सभामुखको साँपसिँढी

शुक्रबार, १० माघ २०७६, ११ : ४२ शुक्रवार
सभामुखको साँपसिँढी

हिजोआज डिजिटल साँपसिँढीको खुब चल्तीमा छ। मोबाइलमा खेल्न मिल्ने साँपसिँढीको लोकप्रियता बढेसँगै केहीले राजनीतिलाई यही डिजिटल साँपसिँढी खेलसँग दाँज्न थालेका छन्। अब हेर्नुस् न, साँपसिँढी खेलझैँ कुनै व्यक्ति पुच्छरबाट एक्कासि शिखरमा पुग्छ अनि कोही शिखर चाहिँबाट स्वाट्टै पुच्छरमा झर्छ।

यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महरा साँपसिँढीझैँ आउटै भए र प्रतिनिधिसभाको सभामुख पदबाट च्यूत भए। त्यसपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको सक्रियता ह्वात्तै बढ्यो। उनी साँपसिँढीको चर्चाको टुप्पैमा पुगिन्। तर तुम्बाहाम्फेको सक्रियता पनि लामो समय टिक्न सकेन। उनको उपसभामुखबाट सभामुखजस्तो गरिमामय पदमा उक्लने रहर साँपसिँढीझैँ पुच्छरमै पुगेर थचारियो। सभामुख हुन पाउने अभिलाषाले सार्वजनिक कार्यक्रममा समेत उपसभामुखबाट राजिनामा नदिने भाषण छाँटेकी उनको न सभामुख बन्ने सपना साकार भयो, न त उपसभामुख पदै रह्यो।

पार्टीको अगाडि उनको के लागोस् ! नेकपा डबलले उनलाई राजिनामा गराएर अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन गर्ने निश्चित भएपछि उनले बाध्य भएर राजिनामा ठोक्नु प-यो। बहुमतप्राप्त नेकपाले सापकोटालाई माघ १२ गते सभामुख बनाउने करिब निश्चित छ। संवैधानिक व्यवस्थाका कारण तुम्बाहाम्फेले राजिनामा नदिँदा नेकपाले सभामुख र उपसभामुख दुवैमा दाबी गर्न नपाउने अवस्था थियो। अनि त राजिनामा गराउनै प-यो। त्यसका लागि उनलाई मन्त्री पदको ललीपप देखाइएको छ।

फरक लिंग र फरक दलबाट सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्थाले तुम्बाहाम्फेको उपसभामुख पदै चिप्लियो। तर  डबल नेकपाका डबल अध्यक्षले तुम्बाहाम्फेलाई मन्त्री बनाउने आश्वासन त दिलाएका छन् क्यारे ! तुम्बाहाम्फे पनि कति बाठी ! डबल अध्यक्षको मन्त्री बनाउने साक्षीका रुपमा पार्टीका संसदीय दलका उपनेता सुवास नेम्बाङ र महासचिव विष्णु पौडेल पनि बसेका थिए। मन्त्री बन्ने आश्वासन पाएपछि नै उनले पदबाट राजिनामा दिएकी हुन् रे !
खैर, कुन बेला अडान केमा बेचिन्छ भन्ने कुरा पनि यो राजनीतिमा कसैगरी नबुझिने क्या !

Leave A Comment