लजालुपन कसरी हटाउने?

शुक्रबार, ०३ माघ २०७६, ०१ : ४६ प्रकाश जंग थापा
लजालुपन कसरी हटाउने?

सन् २०११ मा एउटा पाकिस्तानी ट्रेनर (स्रोत व्यक्ति)को ‘संवाद कौशल सेमिनार’मा सहभागी हुने अवसर मिलेको थियो। पाँच तारे होटलमा आयोजना गरिएको त्यस सेमिनारमा उपस्थिति जनाउने सबैजना एक अर्काप्रति अपरिचित थिए। उपस्थित हुनेहरुको संख्या त्यस्तै दुईचार सय हाराहारी थियो। सेमिनारको सुरुवाती चरणमा स्रोत व्यक्तिमार्फत एउटा कार्यका लागि निर्देशन दिइयो। त्यो कार्य थियो, ‘सेमिनारमा उपस्थित जतिसक्दो धेरै मानिससँग छोटो अन्तरक्रिया, चिनापर्ची गर्नुपर्ने। एकअर्काका बारेमा संक्षिप्त जानकारी लिनुपर्ने र सम्पर्क नम्बर पनि सेयर गर्नुपर्ने।’ त्यस कार्यका लागि दस मिनेट समय तोकिएको थियो।

निर्धारित समय सकियो। सेमिनारमा उपस्थित अधिकांशले त्यस कार्यलाई गम्भीरतापूर्वक लिएनन्। अझ यसो भनौँ, त्यसो गर्न संकोच माने। आफ्नो सुरक्षा घेराभन्दा बाहिर कोही आउनै चाहेनन्। सेमिनारमा उपस्थित निकै कमले मात्र यस कार्यलाई गम्भीरतापूर्वक लिए र नयाँ मानिससँग अन्तरक्रिया गरे मात्र होइन सम्पर्क नम्बरसमेत सेयर गर्न सफल भए। आखिर के कारण सेमिनारमा उपस्थित सबैले दिइएको कार्य प्रभावकारी रुपमा गर्न सकेनन् ? किन तिनले नयाँ मानिससँग अन्तरक्रिया, चिनापर्ची गर्न सकेनन् ? यसको उत्तर हो– लजालुपना।

लजालुपना भनेको के हो ?
नयाँ मानिसको उपस्थितिमा अनुभूत हुने डर, असुरक्षा र अप्ठेरोपनलाई लजालुपना भनिन्छ। विशेषतः यस खाले अनुभूति नयाँ परिस्थितिमा रहँदा र अपरिचित मानिससँग रहँदा उत्पन्न हुने गर्छ।

आत्मविश्वास कम भएको मानिसको प्रमुख विशेषतामध्ये अत्यधिक लजाउनु एक हो। लजालु स्वाभावका मानिसमा अरुले के भन्लान्, अरुबाट आलोचित, अस्वीकृत र अपमानित हुनुपर्ने पो हो कि भन्ने डर हुन्छ। यही कारण यस्ता मानिस आफूले भन्न चाहेको भन्दैनन्, गर्न चाहेको पनि गर्दैनन्।

लजालुपना विभिन्न क्षेत्रमा अनुभूत गर्न सकिन्छ। जस्तोः स्कुल जीवनमा लजालुपन, व्यवसायमा लजालुपन, प्रेम सम्बन्धमा लजालुपन, सामाजिक जीवनमा लजालुपन आदि।

लजालुपनाको प्रभाव
लजालुपनाको प्रभाव नकारात्मक नै हुन्छ। कुनै पनि कोणबाट यसको प्रभाव सकारात्मक हुन सक्दैन। मुख्यतः आम मानिसको जीवनमा देखिने केही नकारात्मक प्रभावहरु यस किसिमका छन्ः

प्रभाव एक, सीमित गुणवत्ता साथी। धेरै लजाउने व्यक्ति समूहमा टिक्न सक्दैन। कसैसँग पनि प्रभावकारी संवाद गर्न सक्दैन वा जान्दैन। संवाद गरे न सम्बन्ध स्थापित हुने हो ! त्यसैले धेरै लजाउने व्यक्ति नयाँ व्यक्तिसँग भावनात्मक सम्बन्ध जोड्न सक्दैन। अर्को शब्दमा भन्नुपर्दा गुणवत्ता साथी बनाउन असक्षम रहन्छ। त्यसैगरी धेरै लजाउने व्यक्ति आत्मविश्वासी भएर अरुसामु आफ्नो वास्तविक व्यक्तित्व प्रस्तुत गर्न सक्दैन, जसकारण कोही पनि व्यक्ति साथी बन्नका लागि इच्छुक, आकर्षित हुँदैनन्।

गुणवत्ता साथीको सङ्गतले खुसीको स्तर बढाउन ठूलो भूमिका खेल्छ। यस तथ्यबाट लजालु व्यक्तिको खुसीको स्तर कम रहन्छ भन्ने प्रस्ट बुझ्न सकिन्छ।

प्रभाव दुई, सीमित व्यवसाय अवसर। व्यवसाय एक्लै गर्न सकिँदैन। एकल प्रयासमा व्यवसाय सञ्चालन गर्नु मुर्खता हो। केही क्षणिक र व्यक्तिगत फाइदा प्राप्त होला तर त्यो व्यवसाय दीर्घकालीन हुन सक्दैन। त्यसैले गुणवत्ता साथीको साथ, सहयोग र सहकार्यको आवश्यक पर्छ। यद्यपि लजालु व्यक्तिको हकमा गुणवत्ता साथीको संख्या निकै कम हुन्छ। यस्ता व्यक्तिलाई साथीसँग नयाँ व्यवसायका अवसरहरूबारे अन्तरक्रिया गर्ने उचित वातावरण नै सिर्जना हुँदैन। साथ र सहयोग पाउने त टाढाको कुरा !

प्रभाव तीन, असफल प्रेम सम्बन्ध। प्रेम सम्बन्धमा आत्मविश्वास, सत्यता लगायत हास्य हेरिन्छ न कि लजालुपना। सामान्यतः महिलाले पुरुषमा हेर्ने भनेका यिनै विशेषताहरू हुन्। अत्यधिक लजाउने पुरुषप्रति कुनै पनि महिला आकर्षित हुन सक्दैनन्। प्रेम बस्ने त झन् काल्पनिक कुरा भइहाल्यो। त्यसैगरी अत्यधिक लजाउने व्यक्तिको वास्तविक व्यक्तित्व थाहा नहुँदा शंका गर्ने ठाउँ प्रसस्त हुन्छ। यस्तोमा महिला र पुरुषबीच सम्बन्ध जोडिए पनि त्यो निकट भविष्यमै टुट्छ।

लजालुपन हटाउने विधि
विगतमा लजालु हुनुको अर्थ यो होइन कि बाँकी जीवनभरि पनि उत्तिकै लजालु हुनुपर्छ। बाँकी जीवनमा बहिर्मुखी व्यक्तित्वको विकास गरेर जिउन सकिन्छ। अत्यधिक लजालुपन व्यक्तित्व विकास र प्रगतिको बाधक हो। यसबाट उन्मुक्त रहेर प्रगतिशील बाटो हिँड्न निम्न विधि अवलम्बन गर्न सकिन्छः

(क) आत्मछवि हटाउनेः कोही व्यक्ति जन्मजात लजाजु हुँदैन। अनुसन्धानले पनि लजालुपना पूर्ण रुपमा आनुवांशिक नभएको पुष्टि गरेको छ। बाल्यकालमा उपलब्ध हुने वातावरणको पनि प्रमुख भूमिका रहन्छ। सोही वातावरणमा रहँदा कस्तो खाले धारणा, मनोविज्ञान अर्थात् आत्मछवि विकास गरिन्छ, त्यही कुरामा कोही व्यक्ति कत्तिको लजालु हुने भन्ने कुरा निर्भर रहन्छ। त्यसैले म लजालु स्वभावको छु, मेरो व्यक्तित्व प्रकार नै लजालुपन हो, म अन्तरमुखी छु, कुनै पनि अवस्थामा बहिर्मुखी हुन सक्दिनँ भन्ने जस्ता आत्मछवि त्याग्नुपर्ने हुन्छ।

(ख) नयाँ समूहसँग जोडिनेः एक्लोपनमा लजालुपन झन् धेरै बढ्दै र मजबुत हुँदै जान्छ। लजालुपन पूर्ण रुपमा हटाउन उपयुक्त वातावरण सिर्जना हुँदैन। त्यसैले एक्लै रहनु लजालुपनाको उचित उपचार, समाधान होइन। त्यसैले समूहसँग जोडिनुको विकल्प छैन। यसका लागि मिटअप ग्रुपमा आबद्ध हुन सकिन्छ। सन् २०१७ को तथ्याङ्कअनुसार विश्वभरि २,२५,००० मिटअप ग्रुप सक्रिय छन्। अहिले यसको संख्या झन् धेरै भएको छ। यस्तोमा आफूलाई उपयुक्त लाग्ने मिटअप ग्रुपमा संलग्न हुन सकिन्छ। आफ्नो सोचविचार खुलस्त रुपमा प्रस्तुत गर्न सकिन्छ। यसो गर्नाले लजालुपन हटाउने प्रक्रियामा ठूलो सहयोग मिल्छ। त्यसैगरी लजालुपन हटाउन टोस्टमास्टर्स पनि उत्तिकै उपयुक्त माध्यम हुन सक्छ। टोस्टमास्टर्समा आबद्ध भएपछि संवाद कौशल एवं नेतृत्व क्षमता अभिवृद्धि गर्न सकिन्छ। लजालु हुन छाडेर बहिर्मुखी भइन्छ। त्यसैगरी लजालुपन हटाउन विभिन्न क्लब र बारमा प्रवेश गर्न सकिन्छ। ठूलठूला संस्थामा आबद्ध भएर काम गर्न सकिन्छ। क्लब, बार तथा ठूलठूला संस्थामा सामूहिकीकरणको अवसर प्राप्त हुन्छ र लजालुपन हट्दै जान्छ।

(ग) स–साना सुरुवाती कदम चाल्नेः लजालुपन एकैपटक हटाउन सकिँदैन। स–साना सुरुवाती कदम चाल्ने गर्नुपर्छ। उदाहरणार्थ कार्यक्षेत्रमा उत्पन्न हुने लजालुपन लिऊँ। मानौँ, तपाईँ कुनै एउटा प्रतिष्ठित संस्थामा कार्यरत हुनुहुन्छ। मानौँ, तपाईं सबै सहकर्मीसँग अन्तरक्रिया गर्ने क्रममा अत्यधिक लजाउने गर्नुहुन्छ रे ! यही कारण कार्य पनि प्रभावकारी हुन सकेको छैन रे ! यस्तोमा एउटा विधि अवलम्बन गर्न सकिन्छ। त्यो हो, स–साना सुरुवाती कदम। यस क्रममा कुनै एक सहकर्मी छनोट गर्नोस्। ऊसँग छोटो संवाद गर्नोस्। खाजा खाने समयमा सँगै खाजा खाने गर्नोस्। कहिलेकाहीँ कार्यक्षेत्र बाहिर पनि चिया गफ, खानाका लागि प्रस्ताव राख्नोस्। अनि सहकर्मीको मनोभाव बुझेर आफ्नो धारणा राख्नोस्। यसो गर्नाले त्यस व्यक्तिसँग अन्तरक्रियाले लजालुपन हट्दै जान्छ। त्यसपछि अरु सहकर्मीमा पनि उही विधि अवलम्बन गर्नोस्। केही सहकर्मीसँग अन्तरक्रिया गर्दा उत्पन्न हुने लजालुपना पूर्ण रुपमा हटेपछि उनीहरुसँग सामूहिक अन्तरक्रियाको लागि पहल गर्नोस्। यसपश्चात् लजालुपना कहिल्यै पनि तपाईंको समस्या बनिरहँदैन।

Leave A Comment