नाटक दृष्टि : समाज चिहाउने नाटक

सोमबार, २८ पुष २०७६, ०१ : १२ प्रजु पन्त
नाटक दृष्टि : समाज चिहाउने नाटक

रुसी नाटकका नेपाली दर्शक कम छैनन्। यही बुझेर होला नेपालमा प्रायः रुसी नाटक मञ्चन भइरहन्छन्। यस्ता नाटकलाई दर्शकले मज्जैले साथ दिएका पनि छन्। सोमबार शैली थिएटर रातोपुलमा एन्टोन चेखभको ‘द म्यारिज प्रपोजल’ मञ्चन भइरहँदा कम प्रचारका बाबजुद पनि दर्शक उपस्थिति राम्रै थियो।

चेखभले सन् १८८८ मा  रुसी भाषामा लेखेको यो नाटक सन् १८९० मा मञ्चित भएर दर्शकबाट वाहवाही बटुलिसकेको हो। १ सय ३० वर्षअघिको रुसी समाजमाथि कटाक्ष गरिएको यस नाटकको विषयवस्तु यतिबेला नेपाली समाजसँग हुबहु मिल्छ। सायद नाटकका निर्देशक नवराज बुढाथोकीले यही सान्दर्भिकतालाई महसुस गर्दै यसलाई मञ्चनमा जोड दिएको हुनुपर्छ।

छोरीको विवाह जसरी पनि गर्नुपर्छ भन्ने मनस्थितिमा रहेको बाबु, छोरीको विवाह नहुँदा छोरीका बुबालाई होच्याउने समाजको प्रवृत्ति, केटा र केटीको व्यक्तिगत ‘इगो’जस्ता समस्यामार्फत् समाजको प्रवृत्तिलाई यस नाटकमा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।

नाटकमा मञ्चको व्यवस्थापन लोभलाग्दो छ। त्यतिबेलाको रुसी समाज देखाउन धेरै मिहिनेत गरिएको छ। कोठाको सजावट, चित्रकला, एक्वेरियम, सोफा, भुईं, मास्क, मेकअपको सामान राख्ने तरिका, कलाकारको ड्रेसअपमा निर्देशकले निकै मिहिनेत गरेको देखिन्छ।

नाटकमा सुवास सुवेदी (स्टिपान स्टेपानोभिच चुबुकोभ), स्नेहा पौडेल (नटलिया स्टेपोभ्ना), सशांक बोहरा (इभान भ्यासिलियिच् लोमोभ) को प्रमुख भूमिका छ भने देवेन्द्र बब्लु, भारती रिजाल, विशाल घिमिरे, दिप्ति पौडेल, निर्भिक भट्टराई, रुपक काफ्ले, सदिन लुइँटेल, सन्तोष बराइली र रविन तामाङले पनि अभिनय गरेका छन्।

नाटकका प्रमुख पात्र ७० वर्षे चुबुकोभ एक किसान हुन्। उनकी २५ वर्षीया छोरी नटलिया विवाहयोग्य भइसके पनि यतिञ्जेल गतिलो ज्वाइँ फेला पार्न सकेका छैनन्। छोरीको बढ्दो उमेरका कारण चुबुकोभका विवाहित साथीहरुले समेत मैसँग गरिदिने हो त भनी होच्याउँछन् पनि।

यिनै चुबुकोभका ३० वर्षे छिमेकी लोमोभ नटलियाप्रति आकर्षित छन् तर यो कुरा भन्न डराइरहेका छन्। एक दिन लोमोभले बूढा चुबुकोभलाई नटलियाप्रति आफू आकर्षित भएको र विवाह गर्न चाहेको बताउँछन्।

जब चुबुकोभ पनि यी दुई जनाको औपचारिक कुराकानी होस् भन्ने चाहन्छन्, दुई फरक घटनामा लोमोभ र नटलियाबीच विवाद चर्किन्छ र विवाहको सम्भावना नै तुहिन्छ। कतिसम्म भने उनीहरुबीचको झगडा मिलाउन चुबुकोभ नै उपस्थित हुनुपर्छ।

पटक–पटकको विवाद र भाँडिएको विवाह प्रस्तावपछि अन्ततः बूढो चुबुकोभले दुवैबीच सुलह गराउँदै विवाहका लागि राजी गराउँछन्।

‘आहाहाहा.. मेरो काँधको बोझ हट्यो, मैले एउटा बाबुको कर्तव्य पूरा गर्दैछु,’ छोरीको विवाहको हुने भएपछि सन्तोषको श्वास लिँदै भन्छन्। छोरीको विवाह गर्न नपाएर छटपटाएका बाबु र छोरीको विवाह हुने भएपछि बोझ हटेको सम्झने बाबुको यस्ता दृश्य र संवाद सुन्दा हाम्रै वरपरको समाजको झल्को आउँछ। छोरीको बाबु हुनुको ‘पीडा’ विश्वभर एकै रहेछ भन्ने दर्शकलाई महसुस गराउँछ। सवा एक सय वर्षअघिको रुसी समाज र अहिलेको नेपाली समाज एकै रहेछ भन्ने लाग्छ।

नाटकमा समाजले बूढो बाबु र उसकी एक्ली छोरीप्रति राख्ने धारणा, दुई युवायुवतीबीच बरोबर आइरहने दरार, दुई युवा बीचको घमण्ड र ‘इगो’लाई निकै मज्जाले प्रस्तुत गरिएको छ।

नाटकको सबैभन्दा दमदार यसमा अभिनय गर्ने कलाकारहरुको नै छ। स्नेहा, सशांक र सुबासको अभिनयमा खोट लगाउने ठाउँ छैन।

त्यस्तै मञ्चको व्यवस्थापनमा खोट लगाउने ठाउँ नहुँदा नहुँदै सविन न्यौपानेको अनुवाद दाँतमा ढुंगा लाग्ने किसिमको छ।

नाटकको ‘ट्रान्सफर्म’ भएको तर ‘एक्सप्रेसन’ सहितको अनुवाद नभएको अनुभूति दर्शकलाई हुन्छ। बोलीचालीमा खासै प्रयोग नहुने शब्दहरु जस्तैः उत्तेजित हुनु, अनुमति माग्नु, आग्रह गर्नु, बहस नगर्नु, माफ गर जस्ता शब्दको प्रयोगले संवाद अदायगीमा ढुंगा लागेजस्तो महसुस हुन्छ।
काठमाडौँमा पुस १८ गतेदेखि मञ्चन भइरहेको यो नाटक आउँदो माघ १० गतेसम्म मञ्चित हुनेछ।

Leave A Comment