शिवमायाको साहस

शुक्रबार, ०३ माघ २०७६, १२ : ४१ शुक्रवार
शिवमायाको साहस

आफूले चे चाह्यो, त्यही निर्णय कार्यान्वयन गराउँदै आएको सत्ताधारी दल नेकपाका लागि फलामको च्यूरा बनेर देखा परिन्, उपसभामुख शिवमाया तुम्बाहाम्फे। सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको अभियोगमा अनुसन्धानको दायरामा तानिएलगत्तै रिक्त रहेको सभामुख पदमा आफूले चाहेको व्यक्तिलाई ल्याउन नेकपाले राजीनामा दिन दिएको निर्देशनलाई चुनौती दिनु आफैँमा साहसिक कदम हो नै।

सभामुख र उपसभामुख एकै पार्टीको नहुने संवैधानिक व्यवस्थामा टेकेर बिना कुनै विराम उपसभामुख पद त्याग्न आएको निर्देशन आफैँमा अन्यायपूर्ण थियो नै, संसदीय अभ्यासमा गैरराजनीतिक मानिने सभामुख र उपसभामुखलाई केवल पार्टीको मोहरा मात्र बनाउने षड्यन्त्र पनि थियो यो घटना। त्यसको खुला प्रतिवाद गरेर उनले सबै पदका लोभी मात्र हुन्नन् र सबै कायर मात्रै हुन्नन् भन्ने गतिलो सन्देश दिएकी छन्।

सभामुख, उपसभामुख संसदीय पद भए पनि चुनिने दलबाट बनेका उम्मेदवारबाटै हो तर संसदीय गरिमा कायम राख्दै सांसदबीच समन्वय गर्दै विधि र प्रक्रियाअनुसार बिना राजनीतिक भेदभाव सदन चलाउन सभामुख र उपसभामुखको उम्मेदवार बनेलगत्तै पार्टीसँगको औपचारिक सम्बन्ध त्याग्ने गरिन्छ। सोही प्रावधानअनुसार उपसभामुख शिवमायाले पनि नेकपासँगको आबद्धता त्यागेकी छन्, उपसभामुख भएपछि।

तर बद्लिदो दृश्यसँगै पार्टीले उनलाई पार्टीकै सक्रिय कार्यकर्ताझैँ व्यवहार गरेर तत्काल राजीनामा दिन निर्देशन दिनु अनि पार्टीका पाका र अनुभवी नेताहरुले समेत उपसभामुख पदको मानमर्दन हुने गरी सामान्य पार्टी कार्यकर्तालाईझैँ सार्वजनिक मञ्चबाट आदेश दिनु आफैँमा लाजमर्दो दृश्य हो। शिवमायाले उनीहरुलाई चुनौती दिएर उपसभामुख पद भनेको पार्टीबाट मनोनित हुने या चुनिने अन्य पदाधिकारीझैँ चानचुने पद हैन भन्ने गतिलो सन्देश दिएकी छन्। उनको यस साहसलाई मान्नैपर्छ।

शब्दमा एक भए पनि एमाले र माओवादी मिलेर बनेको नेकपामा अहिले पनि पूर्व एमाले र पूर्व माओवादीको समूह सक्रिय नै छ। सरकार पुनर्गठन हुँदा होस् या पार्टीका कुनै पदमा नियुक्त गर्दा त्यो मुखर हुने गरेको छ नै। हिजो माओवादी समूहबाट महरा सभामुख चुनिएको आधारमा अहिले नेकपामा पूर्व माओवादी समूहले सभामुखमा आफ्नै समूहका सदस्य हुनुपर्ने अडान लिइरहेका छन्। यसमा खुलेर लागेका छन्, नेकपा अध्यक्ष पुष्पकमल दाहाल। लामो कसरतपछि उनले नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाए पनि सभामुख चयनको विवादले उनी पूर्व माओवादी कित्ताका मात्र अध्यक्षझैँ देखिए। पूर्व एमालेका नेताहरुले भने पार्टी नै एक भइसकेको अवस्थामा के एमाले के माओवादी गुट भन्ने तर्क गरेर आफ्ना पट्टिका नेतालाई सभामुखको रुपमा अगाडि सार्ने प्रयास गरिरहेका छन्। पूर्व एमालेका नेताहरुको भनाइ माओवादीको तुलनामा अलि दम भएको देखिए पनि त्यसमा राजनीतिक खेल त छ नै।

यसैमाझ देखिएको उपसभामुख शिवमायाको साहसलाई कतिपयले पूर्व माओवादीलाई अड्काउन यस्तो गरिएको भन्ने अड्कल पनि गरिरहेका छन्। शिबमायाले कुनै गुट विशेषको स्वार्थ पूरा गर्न मात्र यस्तो गरिरहेको हो भने उनको व्यवहार पद सुहाउँदो पक्कै देखिने छैन। उनी कुनै गुट विशेषको स्वार्थमा साहसी देखिएकी हुन् या उनी विधि र पद्धतिप्रति प्रतिबद्ध भएरै चट्टानी अडानमा कायम रहेकी हुन्, त्यो केही समयमै प्रस्ट हुने नै छ।

भविष्यमा यो सहसको नतिजा कुनै गुट विशेषको पक्षपोषणका लागि देखाइएको साहस ठहरिए, त्यो दुर्भाग्य हुनेछ। उनको अडान विधि र पद्धतिको पक्षमा रहेको पुष्टि भए उनको यो साहस नेपालको संसदीय इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ। आशा गरौँ, उनको अडान गुटको स्वार्थ भजाउन हैन, संसदीय मर्यादा कायम राख्न विधि र प्रक्रियाकै लागि हो।

Leave A Comment