पारसलाई बकस, आस्थालाई दकस

शुक्रबार, १० माघ २०७६, ०९ : ५८ शुक्रवार
पारसलाई बकस, आस्थालाई दकस

भदौ २ गते पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरे। पूर्व बडामहारानी कोमल नातिनातिनासहित थाइल्यान्ड जाने तयारी गर्दैरहँदा पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक ईश्वर खत्रीमाथि हातपात गरेका थिए। उनले खत्रीलाई धकेलाधकेल मात्र गरेनन्, बारम्बार कुट्न झम्टिएका पनि थिए। यो दृश्य तत्कालै सामाजिक सञ्जालमा छताछुल्ल भयो। पारसको भनाइ थियो, छोरा र भाञ्जामाथि ‘अपमान’ गर्ने ?

सामाजिक सञ्जालमा भाइरल भएपछि पारसमाथि प्रहरी कार्बाही अघि बढाउनुपर्ने, प्रक्राउ पुर्जी जारी गर्नुपर्ने आवाज उठ्न थाल्यो तर विमानस्थल प्रशासन तथा प्रहरीका उच्च अधिकारीले पारसविरुद्ध उजुरी गर्नेतर्फ कुनै चासो दिएनन्।

सामाजिक सञ्जालमा विरोधको पारो बढ्दै गएपछि पारसले जवाफ दिँदै भनेका थिए, आफ्नो छोरा र भाञ्जामाथि प्रहरीले डण्डा बर्साएकाले सहन नसकी जाई लागेको हुँ।’

पारसले सार्वजनिक रुपमा यसरी स्वीकार गर्दा पनि उनीमाथि कार्बाहीको प्रक्रिया अघि बढेन, कसैको हिम्मत उनलाई पक्राउ पुर्जी जारी गर्ने भएन।

ठीक यही प्रकृतिको घटना यतिबेला सर्वत्र चर्चा छ। गएको बिहीबार भारतको सिक्किममा कन्सर्टका लागि भद्रपुर उड्न लागेकी आस्था राउतले ड्युटीमा रहेकी प्रहरी महिला रमिता श्रेष्ठलाई औँला ठड्याएको र अभद्र व्यवहार गरेको आरोपमा प्रहरी यति सक्रिय भयो कि उनीविरुद्ध पक्राउ पुर्जी जारी ग-यो। कुरा यत्तिमै सीमित भएन। प्रहरीले उनलाई फरार कोटीमा पनि राख्यो।

सामाजिक सञ्जालमा सक्रिय रहेकी उनले तत्कालै ट्वीटरमार्फत् आफूले सो घटनामा अपशब्द बोलेकामा माफीसमेत मागिसकेकी छन्।

यस प्रकरणले एक साथ प्रहरी र सेलिब्रिटी दुवैका कमजोरीहरु छताछुल्ल भएका छन्। प्रहरीको मुस्कानसहितको सेवा नारामा सीमित भएको देखाएको छ भने सेलिब्रिटीहरु पनि शुरुमा प्रतिक्रिया जनाइहाल्ने र त्यसपछि गुनासो–माफीका शृंखला चलाएर अज्ञानता प्रदर्शन गर्ने गरेका छन्।

त्यो दिन के भएको थियो ?
विमानस्थलमा रहेको सिसिटिभी भिडियो फुटेज हेर्दा आस्था सरासर आएकी देखिन्छिन्। उनले एक्स–रेमा झोला राख्छिन्। उनको हातमा कफी देखिन्छ। उनी हातमा कफी बोकेर गेटबाट भित्र पस्न खोज्छिन्।

महिला प्रहरीले तिनलाई रोक्न खोज्छिन्। उनले कफी लिएर भित्र छिर्न अनुमति नदिएझैँ देखिन्छ। यहाँनेर प्रहरीले उनको हातबाट कफी लिएर छेउमा राखिदिन्छिन्। बाक्लो ज्याकेट लगाएकी आस्थालाई प्रहरीले ज्याकेट खोल्न अनुरोध गरेको देखिन्छ। उनी ज्योकट खोलेर पुनः भित्र आउँछिन्। ज्याकेटलाई जाँच गर्न राखेपछि प्रहरीले उनलाई कुनामा लैजान्छिन्।

त्यहाँ जाँच गरेपछि आस्था जान खोज्छिन् तर आस्थाले बोकेर ल्याएको कफी ती महिला प्रहरीले उनैलाई थमाउन खोज्छिन् आस्था लिन मान्दिनन्। कफीलाई प्रहरीले टेबलमा राखिदिन्छिन्। त्यही बेलामा दुई जनाबीच भनाभन भएको देखिन्छ। आस्थाले कफी पर सार्न खोजेको देखिन्छ। महिला प्रहरीले उनीतिर कफी सार्छिन्। यसरी दुईबीचको दोहोरीले कफी पोखिन्छ।
यहीँनेर आस्थाको भनाइ छ, ‘ममाथि दुर्व्यवहार भयो। उनले मलाई तँ सम्बोधन गरिन्।’

प्रत्यक्षदर्शीको बयान
यस घटनामा वादविवाद देख्ने प्रत्यक्षदर्शी सुमन देउजाले गायिका आस्थाको धैर्यता र शालिनता नदेखिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत देउजाले सो घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएपछि यसबारे बोल्न आफूमाथि दबाब आएको बताएका छन्।

देउजाले आस्थाले नियम मान्नुपर्ने तर नमानेको बताएका छन्। उनले लेखेका छन्, ‘महिला प्रहरी रमिताले आस्थालाई ज्याकेट चेक गर्नुपर्छ खोल्नुस् भनेर आग्रह गरेपछि आस्थाले आफ्नो फ्लाइट छुट्न लागेको भन्दै हतारो देखाइन्।’

हतार हुने भए चाँडै आउनु पर्ने महिला प्रहरीले बताएकी हुन्। त्यसपछि आस्थाले ज्याकेट खोलेर चेक गर्ने मेसिनमा राखिन्। ज्याकेट चेक गरेर फर्केकी आस्थालाई उनको कफी महिला प्रहरीले दिइन्। उनले लिन नमान्दा टेबुलमा कफी पोखियो। तत्पश्चात् टेबुलमा पोखिएको कफी पुछ्न र डस्टबिनमा फ्याल्न महिला प्रहरीले आस्थालाई भनिन्, आस्थाले मानिनन्।’

खासमा आस्थालाई शुरुमै प्रहरी महिलाले तँ सम्बोधन गरेको कुरामा रिस उठिरहेको थियो। त्यसैले उनले पोखिएको कफी सफा गर्न र डस्टबिनमा हाल्न तयार भइनन्। उनले यो रिस प्लेनबाट ओर्लनेबित्तिकै पोखिन्। उनले जारी गरेको पहिलो भिडियोमा प्रहरीको व्यवहार ठीक नभएको आक्रोश पोखिन्।

आस्थाको सफाइ
आस्थाले यस घटनामा आफ्नो कुनै गल्ती नभएको स्पष्ट पारेकी छन्। उनले प्रहरीको व्यवहार असहनीय भएकाले लाइभ गरेर आफ्नो तुष पोखेको बताएकी छन्।

तुष पोख्दा बढी बोलेकोमा भने उनलाई पछुतो लागेको छ। उनले पछिल्लो पटक जारी गरेको भिडियोमा आफ्नो आशय सबैलाई आक्षेप लगाउनु नभई प्रवृत्तिविरुद्ध बोलेको बताएकी छन्।
उनले यस कार्यबाट कसैको चित्त दुखेको भए आफूले माफीसमेत माग्ने बताएकी छन्।

सेलिब्रिटीको उल्टो बुद्धि
सामान्यतः परिस्थितिलाई कसरी सम्हाल्ने भन्ने विषयमा नेपालका सेलिब्रिटीहरुलाई ज्ञान नहुँदा शुरुमा बोल्ने र पछि पछुताउने एउटा रोग नै छ।

मिस नेपाल शृंखला खतिवडाले नेपाल लिटरेचर फेस्टिभलमा आफूमाथि बाल्यकालमा यौन दुर्व्यवहार भएको बताएकी थिइन्। सो समाचार प्रकाशन भइसकेपछि आफूले सो कुरा नबताएको भन्दै समाचारको खण्डन गरेकी थिइन्।

सार्वजनिक रुपमा बोल्दा ख्याल नगर्ने र सोही कुरा समाचारका रुपमा आएपछि सामाजिक सञ्जालमा मिडियामाथि नै खेदो खनेकी थिइन्। श्रृंखला मात्र होइन, यस्तो काम मिडियामा प्रायः भइरहेकै हुन्छन् र पछिल्लो उदाहरण आस्था बन्न पुगेकी छन्।

आस्थालाई किन रिस उठ्छ ?
सामान्यतः आस्था राउत बोलक्कड सेलिब्रिटी हुन्। केही वर्षअघिसम्म गायककी छोरीको परिचयमा हुर्किएकी आस्था ‘चौबन्दी चोली’ गीत हिट भएपछि आफैँ नाम चम्काउन सफल भएकी हुन्।

झन् यस पटक नेपालको चर्चित रियालिटी सो ‘द भ्वाइस’मा जजका रुपमा चुनिएपछि उनको ख्याति अझ बढी चुलिएको थियो। उनले शुरुमा भ्वाइसमा केही बचकना हर्कत गरे पनि समयक्रममा उनले आफूलाई सुधार गर्दै गइरहेकी थिइन्। उनलाई ‘द भ्वाइस’ले एउटा राम्रो जजका रुपमा स्थापित समेत गरेको थियो।

एक्लो सन्तानका रुपमा हुर्किएकी हक्की स्वभावकी आस्थाले सधैँ सामाजिक सञ्जालमा कुनै पनि अन्यायलाई मुखर भएर धारण राख्ने गरेकी छन्। उनले यसअघिका महिलामाथि हुने दुर्व्यवहारका बारेमा पनि खुलेर बोल्ने गरेकी छन्। उनले सामाजिक सञ्जालमा सधैँ आफ्नो सम्बन्ध खुला रहेको बताउने गरेकी छन्, जुन उनका समकालीन सेलिब्रिटीले खुल्नै चाहँदैनन्।

केही महिनाअघि उनलाई शुक्रवारले सामाजिक सञ्जालमा आक्रोशित भएर प्रस्तुत हुने उनको शैलीका बारेमा सोध्दा उनले जवाफमा भनेकी थिइन्, ‘म जहिले पनि व्यक्तिभन्दा प्रवृत्तिविरुद्ध बोलिरहेकी हुन्छु। मेरो बोलीले कसैलाई कहिलेकाहीँ अप्ठेरो पर्छ।’ कलाकारको काम समाजमा विकृति फैलाउने नभई सही पथमा डो-याउने धारणा व्यक्त गर्ने उनी स्वयं यस पटक भने उनको व्यवहारका कारण विवादमा परिन्।

सानो कुरामा प्रहरीको सक्रियता ?
आस्था राउतको सार्वजनिक टिप्पणीपछि प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गरेको छ। यसलाई साहित्यकार तथा टिप्पणीकार हरि अधिकारीले ‘बातलाई बतंगड’ बनाएको बताउँछन्। ‘यो कुरालाई एउटा नागरिकको फ्रस्टेसनका रुपमा लिएको भए केही बिग्रदैनथ्यो,’ अधिकारी भन्छन्, ‘प्रहरीले जब कार्बाही नै गर्ने तरिकाले अघि बढ्यो, यसले उसको निर्णय क्षमतालाई नै उदाङ्गो पारिदिएको छ।’

कुनै नागरिकले प्रहरीलाई तथानाम गाली गरेको कुरालाई लिएर सामान्य रुपमा समाधान गर्न सकिन्थ्यो तर प्रहरीले सिसिटिभी फुटेज सार्वजनिक गरेर अर्को गल्ती गर्न पुगेको छ। अति संवेदनशील ठाउँको भिडियो फुटेज आफूप्रतिको आक्रोशलाई मत्थर पार्न प्रयोग गरिएको भए पनि प्रहरीको यो कदम जायज नभएको सुरक्षा विश्लेषकहरु बताउँछन्।

नागरिकले पोखेको रिसलाई त्यही दर्जामा उत्रिएर जब प्रहरी प्रशासन आउन थाल्छ, त्यसले नै सुरक्षा व्यवस्था र त्यहाँ काम गर्नेहरुको मनस्थिति कतिसम्म हतास छ भन्ने थाहा हुन्छ।

प्रहरीले के गर्नुपथ्र्यो ?
जनतासँग प्रत्यक्ष रुपमा ठोक्किने प्रहरी प्रशासन देशको सुशासनको पहिलो ऐना हुन्। जब यिनले सही व्यवहार गर्दैनन्, सर्वसाधारणले त्यसको प्रतिरोध गर्छन् नै। प्रहरीबाट भएको व्यवहार अनुचित नभएको एउटा विज्ञप्ति जारी गरेर आस्थाको आक्रोशलाई मत्थर पार्दै सर्वसाधारणलाई आश्वस्त पार्न सक्थ्यो। तर आस्थालाई पक्राउ पुर्जी जारी गरेर उसले हामीप्रति औँलो ठड्याउने जो कसैलाई छाड्दैनौँ भन्ने सन्देश दिएको छ।

त्यो सन्देश दिनुअघि दैनिक जीवनमा ठोक्किने प्रहरीले आफू नसच्चिए हुने, हरबखत उनीहरु नै सत्य हुने प्रमाण पाएका छन्।

‘हामीले त सहेरै वाक्क’
करिश्मा मानन्धर


असभ्य भाषा बोल्ने अधिकार कसैलाई छैन। पुलिस पनि मानिस हुन्। दिनभर दिक्क लाग्ने कामले वाक्क हुन्छन् होला तर भाषा प्रयोग गर्दा ध्यान पु-याउनु होला। विचरी गायिकाजीलाई नयाँ अनुभव भएछ। यो त हामीले सहेर उनीहरुलाई नै वाक्क पारेको चिज हो।

प्रहरीले भाषाको साथसाथै सुधार्नु पर्ने केही उदाहरण छन्। ट्राफिकले इन्टरसेक्सनमा कसको अधिकार पहिलो हुन्छ ? मुख्य सडकको पहिलो अधिकार हुन्छ। अनि हाम्रोजस्तो गल्लीगल्ली भएको ठाउँमा पहिलो प्राथमिकता मूलबाटोको सवारी साधनको हुन्छ। गल्लीको टुप्पोमा लेखेर राख्नुस्। पूरै रोक्नुस्, हेर्नुस् अनि जानुस्। अर्को नियम कमसे कम १०० मिटरमा थाहा हुनुपर्छ इन्डिकेसन कता जाने भनेर। त्यो खोइ ?

होला आवेगमा आस्थाले केही त्रुटिपूर्ण बोलिन् होला। तर नेपाल पुलिसबाट ‘तँ’ नखाने कोही छौँ ? त्यो पनि बिना कारण ! हामी त यो कामको स्ट्रेस हो भनेर हाँसेर छाडिदिन्छौँ तर अब केटाकेटीले रियाक्ट गरिन्। कुरा यत्ति हो।

सम्मान दिए मात्र सम्मान पाइन्छ
राजेन्द्र थापा


विमानस्थल सुरक्षाका दृष्टिकोणले अति संवेदनशील क्षेत्र हो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर बनाइएका नियमकानुन पालना गराउनु तैनाथ सुरक्षाकर्मीको जिम्मेवारी हुन आउँछ भने त्यसको पालना गर्नु हरेक जिम्मेवार नागरिकको कर्तव्य हो।

ज्याकेट खोल भनेपछि खोल्नै पर्छ, मन्त्रीले पनि। एकचोटी मलाई पनि ज्याकेट खोल्नुहोस् भन्दा खोलेको थिएँ।

पूर्वजर्नेली कार्ड देखाए चेकिङ नै गर्न पर्थेन। साथको प्रहरी असईले शायद मलाई चिन्यो र भैगो छाड्दे भन्यो तर मैले भनेँ, ‘हैन भाइ यिनले सुरक्षा चुक गरे भने हाम्रै ज्यान जान्छ नि !’

कलाकार भन्दैमा राज्यको सुरक्षा संवेदनशीलतामा छुट हुन्छ र ? त्यसैले सुरक्षा जाँचमा गरेको असहयोग उनको पहिलो गल्ती हो। भित्र प्रवेश गर्नुअघि नै सुरक्षा अधिकारीले उनलाई कफी बाहिरै राखेर आउन भनेकी छिन् तर राउतले निर्देशनको बेवास्ता गर्दै भित्र जबरजस्ती पसेकी छन्।

विमानस्थलको सुरक्षा चेकिङमा जाँदा कुनै स्टोर तथा कफी हाउसमा झैँ मस्तराम शैलीमा प्रस्तुत भएकी छन्। जसमा सुरक्षा अधिकारीले कफी राखिदिएर ज्याकेट खोल्न पठाएकी छन्। यहीँनेरबाट सुरु भएको राउतको आक्रोशले थप उत्तेजना पैदा गर्न खोजेको देखिन्छ। आम यात्रुले ज्याकेट खोलेर सुरक्षामा सघाइरहँदा उनले मनमौजी ढङ्गले जबर्जस्त नियम तोड्न खोजेर आफूलाई कस्तो नागरिक देखाउन खोजेकी हुन् ? उनको यो व्यवहार सभ्य नागरिकको परिचय त होइन नै, नियम मान्नुस् भन्दा सरासर पालना नगरी उत्तेजित व्यवहार प्रदर्शन गर्नु कदापि मर्यादित मान्न सकिँदैन।

सुरक्षा चेकिङमा चिया, कफी, चकलेट, प्लास्टिक, झोलालगायत कुनै पनि कुरा छोड्न पाइँदैन र बेवारिसे अवस्थामा भेटिए तत्काल प्रहरीलाई खबर गर्नुपर्छ तर कफी लैजानुस् भन्दा उल्टै छोड्न खोज्नु उनको अटेरीपन प्रस्ट देखिन्छ। सबैले यसरी नै खानेकुरा तथा अन्य सामानहरू छाड्दै जाने र प्रहरीले सफा गर्दै जाने हो सुरक्षा जाँच र त्यहाँका दृश्य कस्तो देखिएला ? एक त सुरक्षा जाँचलाई पालना नगर्ने, त्यसमाथि आफैले कफी लिएर जानुपर्नेमा सुरक्षाकर्मीले दिन खोज्दा पनि नलिई जानु र सुरक्षा निर्देशन नमान्ने ?

सुरक्षा जाँच गर्ने ठाउँमा जसरी कफी लिन नमानेको र पोखेको देखिन्छ त्यो झनै असभ्य छ। उनलाई ती सुरक्षाकर्मीले तत्काल हिरासतमा लिन सक्थ्यो। सुरक्षा नियम पालना नगर्नेदेखि डिउटीको अधिकारीसँग अभद्र गरेको आरोपमा राउतलाई छानबिनका लागि सुरक्षा इन्चार्जकोमा लगी उनको उडानसमेत रद्द गर्न सक्थिन्। डिउटी अधिकारीमाथि चुनौती दिँदै औँला ठड्याउँदा पनि सुरक्षा अधिकारीले पुरापुर धैर्य र संवेदनशीलता अपनाएको देखिन्छ।

जहाँसम्म प्रहरी अधिकारीले राउतको हात समातेर कफी लैजान भनेको र उनले अटेरी गरेपछि उनकै झोलामा कफी खन्याउन खोजेको छ, यो परिस्थितिमा उनलाई गइस्योस् भन्दै पठाउन सकिँदैनथ्यो। ती महिला अधिकारीको ठाउँमा अर्कै कोही अधिकारी हुन्थ्यो भने राउतलाई तत्कालै समातेर कस्टडीमा लैजान पनि सक्थिन् तर ती प्रहरी अधिकारीले आफूमाथि औँला ठड्याउँदासमेत संयमित देखिएकी छन्।

व्यस्त सुरक्षा जाँच, त्यसैमाथि डिउटीको सुरक्षा अधिकारीसँग गरेको व्यवहार हेर्दा जे–जस्तो अवस्थामा जे–जति संयमितता अपनाउनु पथ्र्यो त्यो पुरापुर पुरा गरेको छ। एक त ओभर डिउटी, त्यसैमाथि अटेरी ! गल्ती पनि गर्ने अनि उल्टै बर्दीको अधिकारीलाई औँला ठड्याउने राउत शैली कदापि मर्यादित मान्न सकिँदैन।

यति भइसकेपछि पनि उनले गाडीमै लाइभ ब्रोडकास्ट गर्दै जुन शब्द प्रयोग गरी सिङ्गो प्रहरी सङ्गठन र सुरक्षा संवेदनशीलतालाई चुनौती दिने गरी फेसबुकमा लाइभ बोलेकी छन्, त्यो अर्काे महागल्ती हो।

मानी लिऔँ सुरक्षाकर्मीबाट गल्ती नै भएको रहेछ भने पनि त्यसको कानुनी उपचार खोज्न सकिन्छ। सभ्य र मर्यादित भाषामा प्रश्न उठाउन सकिन्छ तर सुन्नेलाई पनि शरम लाग्ने गरी नीच शैलीमा गरिएको गालीले उनको असली रूप मात्र देखाएन, उनका हजारौँ फ्यानका लागि पनि लज्जाबोध गराएको छ।

डिउटीको प्रहरी अधिकारीमाथि भएको अभद्र व्यवहार र गाली गलौचको कानुनी उपचार हुनुपर्छ। कुनै पनि बहानामा अराजकता मच्चाउने छुट कसैलाई पनि दिइनु हुँदैन। पहिला आफू सभ्य बनौँ त्यसपछि अरूबाट सभ्यता खोजौँ। सम्मान मागेर पाउने चिज होइन, पहिला दिनुपर्छ त्यसपछि माग्नै पर्दैन आफै आउँछ।

बाेल्दिने काेही भएन
प्रमोद खरेल


आस्थाको बारेमा बोल्ने कुनै संघसंस्था नै रहेनछन् भन्ने महसुस भएको छ। आस्थाका बारेमा यति ठूलो घटना भयो कि जसले मुद्दाको आकार लिनसम्म पुगेको छ। गायिका आस्थालाई पक्राउ गर्ने अनुमति प्रहरीले पाइसकेको छ तर यति धेरै संघसंस्था हुँदा पनि कसैले एक शब्द आवाज उठाउन नसकेको देख्दा कुनै पनि संघसंस्था नभएको महसुस गरेको छु।

Leave A Comment