पर्यटकले के खाने ? कहाँ जाने ?

शुक्रबार, २५ पुष २०७६, ०१ : ३९ शुक्रवार
पर्यटकले के खाने ? कहाँ जाने ?

२० लाख पर्यटक नेपाल भित्र्याउन धुमधामले नेपाल भ्रमण वर्षको प्रारम्भ भएको भोलिपल्ट सामाजिक सञ्जालमा नेपाल भ्रमणमा आएकी एक पर्यटकले टुइट गरिन्, ‘विमानस्थलको शौचालयमा प्रवेश गर्दा भएको दिगमिग कहिले मनबाट हट्ला !’ भ्रमण वर्ष शुरु भएपछि काठमाडौंमा घुमिरहेका पर्यटक धुँवा र धुलोबाट हैरान भइरहेका थिए।

भ्रमण वर्षको लक्ष्य पूरा गर्न र पर्यटक आकर्षण गर्न अस्ट्रेलिया पुगेका पर्यटन मन्त्री योगेश भट्टराई सहभागी भएको -याली अनुमतिबिना निकालेको भन्दै अस्ट्रेलियन प्रहरीले बीचैमा रोकिदिएछ।

अस्ट्रेलिया अहिले आगोको चपेटामा छन्। अस्ट्रेलियाबासी दुःखी छन् बेलैमा आगो नियन्त्रण नहुँदा। तर नेपालका मन्त्री दुःखमा सान्त्वना दिनुको साटो रमाउन नेपाल आउनु भन्दै निम्ता बाँड्न पुग्नु आफैंमा लज्जाजनक गतिविधि हो नै।

भ्रमण वर्ष एक वर्षसम्म चल्ने अभियान हो। प्रचारमा जानै परे पनि आगोको प्रकोपबाट मुक्त भएपछि जानसक्थे उनी। तर के–के न बित्छझैँ हतारो देखाए उनले।

भ्रमण वर्ष शुरु भएको पहिलो महिनै नकट्दै आएका यस्ता दृश्य अनि प्रतिक्रियाले हामी दीर्घकालीन योजनामा कति गम्भीर र संवेदनशील छौँ भन्ने देखाउँछ।

भन्नै परेन पर्यटकमाझ नेपाल लोकप्रिय छ। सस्तो अनि मनोरम प्राकृतिक दृश्य हेर्न नेपाल आउन चाहने पर्यटकको संख्या बढाउन राज्य नै सक्रिय हुनु आफैँमा सुखद पाटो हो नै।

सँगै निम्ता दिएर स्वदेश भित्र्याउने पर्यटकलाई न्यायो अतिथ्यता र उनीहरुले चाहने वैध सेवा–सुविधाको प्रबन्ध भए भ्रमण वर्षको घोषणा नगरे पनि नेपाल आउने पर्यटकको संख्या बढ्न सक्छ।

तर जसरी हल्ला गरियो, पर्यटकको सुविधाका लागि प्रभावकारी पूर्वाधारको निर्माण हुन सकेन। सरकारी तहबाट गरिएको तयारी कस्तो छ, त्यसको पुष्टिका लागि एक मात्र विमानस्थलको शौचालय जाँदा विदेशी पर्यटकले गरेको अनुभवै काफी छ।

नेपाल आउन चाहने पर्यटक डाँडाकाँडा र हिमाल हेर्न मात्र आउँछन् झैँ गरिन्छ यहाँ। तर सबै पर्यटकको मुड ट्रेकिङ र हाइकिङ  मात्र हुन्न। कोही शहरी क्षेत्रमा रमाउन पनि आउँछन्, कोही पुरातात्विक र पुराना बस्तीमा रमाउँछन् पनि। रात्रिकालीन रमाइलोका लागि आउने पनि कम हुँदैनन्।

तर सरकारी सोच पर्यटक भनेका डाँडाकाँडा घुम्न मात्रै आउँछन् भन्ने तयारीबाटै देखिन्छ। पर्यटकलाई सकारात्मक प्रभाव पार्ने जिम्मा सरकारले प्रकृतिलाई सुम्पेर आफू हल्लामै रमाइरहेको देखिन्छ।

शहरी क्षेत्र अस्तव्यस्त छ। प्रदुषण निस्सासिँदो छ। रात्रिकालीन मनोरञ्जन जमेका काठमाडौंको ठमेल, ललितपुरको झमेल, धरान, पोखरा लगायतका क्षेत्रमा प्रहरीको हस्तक्षेप उस्तै छ।

पर्यटकका लागि विशेष अभियान नचलाएको बेलामा पनि नेपाल आएका पर्यटकको गुनासो खर्च गर्छु भनेर ल्याएको पैसा पनि फिर्ता लैजानुपर्छ भन्ने नै हो। विशेष अभियान शुरु गर्दा पनि नेपाल भित्रिएका पर्यटकको बसाई लम्ब्याउन र खर्च बढाउन सरकारले चासो लिएको देखिन्न।

छिमेकी मुलुक भारतबाट नेपाल घुम्न आउने धार्मिक पर्यटकहरुको समेत संख्या जोड्दा २० लाख विदेशीलाई नेपाल भित्र्याउने लक्ष्य टेक्न सकिएला। तर जुन रुपमा सरकारको तयारी छ यसले पहिलो पटक नेपाल आउने अधिकांश पर्यटक दोस्रो पटक पुनः आउने मन बनाएर आफ्नो देश फर्कने सम्भावना देखिन्न।

भ्रमण वर्ष भर्खर शुरु भएको हो। त्यसैले सम्बन्धित मन्त्रालयका नेतृत्व पर्यटक डाक्ने बहानामा विभिन्न देशमा पुगेर रमिता देखाउनुभन्दा अत्यावश्यक पूर्वाधार निर्माणमा केन्द्रित हुने हो भने थोरै भए पनि सुधार हुनसक्छ।

Leave A Comment