अदालतको म्याद गुजारे के हुन्छ ?

मङ्गलबार, २२ पुष २०७६, ११ : ०५ स्वीकृति बराल
अदालतको म्याद गुजारे के हुन्छ ?

म्याद भनेको मुद्दाको रोहमा कुनै व्यक्तिको नाममा अदालतबाट जारी गरिने सूचना वा इतलायनामा हो। अदालतले तोकेको म्यादमा अदालतमा उपस्थित हुनु अनिवार्य हुन्छ। उपस्थित नभए मुद्दा कमजोर हुनसक्छ। त्यसैले अदालतले दिएको म्याद वा तारिख गुजार्न हुँदैन।

केही कारणवश म्याद गुज्रन गएमा, म्याद गुज्रनुको कारण खुलाई म्याद थाम्नका लागि अदालतमा निवेदन दिनुपर्छ।

कुनै मुद्दामा आफ्नो काबु बाहिरको परिस्थिति उत्पन्न भई तोकिएको म्याद वा तारिखका दिन अदालतमा उपस्थित हुन नसकी म्याद वा तारिख गुजे्रको पक्षले म्यादको हकमा १५ दिनसम्म एकपटक र तारिखको हकमा बढीमा दुईपटक २१ दिनसम्म थमाउन पाउने कानुनी व्यवस्था छ।

मुद्दाका पक्षले म्याद वा तारिख गुजारेकोमा थमाउनका लागि दिन गणना गर्दा म्याद वा तारिख गुज्रेको दिनको भोलिपल्टदेखि थमाउन पाउने दिनसम्मको दिन गणना गर्नुपर्छ। कुनै म्याद छुटेको छ भने अदालतले कति दिनमा म्याद थाम्ने प्रबन्ध राखेको छ, त्यति दिनभित्रमा थामिसक्नु पर्छ र कति दिनभयो भनेर गणना गर्दा गुज्रेको दिनको भोलिपल्टबाट गन्नु पर्छ।

कहिलेकाहीँ चाहेर पनि मिति याद हुँदाहुँदै कुनै पनि हालतमा अदालतमा उपस्थित हुन नसक्ने अवस्था आउन सक्छ। मुलुकी देवानी कार्यविधि, २०७४ को दफा २ सय २५ ले म्याद थामिने त्यस्ता केही अवस्थाको उल्लेख गरेको छ।

म्याद वा तारिखमा हाजिर हुनुपर्ने व्यक्तिको कोही कसैको निधन भई निजको समुदायमा रहेको रीत–परम्पराअनुसार आफैँ किरिया वा शोकवरण गरी बस्नु परेको कारणबाट म्याद वा तारिख गुज्रिएको भए त्यसरी मृत्यु भएको मितिले बाटोको म्यादबाहेक २१ दिन,  म्याद वा तारिखमा हाजिर हुनुपर्ने महिला सुत्केरी भएको कारण म्याद वा तारिख गुज्रिएको भए निज सुत्केरी भएको मितिले बाटोकोे म्यादबाहेक ४५ दिन,  बाढी, पहिरो, हिमपात, बाटो बन्द भई वा कफ्र्युको घोषणा भएको वा अन्य कुनै कारणले सार्वजनिक यातायातको साधन बन्द भएको कारण म्याद वा तारिख गुज्रिएको भए बाटो खुलेको वा सार्वजनिक यातायातको साधन खुलेको मितिले बाटोको म्यादबाहेक सात दिन, म्याद वा तारिखमा हाजिर हुनु पर्ने व्यक्तिलाई कसैले अपहरण गरी लगेको वा शरीर बन्धक बनाएको कारण म्याद वा तारिख गुज्रिएको भए अपहरण वा शरीर बन्धकबाट मुक्त भएको मितिले बाटोको म्यादबाहेक १० दिनभित्र निवेदन दिनुपर्छ।

भूकम्प, ज्वालामुखी आदिजस्ता विपद परेको कारण म्याद वा तारिख गुज्रिए त्यस्तो विपद भएका मितिले बाटोको म्यादबाहेक १० दिन र कुनै दुर्घटनाको कारण अचेत भई वा अचानक कुनै गम्भीर रोगको कारण हिँडडुल गर्न नसक्ने भई अस्पताल भर्ना भई उपचार गर्नुपरेको अवस्थामा त्यस्तो कारण परेको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र निवेदन दिए गुज्रिएको म्याद थामिन्छ।

काबु बाहिरको परिस्थिति उत्पन्न भई म्याद वा तारिख गुज्रिएको कुरा उल्लेख गरी तोकिएको अवधिभित्र म्याद थमाउन सम्बन्धित अदालतमा निवेदन दिएमा अदालतले त्यस्तो गुजे्रको म्याद वा तारिख थमाउने आदेश दिन्छ। निवेदन दिँदा निवेदनसँगै म्याद थमाउन पर्नुको कारणको प्रमाण पु-याउनु आवश्यक हुन्छ।

Leave A Comment