डान्सबारमा केटीसाथी धेरै

सोमबार, ०६ माघ २०७६, १२ : ३४ शुक्रवार
डान्सबारमा केटीसाथी धेरै

कलाकार, निर्माता हुँदै फिल्म वितरक बनेका हुन् करण श्रेष्ठ क्रेजी। उनले आफ्नो नाइटलाइफका बारेमा भोला अधिकारीसँग गरेको कुराकानी :

नाइट लाइफबारे बताइदिनु न ?
म सानैदेखि राजेश हमालको फ्यान थिएँ। राजेश हमालको स्टाइलमा हिँड्ने, उस्तै लामो कपाल पालेको थिएँ। फिल्म खेल्ने सुरले सिन्धुपाल्चोकबाट गाडी चढी काठमाडांैको कोटेश्वरमा ओर्लिएँ। त्यहाँ ओर्लिएपछि कता जाने भन्नेमा अन्योलमा परेँ। त्यो बेला कोटेश्वर एयरपोर्ट साइडमा फुटबल खेल्नका लागि सानो ग्राउण्ड थियो। छेउमा चिया पसल लहरै थिए। म पनि त्यहीँ गएर चिया खाजा खाएँ।  फुटबल खेलेकाहरु पनि रात परेपछि आ–आफ्नो बाटो लागे।  निकै बेरपछि चिया पसलको साहुनी दिदीले मलाई भाइ कहाँबाट आको कता हिँडेको भनेर सोधिन्। मैले फ्याट्टै भनिदिएँ फिल्म खेल्न आको भनेर। ती दिदी मज्जाले हाँसिन्।

गफ गर्दा गर्दै रातिको ११ बजिसकेको थियो। जाडो जाडो थियो ती दिदीले आगो बाल्दिइन्। आगो ताप्दाताप्दै रात काटियो। त्यसपछि त्यहीँ भेट भएको एकजनाले वर्कसपमा काम लगाइदियो। 

डान्सबारमा कसरी जानुभयो ?
एउटा म्युजिक भिडियो गर्ने क्रममा डान्सबार सञ्चालकसँग भेट भएको थियो। पुरानो बानेश्वरमा सञ्जिव लामाको डान्सबार थियो। उहाँसँग भेट भयो। धेरैले डान्सबारमा काम गरेपछि फिल्म खेल्न पाइन्छ भन्ने हल्ला गरेकाले उहाँको डान्सबारमा काम गर्न थालेँ। मैले अहिले त्यो डान्सबारको नाम ठ्याक्कै भुलेँ। उहाँले पाँच प्रतिशत तँलाई राम्ररी काम गर भन्नुभयो। म वर्कसपमा काम गर्ने मान्छे डान्सबारमा काम गर्ने भएँ।

डान्सबार खोलेको भन्ने सुनेको थिएँ ? खास कुरा के हो ?
अरुको डान्सबारमा काम गर्दागर्दै साथी र मैले तीन चारवटा डान्सबार खोल्यौँ। त्यो बेलामा भर्खर डान्सबारको चहलपहल थियो। डान्सबार भनेपछि मान्छेले जति पैसा पनि फाल्थे। मान्छे हत्तपत्त डान्सबार छिर्दैनथे। छिरेपछि राम्रै पैसा फालेर निस्कन्थे। एउटा दुईटा गर्दागर्दै निकै डान्सर बढिरहेका थिए। त्यसो गर्दागर्दै  मैले ‘क्रेजी फो डान्सबार’ डिल्लिबजारमा खोलेको थिएँ।  अर्को पुतली सडकमा ‘नाइट बल’ भन्ने थियो। त्यस्तै थिएटर भन्ने पनि थियो।

तपार्इं कलाकार बन्ने मान्छे डान्स पनि गर्नुहुन्थ्यो कि ?
म नाचेँ तर नियमित भने होइन। मेरोमा मात्र होइन अरुको डान्सबारमा पनि नाचेको छु। कलाकार बन्न आएको मान्छे डान्सबार सञ्चालक भएर बसेको थिएँ।

तपार्इंको डान्सबारमा को–को कलाकार आउँथे ?
धेरै कलाकार आउँथे। त्यसमध्येमा फिल्मका गणेश उप्रेती, सुनिल मानन्धर लगायतका आउँथे। सुनिलले त मेरो डान्सबारमा कति पैसा उडाए उडाए। खान भने रक्सीहरु केही खाँदैनथे। तर पैसा भने खुब उडाए। फिल्म हल बन्द गरेर डान्सबारमा आउने मेरो गेष्ट सुनिल नै थिए।  

हिरोइनहरु नि ?
हिरोइनहरु मेरो डान्सबारमा  थिएनन्

अरुको डान्सबारमा नाच्ने राम्रा राम्रा डान्सर केटी आफ्नोमा ल्याऊँ भन्ने हुँदैनथ्यो ?
किन नहुनु । कस्को डान्सबारमा राम्रा छन् उनीहरु आफ्नामा ल्याऊँ भन्ने नै थियो। त्यस कारण हरेक रात ठमेल, बानेश्वर, दरबारमार्ग डुलिरहन्थेँ।

रक्सी कत्तिको पिउनुहुन्थ्यो ?
मैले रक्सी त कहिल्यै पिइनँ। बरु जुस खाइरहन्थेँ।

तपाईं डान्सबार सञ्चालक हुँदा त केटीहरु धेरै थिए होला ?
त्यो बेला मेरा गर्लफ्रेण्ड धेरै थिए। म भर्खरको केटो मेरो नजिक केटीहरु नहुने कुरै भएन। 

विवाह गर्छु भन्ने नि ?
त्यस्तो त थिएनन्। उनीहरुको लेवल र मेरो लेवल मिल्दैनथ्यो। साथीभाइ जस्तो बनाएर राखेको थिएँ।

डान्सबारमा त झगडा भइरहन्थ्यो होला नि ?
झगडा त नहुने कुरै भएन। पुतली सडकमा सधैँ झगडा परेका कारण डान्सबार छोडेको हुँ। आफूले नखाए पनि अरुले पिइहाल्थेँ। पिएको सुरमा झगडा गर्न थालिहाल्थेँ।

त्यो समयमा बारका केटीलाई धेरै जसो अर्ध नग्न रुपमा नचाइन्थ्यो रे ? तपाईंले टु पिसमा कत्तिको नाच्न लगाउनुभयो ?
मैले नेपाली चेलीलाई त्यस्तो नाच्न लगाइनँ। मैले त पूरै नेपाली गीतमै नाच्न लगाउँथेँ। मेरोमा अरुको डान्सबारमा भन्दा फरक वातावरण थियो।

तपाईंले ढाँटेको जस्तो लाग्यो ? त्यो बेला टु पिसमै डान्सबारमा नाच्थेँ रे ?
मैले ढाँटेर के फाइदा। मैले जे छ त्यही भनेको हुँ।

Leave A Comment