रावललाई धम्की ? हेप्नी ?

शुक्रबार, ०३ माघ २०७६, ०१ : १० शुक्रवार
रावललाई धम्की ? हेप्नी ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र खरो प्रतिपक्षीको भूमिकामा देखिएका नेता भीम रावलले आफूलाई बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको खुलासा गरे। एक टेलिभिजन कार्यक्रममा बोल्दै एमसिसी सम्झौताको विरोध तथा राष्ट्रहितको पक्षमा बोल्दा आफूलाई बेलायती युवराज्ञी लेडी डायनाको हालतमा पु-याइदिने धम्की आएको बताए। रावलले धम्की दिने व्यक्तिलाई पुष्पलालको मृत्यु, मदन भण्डारीको मृत्यु भए पनि नेपाली धर्तीबाट देशभक्तिका आवाज नमेटिएको स्मरण गराएछन्। रावलले उल्लेख गरको डायनाको प्रसंग प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुक स्टाटसमा भेटिन्छ।

उपप्रधान तथा गृहमन्त्रीको पदीय जिम्मेवारी सम्हालिसकेका रावललाई बालुवाटारबाटै यस्तो धम्की आएको उनैले बताएपछि यसको चर्चा र अड्कलबाजी हुने नै भयो।

सुरक्षा दिने मन्त्रालयकै जिम्मेवारी सम्हालेका नेताले यस्तो अभिव्यक्ति दिनु अवस्य दुखद् पक्ष हो। पूर्वमन्त्रीलाई नै ज्यान मार्ने धम्की दिइन्छ भने सर्वसाधारणको के हालत ! त्यसैले त दिनदहाडै दिलिप महतोजस्तो अभियानकर्मीलाई ट्रकले कुल्चाई मारिन्छ।

फेरि पनि साँच्चै रावललाई यस्तो धम्की दिइएकै हो भने त सोचनीय विषय हो। यस्तो अभिव्यक्तिले कानुनी राज्यमाथिसमेत प्रश्न उब्जिन सक्छ। साँच्चै उनले भनेजस्तै हो भने, कानुनी राज्यको प्रश्न पो बालुवाटरतिर तेर्सिनुपर्ने हो कि !
साँच्ची देशमा कानुनी राज छ त ?

Leave A Comment