साथीको महिमा

शनिबार, २६ पुष २०७६, १२ : २२ प्रकाश जंग थापा
साथीको महिमा

साथीको महिमा र महत्व के हो, साथीको सार्थकता के हो, त्यसबारे बुझ्न केही सफल व्यक्तिबीच स्थापित मित्रताको वर्णन गरौँ।

बिल गेट्स र पल एलेनः
बिल गेट्स र पल एलेन स्कुलदेखिका साथी थिए। सन् १९६० को दशकको अन्तिममा अमेरिकाको सियाटलस्थित लेकसाइड स्कुलमा उनीहरुको भेट भएको थियो। बिल कक्षा आठमा अध्ययनरत थिए भने पाउल कक्षा दशमा। दुवैमा कम्प्युटरप्रति अत्यधिक रुचि थियो। त्यो बेला कम्प्युटर प्रयोग गर्न पाइने ठाउँ सीमित थियो। महँगो पनि अचाक्ली, एक घण्टाको चालिस डलर ! यस्तोमा उनीहरुले कम्प्युटर सिस्टममा बग हालेर लामो समयसम्म प्रयोग गर्न सकिने जुक्ति निकाले तर यो जुक्ति लामो समयसम्म चलेन।

उनीहरुको कर्तुत समातियो। यसका बाबजुद उनीहरु केही कम्पनीसँग सम्झौता फाइनल गर्न सफल भए। सम्झौता थियो– उनीहरुले त्यस कम्पनीको कम्प्युटरमा केही समस्या पत्ता लगाउन सके, निःशुल्क कम्प्युटर प्रयोग गर्न पाउने।

बिल र पलको सहकार्यले हाइस्कुल पछिको समयमा पनि निरन्तरता पायो। उनीहरु हनिवेल नामक सफ्टवेयर कम्पनीमा प्रोग्रामरका रुपमा आबद्ध भए। सन् १९७५ मा भने दुवैले माइक्रोसफ्ट कम्पनी दर्ता गर्न सफल भए। माइक्रोसफ्ट अहिले ट्रिलियन डलर कम्पनी बन्न पुगेको छ। यी दुईबीच स्थापित मित्रताले मात्र यो सब सम्भव भएको हो। बिल गेट्स पल नभएको भए पर्सनल कम्प्युटरको अस्तित्व नरहनेमा पक्का छन्, अझै पनि।

ल्यारी पेज र सर्गेई ब्रिनः
यी दुईको भेट स्टानफोर्ड विश्वविद्यालयमा थियो। दुवै कम्प्युटर विज्ञानमा पिएचडी गर्न भर्ना भएका थिए। सर्गेई ब्रिन पिएचडी थेसिस प्रोजेक्टको लागि उपयुक्त शीर्षकको खोजीमा थिए। यसै क्रममा ल्यारी पेजको प्रोजेक्टले आकर्षित ग-यो। अनि दुवै मिलेर प्रोजेक्टमा काम गरे। अन्ततः ‘दि एनाटोमी अफ अ लार्ज स्केल हाइपरटेक्सटुअल वेब सर्च इन्जिन’ शीर्षकमा संयुक्त रिसर्च पेपर छपाए। यही प्रोजेक्ट पछि गुगल कम्पनी बन्न गयो। गुगल अहिले विश्वको सबैभन्दा शक्तिशाली ब्रान्डको रुपमा स्थापित छ। यो सबै दुईबीच स्थापित मित्रताले सम्भव भएको हो।

हामी पनि यिनै सफल व्यक्तिले जस्तै मित्रता गाँस्न तत्पर हुन्छौँ र तापनि उपयुक्त साथी भेट्न सकिरहेका हुँदैनौँ। किन ?

साथी नहुनुको कारण
साथीको अभाव हुनुमा कसैको दोष हुनै सक्दैन। आफ्नै व्यक्तिगत कारणले त्यस्तो भएको हुनसक्छ। कारण एक, सामूहिकीकरणमा सहभागी नहुनु। हामी समाजमा रहे पनि समाजसँग घुलमिल हुन सक्दैनौँ। आफ्नै सुरक्षाको घेराभित्र रमाउँछौँ। त्यो घेराबाहिर आउन चाहँदैनौँ। टेलिभिजन र इन्टरनेट चलाएरै सारा दिन व्यतीत गर्छौं। यस्तो दैनिकीमा समय व्यतीत गर्ने मानिसका पर्याप्त साथी हुन सक्दैनन्।

कारण दुई, पर्याप्त समय र ऊर्जा लगानी नगर्नु। हामी अधिकांश जागिरे हुनसक्छौँ, घरदेखि कार्यक्षेत्र र कार्यक्षेत्रदेखि घर गर्नमै व्यस्त भइन्छ। कामका अलावा अरु कुरा सोच्ने फुर्सदै हुँदैन। साथीका लागि अतिरिक्त समय र ऊर्जा छुट्याउनै सकिँदैन। जसका कारण जीवनभर असल साथीको अभावमा बाँच्नुपर्ने हुन्छ।

कारण तीन, साथी बनाउने अवसर खेर फाल्नु। विभिन्न समय र परिस्थितिमा विविध धर्म, समाज, संस्कृति र वातावरणमा हुर्केका मानिससँग भेट हुन्छ नै। उनीहरुमा बेग्लै किसिमको व्यक्तित्व, आदर्श र विश्वास प्रणाली हुन सक्छ। यति मात्र होइन, फरक वास्तविकताको मोडेलमा बाँचेका हुन्छन्। यस्ता मानिस भेट्नु भनेको साथी बनाउने अवसर उपलब्ध हुनु हो। यस्तोमा सकारात्मक नभई आलोचनात्मक तथा प्रतिक्रियात्मक भइयो भने, खुला हृदयको हुन सकिएन भने साथी बनाउने उपलब्ध अवसर पनि सदुपयोग हुन सक्दैन। यसको अर्थ हो, साथीको अभाव सिर्जना हुनु।

कारण चार, लजालु स्वभाव र आत्मविश्वासी नहुनु। जो व्यक्तिमा लजालुपन अत्यधिक हुन्छ, जो व्यक्तिमा आत्मविश्वासको कमी छ, उसले आफूलाई अरुसामू सशक्त रुपमा उभ्याउन सक्दैन। उसलाई अरुको उपस्थितिमा आफ्नो सोच, आदर्श, अभिप्रायलगायत वास्तविक व्यक्तित्व प्रस्तुत गर्ने हिम्मत हुँदैन। छोटकरीमा भन्नु पर्दा आफ्नो सच्चाई उजागर गर्न सक्दैन। वास्तविक व्यक्तित्व र सच्चाई थाहै नहुने व्यक्तिसँग कोही पनि साथी बन्न इच्छुक हुँदैन। मित्रता बढाउने कार्यमा आकर्षित हुनु त झन् टाढाको कुरा। परिणामस्वरूप असल साथीको अभाव सिर्जना हुन्छ।

साथी बनाउने रणनीति
एउटा असल साथीको साथले जीवनमा कति धेरै फरक पार्छ, विश्वलाई कसरी नेतृत्व दिन सकिन्छ र समग्रमा जीवन कसरी अर्थपूर्ण एवं भरिपूर्ण हुन सक्छ, त्यसबारे हामी प्रस्ट छौँ। त्यसैगरी असल साथी पाउन निकै मुस्किल छ भन्नेमा पनि उत्तिकै प्रस्ट हुनु जरुरी छ। आजदेखि म तपाईंको उत्कृष्ट साथी ! यो कसैले भन्नेवाला छैन। मित्रता कसैले भन्दैमा गाँसिने पनि त होइन ! कोही पनि व्यक्ति पहिलो भेटलगत्तै साथी हुन सक्दैन। घनिष्ट हुने त झन् सम्भावना नै रहेन। साथी यसै हुने विषय होइन, साथी त बनाउने विषय हो र यसका लागि निम्न रणनीति अवलम्बन गर्न सकिन्छ।

(क) उच्च गुणवत्तमा जोड दिनेः साथी छनोट प्रक्रिया अथवा साथी बनाउने मामिलामा संख्या भन्दा गुणवत्तामा ध्यान दिनु उपयुक्त रहन्छ। कारण ? जीवनमा सयौँ साथीको आवश्यकता पर्दैन। औंलामा गन्न सकिने सीमित साथी नै पर्याप्त हुन्छ। सयौँ साथी रहेको अवस्थामा सबैलाई समान समय दिन सकिँदैन। सबैसँग उत्तिकै महत्वसाथ समय व्यतीत गर्नेका लागि पर्याप्त ऊर्जा पनि त रहँदैन। जसकारण कसैसँग पनि मित्रता गहिरो गरी स्थापित हुँदैन। कोही सामाजिक सञ्जालको प्रयोगमार्फत साथीको संख्या बढाउने कार्यमा क्रियाशील रहन्छन्, जुन प्रभावकारी रणनीति होइन। फेसबुकमा सयौँ मानिससँग जोडिनु, इन्स्टाग्राम र ट्वीटरमा हजारौँ फलोअर्स अर्थात् अनुयायीहरु हुनु राम्रो हो तर त्यसैलाई साथी बनाउने प्रक्रियाको ठूलो उपलब्धि ठान्नु भने मुर्खता हो। यसबाट केही अभिमान सन्तुष्टि मात्र प्राप्त हुन्छ। गहिरो मित्रवत् व्यवहार र सम्बन्धको अनुभूति हुँदैन। सामाजिक सञ्जालमार्फत जोडिन आउने केवल प्रशंसक र आलोचकमध्ये एक हुन सक्छन्। यद्यपि असल साथी भने हुन सक्दैनन्। त्यसैले संख्यामा भन्दा गुणवत्ता साथी बनाउने प्रक्रियामा केन्द्रित हुनोस्। यहाँ गुणवत्ता साथी भन्नाले यस्तो साथी, जोसँग खुलेर अन्तरक्रिया गर्न सकिन्छ, जोसँग साथ र सहयोग आदानप्रदान सम्भव छ, जोसँग मूल्य र मान्यता मिल्छ, जो सँगसँगै व्यक्तित्व विकास गर्न सकिन्छ, जसले निरन्तर प्रयास र चुनौती मोल्न प्रेरित गर्छ भन्ने बुझिन्छ।

(ख) अधिक समय र उर्जाको लगानी गर्नेः कहिलेकाहीँ सामाजिक सञ्जालमा संवाद गरेकै भरमा, आक्कलझुक्कल कफी भेट गर्दैमा, जन्मदिनमा फेसबुकको भित्तामा शुभकामनाका प्रेरक फोटो र शब्द पोस्ट गर्दैमा, महिनाको एकपटक सन्देश आदानप्रदान गर्दैमा कोही पनि व्यक्ति साथी बन्न सक्दैन। मित्रता गाँस्न, भावनात्मक सम्बन्ध मजबुत बनाउन समय र ऊर्जा बढी नै लगानी गर्नुपर्ने हुन्छ। अरुलाई अधिक समय र ऊर्जा दिनु भनेको उसलाई सम्मान दिनुसरह हो। जब व्यक्तिलाई अधिक समय र ऊर्जा दिइन्छ, उसबाट पनि सोही स्तरको समय र ऊर्जा अपेक्षा राख्न सकिन्छ। दुई व्यक्तिबीच अधिक समय र ऊर्जा लगानी भएको अवस्थामा रोचक अन्तरक्रिया हुने, एकले अर्कालाई बुझ्ने, एकले अर्कालाई सहयोग गर्ने साथै एकअर्काबाट नयाँ–नयाँ कुरा सिक्ने वातावरण सिर्जना हुन्छ। परिणामस्वरूप दुई व्यक्तिबीच घनिष्ठता बढ्दै जान्छ। भनाइको तात्पर्य, दुईजना असल साथी बन्न पुग्छन्। त्यसैले कसैलाई असल साथी बनाउन चाहनुहुन्छ भने अधिक समय र ऊर्जा लगानी गर्नोस्।

(ग) सामूहिकीकरणमा सक्रिय रहनेः घरभित्र साथी बनाउने अवसर प्राप्त हुँदैन। साथी बनाउने अवसर त समाजमा उपलब्ध हुन्छ। त्यसैले घरबाहिर निक्लने हिम्मत गर्नोस्। आफ्नो सुरक्षा घेरा तोड्न ढिलाइ नगर्नोस्। समाजबारे परिचित हुनोस्। समूहमा रमाउने अथवा सामूहिकीकरणका लागि भरपूर कोसिस गर्नोस्। सामूहिकीकरणका लागि नयाँ व्यक्तिसँग भेट गर्ने, नयाँ क्लब, समूह तथा संस्थामा आबद्ध हुन सकिन्छ। यसो गर्नाले विविध विश्वास प्रणाली र आदर्श रहेका मानिस भेट्ने सिलसिला निरन्तर जारी रहन्छ। जसकारण खुला मस्तिष्क विकासका लागि सहयोग मिल्छ। अत्यधिक आलोचनात्मक र प्रतिक्रियात्मक टिप्पणी दिने बानी हट्दै जान्छ। यस अतिरिक्त लजालुपन हट्दै जानुका साथै आत्मविश्वासको पनि स्तर बढ्दै जान्छ। अरुसामू आफ्नो वास्तविक व्यक्तित्व प्रस्तुत गर्न असहज महसुस हुँदैन। यसकारण अरु व्यक्ति मित्रताको लागि आकर्षित हुन्छन्। यसर्थ आफ्नो रोजाइको साथी बनाउन सामूहिकीकरणमा सक्रिय रहनोस्।

Leave A Comment