‘तीजगीतमा नाच्न दुई दर्जन सारी किनेँ’

सोमबार, ३१ साउन २०७३, १० : ३९ डिबी खड्का , Kathmandu
‘तीजगीतमा नाच्न दुई दर्जन सारी किनेँ’

रश्मि तामाङ लोकदोहोरी र तीजगीतकी व्यस्त नृत्यांगना हुन् । यो तीजमा उनी ४१ वटा गीतमा नाचिन् । चार सयभन्दा बढी गीतमा नाचिसकेकी उनले थुप्रै अवार्ड पनि पाएकी छिन् । उनीसँग डिबी खड्काले गरेको अन्तरंग कुराकानीः

यसपालिको तीजमा भिडियोमा नाचेर भन्दा धेरै कमाइ घरबाटै भयो क्यारे । गाडी उपहार पाइएछ ।
छोरीले आफ्नो कुलको नाम राखेको भनेर बाबा र ठूलो बाबा मिलेर गाडी उपहार दिनुभयो । मैले गाडी उपहार पाउनुमा दादाको पनि त्यत्तिकै हात छ । उहाँले यसपालि इन्जिनियरिङ पास गर्नुभयो । त्यसैल उहाँ पनि उपहारको हकदार हुनुहुन्थ्यो तर उहाँले बहिनीलाई आवश्यक रहेको भनेर मतिरै सोझ्याउनुभयो ।
लोकगीतमा नाचेर गाडीको खर्च धान्न सकिएला ?
 खर्च त धेरै हुन्छ होला । ड्राइभर पनि राख्नुप¥यो । अन्य नियमित खर्च हुन्छन् । तर, मैले आफ्नो कमाइ घरमा दिनुपर्ने बाध्यता छैन । त्यसैले यति खर्च धान्छु कि भन्ने आँट गरेकी छु । धानिएन भने गाडी उपहार दिनेसँगै माग्छु ।
यो तीजको सिजनमा कतिवटा भिडियोमा अभिनय गरेर कति कमाइयो ?
आजसम्म (सोमवारसम्म) ४१ वटा तीजका गीतमा डान्स गरेँ । तीजका गीतको धेरै कमाइ त सारी किन्दैमा सकियो ।  मलाई एउटै सारी दुईतीनटा म्युजिक भिडियोमा लाउन मन लाग्दैन । सबैमा उस्तै देखिउँला भन्ने लाग्छ । त्यसैले सुरुमा नै २२ वटा सारी किनेकी थिएँ । पछि थप तीनटा किनेँ । यतिले पनि साध्य नलागेपछि केही म्युजिक भिडियोमा दोहो¥याउनैप¥यो ।
काममा जति व्यस्त हुनुहुन्छ, त्यो अनुसार कमाइ घरमा नल्याएपछि बाआमा कराउँदैनन् ?
कहिलेकाहीँ ममी कराउनुहुन्छ तर बाबालाई कुनै मतलब छैन । उल्टै दिनुहुन्छ । उहाँलाई म म्युजिक भिडियोमा देखिए पुग्यो । पैसाको कुनै हिसाब गर्नुहुन्न । छोरीले नाम कमाएकी छे भनेर उल्टै ममीलाई कराउनुहुन्छ ।  आमाको पनि आफूलाई देओस् भनेर छोरीसँग पैसा भइराखोस् भनेर जोगाउन भन्नुहुन्छ । आफ्ना लागि ममी आफैँ कमाउनुहुन्छ । उहाँलाई पनि मैले रोजेको क्षेत्र ठीक लाग्छ । बोर हुँदा हेर्ने मैरै म्युजिक भिडियो हो ममीले ।
तपाईंको कामबाट बुबा असाध्यै प्रभावित हुनुहुन्छ जस्तो छ ।
मेरो सबैभन्दा ठूलो फ्यान नै मेरो बाबा हो । हरेक गीतमा मैले गरेको नृत्य मज्जाले हेर्नुहुन्छ । हेरेपछि हौसला बढाउनुहुन्छ । ‘यसैगरी अघि बढ्दै जाऊ, कुनै कुरामा पिर नलेऊ’ भन्नुहुन्छ । मेरा बारेमा मिडियामा आउने सानोभन्दा सानो समाचारसम्म फलो गर्नुहुन्छ । कहिल्यै कुनै कुराको अभाव हुन दिनुहुन्न । एकपल्ट म म्युजिक भिडियोका लागि नै सारी किन्न बाबासँग गएकी थिएँ । मलाई एउटा सारी मन प¥योे । मूल्य सोधेको १८ हजार रुपैयाँ रे । त्यतिबेला उहाँको कमाइ त्यति धेरै थिएन । एउटा सिपाहीको तलब कति हुन्छ र ? त्यही पैसाले घर चलाउने र हामीलाई हुर्काउने गर्नुपथ्र्याे । त्यस्तो बेला पनि उहाँले मेरो इच्छा मार्न सक्नुभएन, बरु आफूले घाँटीमा लगाइराखेको सिक्री बेच्नुभयो र मलाई सारी किनिदिनुभयो ।
अहिले पनि आर्मीमै हुनुहुन्छ बुबा ?
अहिले त रिटायर्ड भएर वैदेशिक रोजगारीमा जानुभएको छ ।
छोरीलाई कलाकार बनाउन बाबाको त्यत्रो विधि रहर किन जागेछ ?
मुख्य कुरा त छोरीले नाम कमाई भन्नुहुन्छ । उहाँलाई पनि कलाकारिता खूब मन पर्ने रहेछ । आर्मीमा हुँदा उहाँ महिला बनेर नाच्नु पनि हुँदो रहेछ । खासमा कलाकारिताप्रतिको आकर्षण उहाँको रगतबाटै ममा सरेको जस्तो लाग्छ  । मसँग एउटा गीतमा नाच्ने रहर पनि गर्नुभएको छ । चाँडै नै त्यो पूरा गर्ने तयारी गरेकी छु । बाबाछोरी एउटा गीतमा सँगै नाच्नेछौँ । आफूलाई पूरै ‘मेन्टेन’ गर्नुभएको छ  । त्यति बूढो देखिनुभएको छैन ।
कस्ता–कस्ता फ्यान छन् ?
कसैसँग बिहे गरिस् भने मार्दिन्छु भन्नेदेखि आफ्नो बूढालाई मसँग म्युजिक भिडियो खेल्न कर गर्नेसम्मका फ्यान भेटेकी छु । केही समयपहिले एकजना फ्यान थिए । भन्थे– मसँग विवाह गर्नुपर्दैन तर, अरू कसैसँग ग¥यौ भने राम्रो हुँदैन । त्यसपछि एकजना दिदीले आफ्नो बूढालाई मसँग एउटा म्युजिक भिडियोमा अभिनय गर्न कर गरिछिन् । उनको श्रीमान्ले भिडियोमा अभिनय नगर्ने तर भेटाइदिने भन्दै दिदीलाई मकहाँ ल्याउनुभएको थियो । एकजना फ्यानले मैले अहिलेसम्म अभिनय गरेका सबै भिडियो र मिडियामा आएका सबै कुरा कलेक्सन गरेर राखेका रहेछन् ।
तपाईंको आकर्षण आर्मीतिर थियो रे । आर्मी बनाइदिन सानोमा खूब जिद्दी गरिन्थ्यो रे ।
हो त । बाबा र ठूलोबाबालाई मात्रै होइन, हजुरबालाई पनि भनेकी थिएँ । हजुरबा आर्मीको अलि ठूलो पोस्टमा हुनुहुन्थ्यो । उहाँलाई धेरैपल्ट भनेँ ।

कसरी नृत्यांगना बन्न पुगियो त ?
डान्स मैले सानैमा राम्रो गर्ने रहिछु । त्यसैले ठूलोबाबाले नृत्य सिकाउने ठाउँमा भर्ना गरिदिनुभयो । कक्षा ९ मा पढ्दै थिएँ । हामीलाई नृत्य सिकाउने गुरुले तीजको गीतमा कोरस नाच्न लैजानुभयो । कोरसका लागि केटी नपुगेपछि शनिवारको दिन पारेर मलाई लग्नुभएको थियो तर फर्किंदा म गायिका सिन्धु मल्लको ‘चक्करै लाग्यो नि व्रत बस्नाले’ गीतकी मोडल भइसकेकी थिएँ । कोरस नाच्दै गर्दा सिन्धु दिदी र उहाँका श्रीमान् सुदाम थापाले ममा के देख्नुभयो खोइ, मोडल नै चेन्ज गर्नुभयो । अर्काे केटीलाई मुख्य कलाकार बनाएर केही भिडियो खिचिसकिएको पनि थियो । पहिलोपल्ट यसरी मोडल भएँ । त्यसले मलाई चिनायो तर काम भने दोहो¥याएर पाइनँ ।  अर्काे वर्ष पनि सिन्धु दिदीले नै तीजमा सम्झिनुभयो । त्यसपछि विनु तामाङ दिदीले आफ्नो गीतमा नाच्न बोलाउनुभयो । त्यो भिडियो निर्देशन शंकर बीसी सरले गर्दै हुनुहुँदो रहेछ । त्यो बेला उहाँ र पार्वती राईको जोडी खूब जमेको थियो । पार्वती व्यस्त हुँदा सट्टामा मलाई बोलाउन थाल्नुभयो । अहिले त उहाँसँग धेरै गीतमा मै छु ।
दोहोरीमा पनि मोडल टपमा पुग्न र हराउन बेर लाग्ने रहेनछ । जसरी सम्झना बुढाथोकीलाई पार्वती राईले र पार्वतीलाई तपाईंले छायाँमा पार्नुभयो । त्यसैगरी तपाईंलाई पछि पार्न कोही आइदेला भन्ने पिर लाग्दैन ?
मलाई त्यस्तो पिर छैन । दर्शकले सधैँ एउटैको अनुहार र उस्तै डान्स हेर्न रुचाउँदैनन् । दर्शकको स्वाद फेर्न हामी पनि फेरिनैपर्छ । त्यसैले एकपल्ट टपमा पुग्ने चाहना सबैको हुन्छ र मेरो पनि थियो । तर, सधैँ  टपमै रहन सकिँदैन भन्ने पनि पहिल्यै थाहा थियो ।
मोडलबाट रिटायर्ड भएपछि के गर्ने ? कि फिल्मतिर पनि जाने सोचिराख्नुभएको छ ?
मलाई व्यापार गर्ने रहर छ । यता व्यस्त हुन छाडेपछि त्यतातिर लाग्छु तर फिल्ममा अभिनय गर्ने रुचि छैन । पैसा कमाइयो भने फिल्म बनाउने रहर भने छ । ठीकठीकै चलेका पाँचवटा फिल्म खेलेकी हिरोइनभन्दा हामीलाई बढी चिन्छन् मान्छेले । डान्स त ठीकै गर्छु, अभिनयमा नजम्न पनि सक्छु । रिस्क किन लिनु ?
विवाह गर्ने बेला भयो । त्यसपछि यो क्षेत्रबाट हराउने होला ?
विवाह गर्न रहर छैन । अहिले यत्तिकै ठीक छु । भविष्यमा मन बदलिन्छ कि ? थाहा छैन ।
भनेपछि पहिलेका गहिरा प्रेम छुटेपछि लागेको घाउ पुरिएका छैनन् ?
गहिरो प्रेममा त एकदुईपल्ट परेँ तर घाउ बनेनन् । त्यो बेलाको प्रेम त गहिरो नै लाग्थ्यो तर विवाह गर्ने सोच थिएन । उनीहरू विवाहको प्रस्ताव लिएर आउँथे, म रिजेक्ट गर्थें । त्यसैले घाइते भइनँ ।
एकपल्ट त घरजमै गर्नुभयो वा गर्ने टुंगो लागेपछि अन्तिम समयमा छुट्नुप¥यो भन्ने खालको हल्ला सुनिएको थियो ।
एउटा अल्लारे उमेरमा म झण्डै त्यस्तै मान्छेसँग फसेँ । त्यसलाई म सम्झिनँ पनि चाहन्नँ । त्यसबाट उम्किएँ, त्यही ठूलो कुरा भयो । यस्तै केही गल्तीहरू भए एउटा उमेरमा । जसले मलाई अहिले आँटिलो बनायो ।
तीजका गीतमा त नाचिन्छ, व्रत बसिन्छ कि नाइँ ?
हाम्रो समुदायमा तीज मनाइँदैन । व्रत बस्ने कुरै भएन ।

 

Leave A Comment