टुनामुना, बोक्सी अपराध हो है

सोमबार, २८ पुष २०७६, ०१ : २१ स्वीकृति बराल
टुनामुना, बोक्सी अपराध हो है

हाम्रो घरको छेउमा बस्ने एकजना आमालाई केही दिनअगाडि बोक्सीको आरोप लगाएर केही व्यक्तिले शारीरिक र मानसिक यातना दिए। ती आमा रोइन् तर आफ्नो मानसम्मानका लागि अरु केही गरिनन्। यस्तो घटना घटे पीडितले के गर्नु पर्छ र कस्तो उपचार पाउँछन् ?

आजको युगमा अन्धविश्वासको पछि लागेर कसैलाई पनि बोक्सीको संज्ञा दिएर अनावश्यक रुपमा शारीरिक र मानसिक तनाव दिनु र हुँदै नभएको आरोप लगाउनु गैर कानुनी काम हो। यो मानवताविरोधी अपराधसमेत हो।  

हरेक व्यक्तिलाई मान सम्मानका साथ बाँच्ने अधिकार कानुनले दिएको छ। कसैको मानसम्मानमा चोट पुगेको छ भने कानुन सधैँ पीडितको पक्षमा उभिन्छ। त्यसैले बोक्सीसम्बन्धी कुसंस्कार अझै जारी नै रहेकाले नेपालमा यसको रोकथामका लागि विशेष कानुनै बनाइएको छ। बोक्सीको आरोप (कसुर र सजाय) ऐन,२०७२ ले यसलाई निरुत्साहित गर्न विशेष कानुनी उपचारको व्यवस्था गरेको छ।

तर कानुन सक्रिय गराउन पीडित व्यक्ति वा यस्तो अमानवीय अपराध भएको जानकारी पाउने व्यक्ति सक्रिय हुन आवश्यक छ। कानुनी उपचारका लागि व्यक्ति सक्रिय हुनै पर्छ। कानुन आफैं सक्रिय हुँदैन।

त्यसैले यस्तो अमानवीय घटनामा संलग्नलाई कानुनी रुपमा दण्ड दिन कतै बोक्सीको आरोपसम्बन्धी कसुर भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले सो कुराको विवरण खुलाई प्रहरीमा सकेसम्म छिट्टै लिखित जाहेरी दरखास्त वा मौखिक सूचना दिनुपर्छ।

सूचना प्राप्त गर्नासाथ २४ घण्टाभित्र प्रहरीले पीडकलाई झिकाई वा पक्राउ गरी प्रचलित कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने कानुनी प्रावधान छ।

ऐनमा कसैले कसैलाई बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा गाली बेइजती गर्ने, बोक्सीको आरोप लागेको व्यक्तिको परिवारको कुनै सदस्यप्रति अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा सामाजिक बहिष्कार गर्ने वा बसोबास गरेको ठाउँबाट निकाला गर्ने गर्नु दण्डनीय अपराध हो।

धामी झाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै अन्य कुनै माध्यमद्वारा बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, नग्न पारी वा नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा कसैको सम्पत्ति तोडफोड, हिनामिना वा हानि नोक्सानी गर्ने गरे वा गराएमा त्यस्तो व्यक्ति कानुनी नजरमा अपराधी हो र सजायको भागीदार हुन्छ।

बोक्सीको आरोपसम्बन्धी कसुर मानिने कुनै कार्य कुनै घर, जग्गा वा स्थानमा भएको, भइरहेको वा हुन लागेको जानकारी पाई तुरुन्त कारबाही नगरेमा कसुरदार भाग्ने, उम्कने वा त्यस्तो कसुरसँग सम्बन्धित कुनै प्रमाण लोप हुने सम्भावना देखिएमा कम्तीमा प्रहरी सहायक निरीक्षक दर्जाको प्रहरी कर्मचारीले पर्चा खडा गरी जुनसुकै बेला त्यस्तो घर, जग्गा वा स्थानमा प्रवेश गर्न, खानतलासी लिन वा आफ्नो कब्जामा राख्न वा त्यस्तो कार्य गर्न लाग्दा कसैले बाधाविरोध गरेमा आवश्यकतानुसार पक्राउपुर्जी नभए पनि गिरफ्तार गर्न वा त्यस्तो व्यक्तिको खानतलासी लिन सक्ने कानुनी प्रावधान छ।

अदालतले यस ऐनबमोजिम मुद्दाको फैसला गर्दा बोक्सीको आरोपसम्बन्धी कसुरको प्रकृति, मात्रा, पीडितलाई पुगेको पीडा र पीडकको आर्थिक हैसियत समेतलाई विचार गरी पीडकबाट मनासिव क्षतिपूर्ति भराई दिन्छ।

पीडकको आर्थिक अवस्था कमजोर भएमा अदालतले उपयुक्त ठहराएको रकम स्थानीय तहले व्यहोर्नु पर्छ। क्षतिपूर्तिको रकम ६० दिनभित्र पीडितलाई उपलब्ध गराउनु पर्छ। क्षतिपूर्तिको रकम लिन नपाउँदै पीडितको मृत्यु भएमा त्यस्तो रकम निजको नाबालक छोरा, छोरी, त्यस्ता छोरा, छोरी नभएमा पति, पत्नी र निजहरु पनि नभएमा निजका आश्रित बाबु आमाले पाउने कानुनी प्रावधान छ।

Leave A Comment