दोहोरीमा हेपाहा प्रवृत्ति धेरै

सोमबार, २८ पुष २०७६, ११ : ३२ शुक्रवार
दोहोरीमा हेपाहा प्रवृत्ति धेरै

रोधिघरमा सानै उमेरदेखि काम गरिरहेका दोहोरी गायक हुन्, बाबुराम भट्टराई। उनले केही गीत बजारमा ल्याएका छन्। पाँचवटा दोहोरीसाँझमा गीत गाइसकेका बाबुरामले भोला अधिकारीसँग गरेको रात्रिकालीन कुराकानी :

कति भयो दोहोरीमा गाउन थालेको ?
पाँच वर्ष जति भयो।

कहाँबाट गाउन सुरु गर्नुभयो ?
कोटेश्वरबाट सुरु गरेको हुँ। त्यहाँ रहेको दोहोरीमा गाउन थालेँ। तर मैले काम गरेको छ महिनासम्म एक पैसा पनि पाइनँ। न टिप्स पाएँ न तलब नै। विनापारिश्रमिक मैले गीत गाएँ। जति गीत गाए पनि मैले केही नपाएपछि त्यहाँबाट आफैँ निस्किएँ।

अहिलेसम्म कतिवटा दोहोरीसाँझमा गीत गाउनुभयो ?
पाँचवटाभन्दा बढी दोहोरीसाँझमा काम गरिसकेँ। तीमध्ये सप्तरंगी, तीनपानेलगायतका रोधिघरमा गीत गाएको छु। 

मान्छे त सानै देखिनुहुन्छ ? कति वर्षको उमेरदेखि गाउन थाल्नुभएको हो ?
 १६, १७ बाट नै गाउन थालेको हुँ। गाउँघरतिर दोहोरी बढी चल्ने भएका कारण ममा पनि त्यो रस पस्यो। बिस्तारै दोहोरीसाँझमै गाउन सिक्छु भन्ने भयो र  यतातिर लागेँ।

हेपाइ खाइयो कि खाइएन ?
सानो भनेर मैले जति हेपाइ कसले खायो होला र ? मैले साथीभाइबाट धेरै हेपाइ खाएको छु। अहिले कोही उच्च तहमा छन्, कोही ठिक्कको तहमा छन्। त्यो बेलामा गाउन जानिनस् भनेर निकाल्ने प्रोसेस पनि चल्यो। के–के भो भो भनी साध्य छैन। आफूले सिक्नु थियो उनीहरुको हेपाहा प्रवृत्ति सहेर भए पनि काम गरिरहेँ।

मैले दोहोरीमा गाउँछु भन्दा कतै काम पाइनँ। काम नपाएपछि एकजना राजु महर्जन फिल्ममा भिलेनको रोल खेल्नुहुन्छ। उहाँलाई मैले भनसुन गरेर पहिलोपटक सप्तरंगी दोहोरीसाँझको स्टेज चढेको हुँ।

दोहोरो फर्काउन जानियो त ?
सुरुमा जानिएन नि। मलाई सिक्न नै छ महिना लाग्यो। सिक्दै गरेको कारण नै होला मलाई एक पैसा पनि नदिएको। अहिले त फिलीली आउँछ।

रोधिघरमा कस्ता खालका गीत गाउनुपर्छ ?
जस्तो पनि गाउनुपर्छ। छाडा पनि गाइन्छ, सभ्य पनि गाइन्छ। सबै खाले गीत गाइन्छ। यही भन्ने छैन। अहिले पनि छाडा गीत नै चलिरहेका छन्। म स्वयम् गाइरहेको हुन्छु। अरुलाई दोष दिने कुरै भएन।

केटाले पहिला कुरा झिक्छन् कि केटीले ?
छाडा कुरा उस्तै हो। केटाले सुर गरेपछि केटीले के छोड्थे र। हामीले सपार्दै गए पनि मायाको कुरा बढी आउँछ। पहिला पनि यस्तै आउँथे अहिले पनि उस्तै आएको छ।

सेक्सका कुरा पनि हुन्छ र ?
हुन्छन् नि ? माया नन स्टप चाहिन्छ भन्ने गर्छन्। गीतका शब्दले दुई थरिको अर्थ बोकेको हुन्छ। दोहोरीमा यस्तो शब्दले सेक्स कै कुरा बुझाउँछ। कुन माया धेरै चाहिन्छ भन्ने कुरा आफूले बुझ्नुपर्छ।

लेडिजहरुलाई त अप्ठ्यारो लाग्नुपर्ने होइन र ?
दोहोरीमा अप्ठ्यारो भन्ने नै हुँदैन। भाका हालेर गाएपछि सबैलाई मज्जा आउँछ। कसरी हुन्छ गेष्टलाई रमाइलो गराइदिने हो।

भनेपछि कसैले घुम्न जाऊँ भन्यो भने पनि जान्छन् होला हैन ?
गएको देखेको छु।  गेष्टहरुसँगै बसेर खाने, कुरा गर्ने बिस्तारै उनीहरुले प्रोसेस त चालिहाल्छन् नि। कोही किस खाइरहेका हुन्छन्।

कलाकार कि गेष्टहरु
कलाकार पनि गेष्टले ल्याएका अरु पनि।  सबै कुरा भन्न कसरी सक्छु र ? मिलाएर बुझ्नु न। 

झगडा पनि त पर्छ होला ?
केटीको निहुँमा झगडा त परेको थाहा छैन। तर गेष्टहरुबीच झगडा परेर पुलिस बोलाउनु परेको भने थाहा छ। भट्टीमा झगडा पर्नु त सामान्य भइहाल्यो नि।

आफूले कुटाइ खाइयो कि खाइएको छैन ?
मेरो सिक्ने क्रम जारी रहेको थियो। कोटेश्वरको एउटा चेपमा सप्तरंगी दोहोरीसाँझ थियो। मैले यहीँबाट दोहोरीसाँझमा गीत गाउन थालेको हुँ। त्यहाँ एउटा गीत अफर गर्दा रहेछन्। मैले भर्खर उद्घोषण सिकिरहेको थिए। त्यो बेलामा गेष्टले गीत अफर गरेका रहेछन्। मैले सुनिन र गाउनका लागि कसैलाई पनि भनिनँ। नभनेपछि गेष्टलगायत दोहोरीसाँझमा रणसंग्राम भइहाल्यो। म त  सानो मान्छे हत्त न पत्त निस्केर ड्रेस चेन्जिङ रुममा लुकेँ। अरु उद्घोषक दाइहरुले के–के भनेर मिलाउनु भयो त्यो दिनदेखि त्यो दोहोरीमा गाउन भनेर नै गइनँ।

त्यसपछि थसिखेल ललितपुरमा रहेको दाइहरुको तीनपाने दोहोरीसाँझ थियो। त्यहाँ पनि मैले काम गर्दा त्यस्तै लफडा भयो। चिनेको दाइहरुबीच नै हानाहान भयो। मलाई त लागेन तर पुलिस नै बोलाउनुपरेको थियो।

ठमेलतिर गइएन ?
ठमेल त प्रायः म गइरहेको हुन्छु। नगरकोट दोहोरीसाँझ, ठमेलमा गएको छु। अर्को दरबारमार्गमा रहेका केही र भर्खरै फाइभ स्टार दोहोरीसाँझ खुलेको छ। त्यसमा पनि गएको छु।

डान्सबार गइयो कि गइएन ?
काठमाडाैंमा गएको छैन। ललितपुरमा समय मिलाएर साथीभाइसँग गएको छु। काम नै गर्न भनेर गएको भने छैन।

Leave A Comment