औंला निलो हुँदा तनाव

बुधबार, ०१ माघ २०७६, ०२ : ०० शुक्रवार
औंला निलो हुँदा तनाव

डा. अन्जल बिस्ट, बाथरोग विशेषज्ञ, वीर अस्पताल

कतिपय व्यक्तिमा जाडो मौसममा हात–खुट्टाका औंलाको टुप्पा निलो हुने समस्या हुन सक्छ। बाथरोगका कारण पनि यस्तो समस्या देखिन सक्छ।

हात–खुट्टाका औंलामा निलो हुने समस्यालाई चिकित्सकीय भाषामा ‘रेनड्स’ भनिन्छ। रेनड्स हात–खुट्टाका औंलाको टुप्पा, नाकको टुप्पो, ओठ, कान, जिब्रोजस्ता अंगमा निलो हुने समस्या हो। नाक, कान र जिब्रोमा भने यस्तो समस्या कमै हुन्छ।

समस्या बढ्दै गए औंलामा घाउ हुन्छ। घाउ पाकेर जटिलता निम्तन सक्छ। रक्तप्रवाहकै समस्याका कारण घाउ हुने भएकाले उपचार गर्दासमेत घाउ ठिक हुन समय लाग्छ। त्यति मात्रै हैन ठिक हुनै मुस्किल पर्छ।

बाथ रोगको कारण औंला निलो भएको अवस्थामा भने हात–खुट्टाका जोर्नी दुख्ने, सुन्निने किसिमका बाथरोगकै जस्ता लक्षण देखिन्छन्। यस्तो अवस्थामा व्यक्तिको दैनिक क्रियाकलाप तथा हिँडडुलमा असर पर्छ।

यसरी हुन्छ,निलो
रेनड्सका भएका व्यक्तिमा चिसोका कारण शरीरका रक्तनली खुम्चने तथा साँघुरिँने भएकाले रक्तप्रवाहमा असर पुगी निलो हुने समस्या उत्पन्न हुन सक्छ। त्यो मात्र नभई शारीरिक तथा मानसिक तनावका कारणसमेत रक्तनली साँघुरिन गई रक्तप्रवाहमा अवरोध आई असहजता भएको अवस्थाको पहिलो चरणमा हात–खुट्टाकोे औंलाको टुप्पामा सेतो हुन्छ। सेतो भइसकेपछि पनि रक्तप्रवाहमा अवरोध भइरहे दोस्रो चरणमा निलो हुन पुग्छ। तर रक्तप्रवाह पुनः सहज भएको अवस्थामा पहिलो र दोस्रो चरणमा औंलामा भएको सेतो र निलो भएको समस्या परिवर्तन भई रातो हुन्छ। जुन सामान्य अवस्था हो, यस्तो अवस्थामा डराउनु पर्दैन। हात–खुट्टाका औंलाको टुप्पामा प्राइमरी र सेकेण्डरी रेनड्स गरी दुई कारणले निलो हुन्छ।

प्राइमरी रेनड्स
कुनै रोग विशेषको कारणविना हात–खुट्टाको औंलाको टुप्पामा सेता–निला देखिने समस्यालाई चिकित्सकीय भाषामा प्राइमरी रेनड्स भनिन्छ। प्राइमरी प्रकारको रेनड्सका कारण हुने समस्यामा कुनै पनि किसिमका रोगको लक्षण देखिँदैन। लामो समय यस्तो समस्या रहेको अवस्थामा समेत निलो भएको अंगमा घाउ हुने जोखिम हुन्न। प्राइमरी प्रकारको लक्षणमा विशेषगरी दुवै हातका औंलाको टुप्पामा एकनासले निलो हुने समस्या हुन्छ। यस किसिमको समस्याले शारीरिक जटिलता निम्तिने जोखिम कमै हुन्छ। प्राइमरी रेनड्ले खास नकारात्मक असर नगर्ने भए पनि अन्य व्यक्तिको तुलनामा मुटुरोगको समस्या बढी हुने तथ्य पाइन्छ।  

प्राइमरी रेनड्स प्रायः २० देखि ३० वर्ष उमेर समूहका महिलामा बढी देखिन्छ। त्यसैले यो उमेर समूहका महिला यस्तो समस्या हुनबाट बच्नका लागि सचेत हुन आवश्यक छ। सामान्यतः प्राइमरी किसिमको लक्षण पुरुषको तुलनामा महिलामा बढी देखिन्छ। अध्ययन अनुसार लक्षण देखिनेमध्ये करिव १२ प्रतिशत महिलामा र ८ प्रतिशत पुरुषमा औंलाको टुप्पोमा प्राइमरी किसिमको निलो हुने समस्या पाइन्छ।  

सेकेन्डरी रेनड्स
कुनै रोग विशेषका कारण हात–खुट्टाको औंलाको टुप्पामा निलो हुने समस्यालाई चिकित्सकीय दृष्टिकोणमा सेकेण्डरी रेनड्स भनिन्छ। विभिन्न किसिमका सेकेण्डरी समस्याका कारण औंलामा निलो हुन सक्छ। सेकेण्डरी रेनड्समा रोगका कारण हात–खुट्टाको औंलामा निलो हुने सम्भावना हुन्छ।

विशेषगरी बाथ रोगको समस्या भएको अवस्थामा औंलाको टुप्पामा सेतो–निलो हुन सक्छ। बाथरोगअन्तर्गतको ‘सिस्टेमिक स्क्लेरोसिस’ र ‘एमसीटिडी’ समस्याका कारण सेकेण्डरी रेनड्स बढी देखिन्छ। ‘सिस्टेमिक स्क्लेरोसिस’भएका ९० प्रतिशत बढी बिरामीमा औंला निलो भएको पाइन्छ।  

नियमितरुपमा कम्पन पैदा हुने किसिमका मेसिन हातले चलाउँदासमेत हातका औंलाको टुप्पामा यस्तो समस्याको जोखिम हुन्छ। मेसिनको कम्पनका कारण हातका औंलामा यस्तो असर देखिन सक्छ।

आर्सेनिक, लिडजस्ता तत्वको कारण पनि औंला निलो भएको पाइन्छ। तर यस्तो कमै हुन्छ। रगतसम्बन्धी कुनै किसिमका खराब रोग लागेको अवस्थामा औंलाका टुप्पा निलो हुन सक्छन्। भाइरस इन्फेक्सनका कारण पनि यस्तो समस्या हुन सक्छ। ‘हेपाटाइटिस–बी’ र ‘सी’को समस्या भएको अवस्थामा औंलाको टुप्पामा निलो हुन सक्छ। तर यस्तो समस्याको कारण भने निलो हुने सम्भावना कमै हुन्छ।

लक्षण हेरी उपचार
प्राइमरी अवस्थामा स्वास्थ्यमा गम्भीर किसिमको असर हुन्न। प्राइमरीको तुलनामा सेकेण्डरी किसिमका लक्षण देखिए जोखिम बढी हुन्छ। करिब ३० प्रतिशतमा प्राइमरी कारणले समस्या देखिन्छ। बाँकी ७० प्रतिशतमा सेकेण्डरी कारणले औंला निलो हुने समस्या हुन्छ।

प्राइमरी किसिमको समस्याबाट बच्नका लागि चिसोबाट जोगिनुपर्छ। हात–खुट्टाका औंला, मुख, कानजस्ता अंगमा प्राइमरी कारणले निलो हुनबाट बच्नका लागि हातमा पञ्जा, खुट्टामा मोजा र मुखमा माक्स लगाउन आवश्यक हुन्छ। न्यानोमा बस्दा यस्तो समस्याबाट बच्न सकिन्छ। न्यानोमा बस्दासमेत समस्या समाधान नभए चिकित्सकको परामर्शमा उपचार गर्नु आवश्यक हुन्छ। उपचार गरे यस्तो समस्या नियन्त्रण गर्न सकिन्छ।

सेकेण्डरी कारणमा भने विभिन्न रोगको समस्याको कारणले हात–खुट्टाको औंलाजस्ता अंगमा निलो हुने भएकाले निलो हुने रोगको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ। जुन रोगको कारणले यस्तो समस्या भयो त्यही रोगको उपचार गरी समस्या समाधान गर्न सकिन्छ। बाथको समस्याका कारण निलो भएको हो भने बाथको उपचार गरी निलो हुने समस्या नियन्त्रण गर्न सकिन्छ।

रोगको कारणले निलो हुँदा जटिलता निम्तन सक्ने भएकाले सेकेण्डरी समस्यामा निलो भएको भागमा घाउ पाक्न सक्छ। त्यसैले बेलैमा रोगको पहिचान गरी उपचार गरेर घाउ पाक्न दिनु हुन्न। घाउ पाक्दै गए जटिलता निम्तन सक्छ। यसमा सचेत हुन आवश्यक छ। यसरी निलो भएको अवस्थामा हेलचेक्राइँ गर्नु हुन्न। रोगको कारण पत्ता लगाएर बेलैमा उपचार गरे समस्या समाधान गर्न सकिने भएकाले औंला निलो हुने समस्या देखिए स्वास्थ्य जाँच गराइहाल्नु पर्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment