समस्याको दीर्घकालीन समाधान

शुक्रबार, १० माघ २०७६, ०१ : ११ प्रकाश जंग थापा
समस्याको दीर्घकालीन समाधान

मानवीय जीवन समस्यारहित हुन सक्दैन। जीवन र समस्या एकअर्काका परिपूरक हुन्। जीवन छ, त्यसैले समस्या छ। त्यसैगरी समस्या छ, त्यसैले जीवन छ। तर ताल्चासँगै चाबी पनि निर्माण गरिन्छ भनेझैँ समस्यासँगै समाधान पनि उपलब्ध हुन्छ। जीवनमा आइपर्ने समस्याहरु यथावत् राखेर जीवन अर्थपूर्ण हुन सक्दैन। सम्पूर्ण समस्यालाई एकएक गर्दै समाधान गर्नुपर्ने हुन्छ। समस्याको दीर्घकालीन समाधानका लागि निम्न विधि प्रभावकारी रुपमा अवलम्बन गर्न सकिन्छः

मुख्य जड विश्लेषण गर्ने
कुनै पनि समस्याको जड बाहिर होइन, हामीभित्र हुन्छ। केवल विश्लेषण गर्न सक्नुपर्छ। यसलाई एउटा सादृश्यमार्फत बुझ्ने कोसिस गरौँ। मानौँ, तपाईंले आँगनमा एउटा बिरुवा रोप्नु भयो। त्यसले केही वर्षपछि ठूलो रुखको रुप पनि लियो रे ! अनपेक्षित रुपमा त्यो रुख अचानक कुरुप बन्दै गयो। यस्तोमा तपाईं रुख कुरुप भयो भनेर पात, हाँगामा रङ्गरोगन गर्न थाल्नुभयो भने के हुन्छ ? त्यसले कुरुप रुखको समस्या समाधान हुन्छ त ? समस्या पातमा होइन जरामा हुन्छ। त्यसकारण समाधान जरामा खोज्नु उपयुक्त हुन्छ। त्यसैगरी हामी पनि रुख जस्तै हौँ। हाम्रो मुख्य जरा भनेको मनोविज्ञान हो। यसर्थ समस्या बाहिर होइन, मस्तिष्क यानि मनोविज्ञानमा हुन्छ। भनाइको मतलब, समस्याको मुख्य जड हामीभित्र छ न कि बाहिर। समस्याको मुख्य जड कसरी विश्लेषण गर्ने भन्ने बुझ्न एउटा उदाहरणको सहायता लिऊँ।

मानौँ, तपाईंको स्वास्थ्य प्रतिकूल छ। यस्तोमा तपाईंको स्वास्थ्य प्रतिकूल हुनु पछाडिको मुख्य जड पत्ता लगाउने उद्देश्य प्राप्तिका लागि केही चरणका विश्लेषण गरौँ। अत्यधिक कार्यका कारण स्वास्थ्य बिग्रने सम्भावना उच्च रहन्छ। अत्यधिक कार्य गर्नुपर्ने पछाडिको कारण के ? यसमा संस्था प्रमुखको अत्यधिक माग हुन सक्छ। उसो भए तपाईं त्यस्तो संस्था प्रमुखको लागि किन कार्य गर्न बाध्य हुनुहुन्छ ? तपाईंमा गरिआएको कार्य छोड्दा अरु कार्य नपाइने पो हो कि भन्ने डर हुन्छ। आखिर तपाईंमा किन यस्तो डर उत्पन्न हुन्छ ? सही कार्य क्षमता नहुनु एउटा कारण हुन सक्छ। तपाईंसँग किन सही कार्य क्षमताको विकास हुँदैन ? अध्ययन र तालिमको कमी मुख्य कारण हुन सक्छ। यस विश्लेषणबाट तपाईंको प्रतिकूल स्वास्थ्य हुनु पछाडिको मुख्य जड अध्ययन र तालिमको कमी देखिन्छ।

अब केही वर्ष अध्ययन र तालिममा केन्द्रित हुनोस्। त्यसपछि तपाईंमा उचित कार्य क्षमताको विकास हुन्छ। तपाईंका लागि प्रसस्तै अवसरहरू उपलब्ध हुन्छन्। चाहेको ठाउँमा, चाहेको संस्थामा र चाहेको वातावरणमा कार्य गर्ने विकल्प उपलब्ध हुन्छन्। यसले तपाईंको जीवनस्तर सँगै खुसीको स्तर पनि बढाउँछ। तपाईं स्वस्थ रहन सक्नुहुन्छ। समस्याको मुख्य जड विश्लेषण गरेर समस्या समाधान गर्ने विधि अरु समस्या समाधानका लागि पनि उत्तिकै प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ। अफसोच, धेरैजसो समस्याको जडसम्म पुग्ने कोसिस गर्दैनन्। छिटो समाधानको उपाय खोजी गर्छन् र जीवनभरि समस्याको जञ्जालबाट उन्मुक्त हुन सक्दैनन्। त्यसैले हरेक समस्याको जड विश्लेषण गर्नोस्।

बक्स बाहिर सोच्ने
अधिकांश मानिस सीमित घेराभित्रै वा बक्सभित्रै सोच्ने गर्छन्। बक्सबाहिर सोच्ने हिम्मत गर्दैनन्, जसकारण समस्या यथावत् रहन्छ। बक्सबाहिर कसरी सोच्ने त्यसबारे बुझ्न नौ डट समस्या लिऊँ।

यस चित्रले नौ डट समस्याको प्रतिविम्वित गर्छ। यस समस्यामा नौवटा डटलाई चारवटा लाइन (रेखा) ले छोएर जानुपर्ने हुन्छ। यो कार्य गर्दा कलम उठाउन पाइँदैन। प्रायःले यो समस्या हल गर्न सक्दैनन्। चारवटा रेखा प्रयोग गर्नुपर्ने अवस्थामा पाँचवटा रेखा प्रयोग गर्न पुग्छन्। यस्तोमा नौ डट समस्या कसरी हल गर्ने ? यसका लागि समाधान गरिएको चित्र सहयोगी हुन सक्छ।

यस चित्रले नौ डट समस्याको समाधान प्रतिविम्वित गर्छ। चित्रमा नौ डट समस्या समाधानको लागि रेखा १ बाट सुरुवात गरिएको छ। त्यसपछि एरो (तीर) संकेतअनुसार कलम नउठाई अगाडि बढेर २, ३ र ४ रेखाहरुको सहायताले सम्पूर्ण नौ डट छोइएको देख्न सकिन्छ। यो अभ्यासमा समाधानका लागि नौवटा डटले निर्माण गर्ने बक्स बाहिर गइएको स्पष्ट देख्न सकिन्छ। प्रायजसो मानिस यो समस्या हल गर्ने क्रममा बक्सबाहिर सोच्नै सक्दैनन्। कयौँ प्रयास गरे पनि असफलता प्राप्त गर्छन्। त्यसैले समस्या समाधान गर्न बक्सबाहिर सोच्ने गर्नोस्। अरुको भन्दा फरक सोच राख्ने गर्नोस्।

सार्वजनिक भूक्षेत्र पहिल्याउने
कहिलेकाहीँ समस्याको प्रकृति हेर्दा समाधान असम्भव जस्तो लाग्छ। यस्तो परिस्थितिमा कमन ग्राउन्ड अर्थात् सार्वजनिक भूक्षेत्र पहिल्याएर समस्या सुल्झाउन सकिन्छ। समस्या समाधानको सार्वजनिक भूक्षेत्र कसरी पहिल्याउने त ? यसबारे बुझ्न एउटा प्रसंगको सहायता लिऊँ।

एउटा किसानको सम्पत्ति भन्नु नै १७ वटा घोडा थियो। उसले आफ्नो मृत्युपश्चात् ती सम्पूर्ण घोडा तीन जना छोराहरूको नाममा यस किसिमले भाग लगाउन चाह्योः
जेठो छोराः १÷२ × १७ घोडा
माइला छोराः १÷३ × १७ घोडा
कान्छा छोराः १÷९ × १७ घोडा
किसानको मृत्यु भयो। तीन भाइहरुमा १७ वटा घोडा भाग लगाउनुपर्ने अवस्था सिर्जना भयो। तीन भाइहरु बुबाकै चाहनाअनुरुप घोडा विभाजन गर्न सहमत थिए र सोहीअनुरुप आ–आफ्नो भाग दाबी गरे। यद्यपि यस प्रकारको विभाजनमा समस्या देखियो। १७ वटा घोडालाई दुई, तीन अथवा नौ अंकले कसरी भाग गर्ने ? उचित समाधानको सम्भावना देखिएन। ती भाइहरु झगडामा उत्रिए। झगडा गर्नु समस्याको समाधान थिएन। अन्ततः उनीहरु गाउँको विशिष्ट एवं सम्मानित व्यक्तिले भनेअनुसार घोडा भाग गरेर लिन राजी भए।

ती सम्मानित व्यक्तिले आफ्नो घरको एउटा घोडा थपेर १७ वटा घोडाको समूहमा मिसाए। अब घोडाको कुल संख्या १८ हुन गयो। तीन दाजुभाइलाई उनीहरुका बुबाले भनेअनुसार नै घोडा विभाजन गरिदिए जुन यस प्रकार छः
जेठो छोराः १÷२ × १८=९ घोडा
माइला छोराः १÷३ × १८=६ घोडा
कान्छा छोराः १÷९ × १८=२ घोडा
यसरी जेठाले ९, माइलाले ६ र कान्छाले २ वटा घोडा पाए, जसको कुल संख्या हुन्छ ९+६+२=१७ वटा घोडा। अनि सम्मानित व्यक्तिले आफूसँगै ल्याएको एउटा घोडा पुनः घर फिर्ता लिएर गए।

कुनै पनि समस्या आइपर्दा समाधानका लागि सार्वजनिक भूक्षेत्र पहिल्याउनु भनेको अठारौँ घोडा पहिल्याउनु हो। जस्तोसुकै जटिल समस्याको पनि समाधान पहिल्याउन सकिन्छ भन्ने विश्वास राख्नु हो। समग्रमा प्रगतिशील सोचको विकास गर्नु हो। सार्वजनिक भूक्षेत्र पहिल्याउन सफल प्रयास गरे जुनै पनि समस्या समाधान गर्न सकिन्छ।

Leave A Comment