम्रा आँखै अगाडि टुटल पठाओले मान्छे बोकेको टुलुटुलु हेर्नुपर्छ। हामीलाई त्यहाँ कतै बस्न दिइँदैन। हस्पिटलमा कहीँ कतै पार्किङ छैन। बिरामी बोकेर गएको ट्याक्सी आधा बाटोबाटै फर्काउन लगाउँछ। ट्याक्सीवालालाई जति पीडा अरू कसलाई होला र ? बिरामी ठिक ठाउँमा पु-याउन पाइँदैन। बिरामीका आफन्त छिटो–छिटो भन्दा पनि बाध्यताले बाहिरबाटै निस्केर हिँड्नुपर्ने कस्तो दुर्भाग्य छ।

प्रतिस्पर्धामा डराउँदैनौँ
टुटल पठाओसँग प्रतिस्पर्धा गर्न डराएका होइनौँ। सरकारले हामीलाई गर्ने व्यवहार फरक छ। हामीलाई जहाँ मन लाग्यो त्यहीँ चिट काटिदिन्छ तर टुटल पठाओलाई खै काटेको। पचास हजारको मोटर साइकल र तेत्तीस लाखको ट्याक्सीमा दस बीस रुपैयाँको फरक पर्ने हो। यात्रुलाई छिटो चाहिएको छ। सुरक्षा चाहिएको छैन। हाम्रो चारपाङ्ग्रे भएका कारण जामले गर्दा अलिकति ढिलो हुनु स्वाभाविकै हो।

Leave A Comment