सम्झौता गरेर मात्र घरभाडामा बस्नु राम्रो

बुधबार, ०८ माघ २०७६, ११ : ५६ स्वीकृति बराल
सम्झौता गरेर मात्र घरभाडामा बस्नु राम्रो

घरधनीले मन लागेको खण्डमा कोठामा बस्नेलाई जतिबेला मन लाग्यो निकाल्न पाइन्छ ? यसका लागि केही नीति नियम छ कि छैन होला ? यसबारे के कानुनी प्रावधान छ ? घरबेटीले जबर्जस्ती निकाल्न खोजेको अवस्थामा के गर्न सकिन्छ ?

–आफ्नो घर, घरको कुनै तला, कोठा अरु कसैलाई निश्चित समयका लागि उपयोग गर्न दिनुलाई घर बहालमा दिएको मानिन्छ। मासिक २० हजार रुपैँयासम्मको घर बहालमा लिन–दिन बहाल लिने व्यक्तिसँग सम्झौता जरुरी हुँदैन तर सो भन्दा धेरै रकम हो भने घर बहालमा दिँदा वा लिँदा लिने– दिने दुवैले सम्झौता गरेर मात्र लिए भविष्यमा आउन सक्ने समस्याबाट बच्न सकिन्छ।

सम्झौता गरेर घर बहालमा लिँदा न घर बहालमा दिने व्यक्तिले आफूले गरेको सम्झौताबाट पन्छिन पाउँछ न त घर बहालमा लिने व्यक्ति नै। यसबारे प्रस्ट कानुनी प्रावधानसमेत छ। मुलुकी देवानी संहिता,२०७४ को परिच्छेद ९ मा घर बहालसम्बन्धी व्यवस्था गरिएको छ। संहिताको दफा ३८६ मा घर बहालमा दिँदा कुन–कुन कुरा खुलाएर बहालमा लिने–दिने व्यक्तिले सम्झौता गर्नुपर्छ भन्ने कुरा स्पष्ट उल्लेख गरिएको छ।

दफा ३८६ अनुसार सम्झौता गर्दा घर बहाल लिने–दिने व्यक्तिको पूरा नाम र ठेगाना, नागरिकता नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने परिचयपत्र खुलाउनु पर्छ। त्यसैगरी बहालमा दिने घर रहेको ठाउँ र जग्गाको कित्ता नम्बर पनि सम्झौतामा खुलाउनु पर्छ। बहालमा लिने प्रयोजन, बहाल सुरु हुने मिति, बहाल कायम रहने अवधि, मासिक बहाल रकम, बहाल बुझाउने समय र प्रक्रिया, घरमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोन आदिको महसुल बुझाउने दायित्व, घर बहाल कर भुक्तानी गर्ने कुरा, बहालमा लिएको घर छाड्ने वा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा र बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा लगाउन पाइने नपाइने कुरा सबै सम्झौतामा खुलाउनु पर्छ। यी सबै कुरा सम्झौतामा खुलाएपछि दुवै पक्षले सम्झौताविपरीत गर्न पाइँदैन र पहिले तय भएको सम्झौताअनुसार चलेपछि झै–झगडा र अनावश्यक कचकचबाट मुक्त भइन्छ।

यदि दुवै पक्षको समझदारीमा सम्झौता पत्र तयार गरिएको छ भने सम्झौतामा लेखिएबमोजिम नै सारा कुरा गर्नुपर्छ भने सम्झौतापत्र छैन भने कानुनमा लेखिएबमोजिम चल्नु पर्छ। आफ्नो मनोमानी कुनै पनि हालतमा गर्न पाईँदैन।

बहालमा लिने र दिने दुवै पक्ष आ–आफ्नो दायित्वबाट पन्छिनु हुँदैन। यदि सम्झौत पत्र छैन भने बहाल बुझाउँदा बहालमा बस्ने व्यक्तिले प्रत्येक महिना भुक्तान भएको सात दिनभित्र घरधनीलाई बहाल बुझाउनु पर्छ। यो व्यवस्था मुलुकी देवानी संहिता, २०७४ को दफा ३९१ ले गरेको छ।  सम्झौता पत्रमा कर तिर्ने व्यक्ति तोकिएकोे छैन भने घरको कर बुझाउने दायित्व घरधनीकै हुन्छ र बहालमा लिएको घरको मर्मत तथा सम्भार गर्ने दायित्व बहालमा लिने व्यक्तिको हुन्छ। बहालमा लिएको घर छोड्दा घरधनीलाई ३५ दिनअगावै थाहा दिनु पर्छ र थाहा नदिई छोडेको खण्डमा बहालमा बस्नेबाट पैसा भराउन पाउँछ। त्यसैगरी बहालमा बस्नेलाई हटाउनु परेको खण्डमा घरधनीले पनि कम्तीमा ३५ दिनको अग्रिम सूचना दिनुपर्छ।  कसैलाई त्यसरी हटाएमा त्यस्तो घर घरधनीले आफूले प्रयोग नगरी तीन महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन पाउँदैन।

यदि बहालमा बस्ने व्यक्ति विनासूचना तीन महिना वा सोभन्दा बढी समय बहाल रकम नबुझाई बेपत्ता भए पहिले सो व्यक्तिलाई सूचना पठाउनुपर्छ र सूचना गर्दा पनि खबर नआए घरधनीले स्थानीयतहको कार्यालयमा निवेदन दिनु पर्छ। स्थानीय निकायले तोकेको १५ दिनमा पनि बहालमा बस्ने व्यक्ति नआए घर खाली गराउन पाइन्छ।

घर बहालमा बस्नेलाई घरधनीबाट मर्का पर्न गएमा वा घरधनीलाई बहालमा बस्नेबाट मर्का पर्न गएमा मर्का पर्ने काम कारबाही हुन गएको ६ महिनाभित्र नालिस गर्नुपर्छ।

Leave A Comment