‘यो उमेरमा पनि ब्वाइफ्रेन्ड छैन भनेर के ढाट्नु’

सोमबार, २१ पुष २०७६, १२ : ५३ शुक्रवार
‘यो उमेरमा पनि ब्वाइफ्रेन्ड छैन भनेर के ढाट्नु’

दस वर्षदेखि रात्रिकालीन व्यवसायमा सँलग्न नुवाकोटकी रञ्जिता लामा डान्सर हुन्। उनले रात्रिकालिन यात्रा वेटरबाट शुरु गरेकी थिइन्। उनीसँग रात्रिकालिन व्यवसायमा काम गर्दाको अनुभव, ग्राहकको स्वभाव लगायतमा केन्द्रित भएर शुक्रवारकर्मी भोला अधिकारीले गरेको संवाद :

के छ हालखबर ?  
चलेकै छ।

रोदीघरमा नाच्न थालेको कतिभयो ?
आठ दस वर्ष नै भइसक्यो।

कति वर्षको उमेरदेखि नाच्न थालेको ?
स्कुल पढ्दैदेखि नै दोहोरीसाँझमा नाच्न थालेकी हुँ। घरको आर्थिक अवस्था कमजोर थियो। घरबाट मलाई पढाउन सम्भव थिएन। त्यसैले नाच्न थाले। अहिले नाच्न थालेको पनि धेरै वर्ष पो भइसक्यो।

कसरी नाच्न आउनुभयो त ?
गाउँकै एकजना फुपू पर्ने हुनुहुन्थ्यो। उहाँले नै मलाई एउटा दोहोरीमा वेटरमा काम लगाइदिनुभएको थियो। वेटर काम गर्दा गर्दै बिस्तारै डान्समा छिरे।

पहिलो रात्रिकालीन काम सुरु गरेको यहीँबाट हो कि अन्तबाट ?
पहिला नयाँ बसपार्कको दोहोरीबाट वेटरमा सुरुवात गरेकी हुँ। काम गर्दै जाँदा वेटरमा मात्र नभई अरुतिर पनि काम गर्ने इच्छा लाग्यो र नयाँबसपार्कको दोहोरीसाँझ छोडेर  सुन्धाराको एउटा दोहोरीमा डान्सको काम गर्न थालेँ।

अहिलेसम्म कति ओटा डान्सबारमा काम गरियो त ?
नयाँ बसपार्क, ठमेल, सुन्धारा र दरबारमार्गमा गरी चार ओटा पुग्यो।

यत्रो ठाउँमा काम गरिसक्नु भएछ। काम गर्दाको अनुभव सुनाइदिनु न त ?
काम गर्दा सबैतिर रमाइलो नै लाग्यो। सबैको आ–आफ्नै सिस्टम हुन्छ। कसकोमा कति बजे पुग्ने भन्ने हुन्छ। तलब सबैमा फरक–फरक हुन्छ। यही त हो।

ग्राहक नि ?
रेस्टुरेन्टमा घुम्ने गेष्टहरु प्रायः उस्तै हुन्छन्। खाने, पिउने र झगडा गर्ने खालकै देखे मैले त। खासै फरक लागेन।

लेडिज वेटरलाई गेष्टहरुले गर्ने व्यवहार कस्तो हुन्छ ?
कत्तिको सतर्क भएर काम गर्न सकिन्छ त्यसमा भरपर्ने कुरा हो यो। अर्को कुरा दोहोरीसाँझ होस् या रात्रिकालीन व्यवसाय रमाइलो क्षेत्र भने हो। रमाइलोका लागि पनि गेष्टहरु आउने गर्छन्। मसँग नानाथरी खालका कुरा त गर्न खोज्थे तर म आफैँ हाँसेर आफ्नो काम गर्न थाल्थेँ।

महिला कामदारलाई सञ्चालकले गर्ने व्यवहार नी ?
फरक नै हुन्छ। मैले नराम्रो व्यवहार त भोग्नु परेन तर देखेको छु। कोही साहुसँग नजिक हुने, तलब बढाइदिन्छ कि भनेर उसैको पछि लाग्ने पनि हुन्छन्।

राम्रा गेष्ट कत्तिको भेटिन्छन् ?
मान्छे सबै राम्रा नै हुन्छन्। जाँडले हो मान्छेलाई नराम्रो बनाउने। सीमित मात्रामा खाएका गेष्ट राम्रै बोल्छन्, रमाउँछन्  अब जाँड खाँदा खाँदै सीमा तोड्न थालेपछि जथाभावी बोल्न थाल्छन्।

लभ परेको छ कि छैन ?
अहिलेको जमानामा लभ परेको छैन कसरी भन्नु र। उमेर पुगेकै छ किन लुकाउने। म रिलेसन सिपमै छु।

प्रेमीलाई तपाईं डान्सर हो भन्ने त थाहा होला हैन ?
थाहा छ। बुझेको हुनुहुन्छ। काम नगर, मलाई लाज लाग्छ, यताउता भन्ने छैन। एकदमै सहयोगी हुनुहुन्छ।

काम चै के गर्नुहुन्छ प्रेमी ? भन्न मिले भन्नु क्यार।
बाहिर काम गर्नुहुन्छ। उहाँ पनि कहिलेकाहीँ दोहोरीसाँझमा आउनुहुन्छ। राम्रो छ काम गर, काम न हो भनेर हौसला बढाइदिनुहुन्छ। डान्सर भनेको कलाकार हो, काम सानो ठुलो हुन्न भन्ने उहाँलाई राम्रोसँग थाहा छ।

आफूले काम गर्ने बाहेक अन्य डान्सबार कहिल्यै गइएको छ ?
ठमेलको वियरबार भन्नेमा छिरेकी छु। तर डान्स गर्नका लागि भने गएकी होइन। मेरो एकजना साथीले लगेकी थिइन्। बेलुका सात बजे गई एकछिन हेरेर फर्किएँ।

Leave A Comment