टाढा हुँदा कतिमा जाने, नजिक भए मिटरमा

सोमबार, ०६ माघ २०७६, १२ : ४९ शुक्रवार
टाढा हुँदा कतिमा जाने, नजिक भए मिटरमा

सुन्दर कार्की, नाइट ट्याक्सी चालक

मलाई समय र परिस्थितिले ट्याक्सी पेसामा ल्याएको हो। कामको खोजीमा भौतारिनुभन्दा आफैँ सीप सिकेर केही गराैँ भनेर ट्याक्सी चलाउन थालेको हुँ। ट्याक्सी चलाउन थालेको त्यस्तै पाँच वर्ष जति भयो। यो विचमा धेरै थरिका यात्रु भेटेको छु ।

केही समय अगाडि मापसे गरेका तीन यात्रु मेरो ट्याक्सीमा चढे। सुकेधाराबाट चढेका उनीहरुले लैनचौर चोकमा पु-याए। उनीहरु मातेर कसैलाई नचिन्ने अवस्थामा थिए। मैले लैनचौर पु-याएपछि कता झर्ने दाइ भनेको त लैनचौर आएकै छैन। कता झर्ने कुरा गरेको भन्दै उल्टै निहुँ खोज्न थाले।

मिटरमा गएको मान्छेले भाडा किन अगाडि दिन्छ ? कति उठ्छ भन्ने पहिल्यै कसरी थाहा हुन्छ ? मिटरमा गएका उनीहरु भाडा अघि दिइसकेको भनेर कुरा फेरेको फेरै गर्छन्। यात्रुले कहिलेकाहीँ त साह्रै दुःख दिन्छन्। सकेसम्म पैसा दिन नपरे हुन्थ्यो भन्ने मानसिकता बोकेका यात्रु हुन्छन्। मिटरमा दुई सय ७९ उठेको थियो। दुई सयभन्दा धेरै छैन भन्न थाले। त्यही भए पनि दिनोस् भनी मागेँ।

टाढा हुँदा हाउमच, नजिक मिटरमा
यात्रुहरुको बानी नजिक जानुपर्ने छ भने मिटरमा अलिक टाढा जानुपर्ने छ भने हाउमचको कुरा गर्छन्। मिटरमा तीन सय उठ्ने छ भने, दुई सयमा जाऊँ न भन्ने गर्छन्। अर्को कुरा मिटरमा हिँडेपछि जाममा परिन्छ।

काठमाडौंमा जाम नहुने कुरै हुँदैन। नजिक जाँदा पनि जामले गर्दा वेटिङ चार्ज उठिरहेको हुन्छ। जसकारण अलिक बढी उठ्ने डरले बीच बाटोबाटै यात्रु ओर्लिएर हिँड्छन्। हरेक  दिन यस्ता यात्रु भेटिन्छन्।

ट्याक्सीमा बसेर गुण्डा बन्दिने
ट्याक्सीमा बसेका यात्रुले उल्टै थर्काउँछन्। मेरो यहाँनेर यति केटा छन्। यहाँ यति पैसा उठाउनु छ। उनीहरु सकेसम्म अरुलाई तर्काएको नाटक गरेर भाडा तिर्न नपरे हुन्थ्यो भन्ने व्यवहार देखाउँछन्। करोडौंको कुरा गर्ने, थर्काएको स्वभावले कुरा गर्ने।

दुई वर्ष अगाडिको कुरा हो। राति ११, १२ बजे तीनजना केटा लैनचौरबाट मेरो ट्याक्सीमा चढे। ट्याक्सी चढेपछि  रत्नपार्क जाऊँ भने। मैले हुन्छ भनेँ। एउटा ठिकै खालको थियो, दुईजना पूरै मातेका थिए। ट्याक्सीको झ्यालको आधा भाग तानेर चर्काइदिएका थिए। रत्नपार्क पुगेपछि भाडा दिने कुरै गर्दैनन्, मलाई नै कुटाँैला झैँ गर्न थाले। नजिकै प्रहरीको गाडी थियो। मैले हत्तपत्त प्रहरी लिन गएँ। मलाई प्रहरीले त्यो बेलामा साथ दिएको थियो। उनीहरुलाई समाउन पुलिस लिएर आएको कता भागे भागे। यस्ता खालका घटना अहिले पनि हुने गरेका छन्।  

पार्किङ कै समस्या
कुनै यात्रु बोकेर त्रिपुरेश्वरबाट जमल नपुगुञ्जेल रोक्ने ठाउँ छैन। न ओराल्ने ठाउँ छ न रोक्ने। राति पनि प्रहरीले सिठी बजाउँछ। यात्रु पाउने बेलासम्म ट्राफिक तैनाथ हुन्छ। यो एरियामा कतै पार्किङ गरेर चिया खाऊँ, ट्वाइलेट–बाथरुम जाऊँ भन्ने नै छैन।  दिउँसो त झन् कुरै नगरौँ पार्किङ गर्ने ठाउँ नै भेटिँदैन। भेटियो भने पनि यात्रु नआउने, कुनो ठाउँमा हुन्छ। केही गरी रोकियो भने पाँच सय, हजारको चिट काटिदिन्छ। यस्ता समस्या भोगिरहनु पर्छ।

Leave A Comment