संघर्षको शुभकामना

बुधबार, ०८ माघ २०७६, १२ : ०४ शुक्रवार
संघर्षको शुभकामना

कसैले मलाई जिन्दगी के हो भनेर सोध्यो भने, मेरो उत्तर हुनेछ– कहिल्यै नटुट्ने भोगाईहरुको शृंखला जिन्दगी हो। २६ वर्षे जीवनमा मैले जे–जति भोगेँ, त्यसले त्यही भन्छ।

१२ वर्षको उमेरसम्म मलाई केही कुराको ज्ञान थिएन। पुतलीजस्तै यो फूल र त्यो फूल गर्दै म हुर्किएँ। आँपगाछीहरुमा चढ्दै–लड्दै मेरा दिनहरु बित्थे। बाहिरी दुनियाँसँग अञ्जान–अनभिज्ञ थिएँ। शीरमा बाउआमाको हात छ, मलाई केको डर छ भनेजस्तो थियो जीवन। उहाँहरुबाट कुनै रोकटोक, कुनै प्रतिबन्ध र परिवन्द थिएन। त्यो बेला मेरो भाइभन्दा म केटाकेटीपनमा बाँचेकी थिएँ।

तर सात कक्षामा पुगेपछि सबैथोक बद्लियो। पहिलोपल्ट रजश्वला भयो। त्यही बेला बाबा धन कमाउन मलेसिया पुग्नुभयो।

पहिलोपल्ट रजश्वला भएकी छोरीलाई बाउ–माइतीले हेर्नु हुन्न भन्छन्। त्यसैले मलाई नहेरी–नभेटी बाबा जानु भयो। भेट्ने मौका मिल्दो हो त भन्नु हुन्थ्यो होला, ‘अल्बिदा कान्छी। यो नै हाम्रो अन्तिम भेट हुनेछ ! हो, बाबा र बाबाको केही कुरा पनि घरमा आएनन्। बरु उल्टै बेलामौकामा आउने खबर पातलिए र अन्ततः आउनै छाडे। पछि थाहा भयो, उहाँले उतै नयाँ संसार बसाउनु भएछ।

आमामाथि आकाश खस्यो। यसले भाइ र मेरो दुवैको बालापन खोस्यो। अब हामी एक्कैचोटि वयस्क हुनुपर्ने समय आयो।

ऋणले च्याप्यो। साहुहरुले च्यापे। आशहरुले सास मारे अनि सपनाहरु तुहिए। भन्छन्, ऋण लागोस् तर दिन नलागोस् तर खासमा दिन लागिसकेको व्यक्तिलाई ऋण लाग्ने रहेछ। यस्तालाई अरुथोक लाग्न के बेर ?
आमाको स्वास्थ्य बिग्रदै गयो। चेत–होस हराउँदै गयो। सोच्ने र केही गर्ने शक्ति रहेन उहाँमा। दिनभरि टोलाउने, एक्कासि रुने, बेचेतमा हाँस्दिने गर्न थाल्नु भयो। जिन्दगीसँग हार मानेर अन्ततः दुःख लुकाउन आफैँलाई जिन्दगीबाट मुक्ति दिनुभयो।

त्यो बेला म जम्मा १८ वर्षकी थिएँ। हातमा १२ कक्षा को सर्टिफिकेट थियो। हातमा त्यही सर्टिफिकेट च्यापेर काम खोज्न हरेक गल्ली, हरेक कुना, हरेक चोक धाएँ। यसरी धाउँदा नारी अस्मिताको शिकार थापेर बसेका कति दरिन्दाहरुको फेला परेँ। कहिलेकाहीँ सोच्थेँ, भाइको आमा वा बुबा भने नि मैँ हुँ। उसको लागि अस्मिताको भोग चढाइदिऊँ कि क्या हो ! तर सकिनँ। अन्ततः उसलाई काकाकाकीसँग छाडेर म दुबई आइपुगेँ।

दुःखीको यहाँ पनि कहानी उस्तै। आजसम्म कुनै दुःख गरेको थिइनँ। आमाले होस–चेत हराउँदा पनि पानीसमेत उमाल्न लगाउनु भएको थिएन। एकैपल्ट अरुका ट्वाइलेट सोरियो, धोती–चोली धोइयो। धेरै दुःख गरियो। कहालीलाग्दा कति अनिदा रातहरु रोएर बिताइयो। न पेटभरि खाइयो, न राम्रो दुईजोर कपडा लगाइयो। न कुनै सपना वा इच्छा नै पूरा गरियो। आज फर्केर हेर्दा ती सबै कुराहरु एक हिसाबले जायज लाग्छन्। दुःखपछि अलिक सुखजस्तो लागिरहेको छ।

भाइले राम्रोसँग पढेको, देश–दुनियाँबारे जानकार भएको, आँखाभरिका सपना थपिएको र ओठको निर्मल हाँसो देख्दा मात्र होइन, पढाइ सकेपछि म काम गर्छु, तपाईं विदेश नजानू भनेको सुन्दा विगतका सारा दुःख गराई सार्थक लागिरहेको छ। अझै १००० औँ कोश हिँड्नु छ जीवनमा। यो त बस्, हिँडाईका केही पाइला मात्र थिए। पाउनु जिन्दगीमा धेरै छ सायद, यी त केवल केही भोगाई थिए। सबैलाई संघर्षको शुभकामना छ। जुझ्न, लड्न र संघर्ष गर्न नडराउनुस् है !
२६, फिमेल,दुबई

Leave A Comment