दुई गला, एक माला

शुक्रबार, २५ पुष २०७६, ०१ : १२ शुक्रवार
दुई गला, एक माला

हेर्नोस् न, यतिबेला नेपालको राजनीतिमा प्रमुख प्रतिपक्षको खोल ओढेको नेपाली कांग्रेस आफैं थला परेको अवस्था छ। प्रतिपक्ष नै थला परेपछि सत्तापक्षलाई हाइसञ्चो हुने नै भयो। नेपाली कांग्रेस नामको घरको भित्ता चिराचिरा परेका छन्। कुन चिरो भत्किएर कसलाई किच्ने हो पत्तो छैन। संस्थापन पक्ष र विपक्षको खेमामा पुगेको छ, कांग्रेस। रामचन्द्र पौडेल खेमाको संस्थापन पक्ष देउवाको विराजमानले टाकी टिक्न मुस्किल छ।

केही नेताले भने चर्र्किएका घरका भित्तालाई बाहिरबाट टालटुल पार्ने प्रयास गरेको देखिन्छ। त्यस्तै आफ्नो चर्किएको घरको लाज ढाक्न धनकुटा पुगेछन्, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइराला। उनीहरुले यसरी लाज ढाक्न खोजे कि मानौं सिटौला र कोइरालाको गलै अब एउटै हो। गिरिजाप्रसाद कोइराला फाउन्डेसन प्रदेश नम्बर १ ले धनकुटामा गरेको एक कार्यक्रममा आयोजकले सिटौला र कोइराला दुवैको गला एकै ठाउँमा जोडेर दुई गलामा सयपत्रीको एउटै माला लगाइदिएछन्। अनि भएन त उनीहरुको गला एउटै।

त्यति माला लगाइदिएपछि लाज त छोपिनुपर्ने हो नि तर उल्टो झन् उदाङ्गियो। कारण, दुवैले गला जोडेर माला त लाए, भाषण भने आलोचना गर्नमै खर्चिएछन्। सिटौलाले कांगे्रसमा सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिनदारी प्रथा चलाउन खोजेको भाषण ठोकेछन्। उनले देउवाले गुटको राजनीति गरेको आरोपसमेत लगाउन भ्याए।

सिटौलाले मात्रै कहाँ हो र ! कोइरालाले समेत देउवालाई घर झगडामा फँसाएको आरोप लगाउन भ्याएछन्। एक भएको सन्देश दिन भन्दै दुवैको गलामा मालाचाहिँ एउटै लगाउने अनि भाषण चाहिँ सभापतिलाई गाली गर्न खर्चिने ! नालायकीको पनि हद हुन्छ नि !

Leave A Comment