‘सरकारको ठेक्का म लिन सक्तिनँ’

शनिबार, ११ माघ २०७६, ११ : ३५ शुक्रवार
‘सरकारको ठेक्का म लिन सक्तिनँ’ डा. धर्मकान्त बास्कोटा। तस्बिर : कृष्पा श्रेष्ठ

डा. धर्मकान्त बास्कोटा अहिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छन्। केपी ओली सरकारले उनलाई नियुक्त गरेको माघ १८ गते तीन महिना पुग्दैछ। मेडिकल काउन्सिलको नेतृत्व गरी नक्कली डाक्टरलाई कार्बाही गरेको क्रेडिट उनको खातामा छ। उनै बास्कोटासँग त्रिवि सुधार्ने योजना, स्ववियु चुनाव आदिमा केन्द्रित भएर शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानी :

उपकुलपति हुनुभएको झण्डै तीन महिना पुग्यो। केही नयाँ काम भए कि ?
म आउनेबित्तिक्कै तीन वटा काम गरेँ। पहिलो, असारमा सिनेट बसेर पास गर्नुपर्ने बजेट पास भएको थिएन, मंसिर १३ मा सम्पन्न गरेँ। दीक्षान्त समारोह सफलताका साथ सम्पन्न गरेँ। आठ वठा महाशाखा, ६ वटा केन्द्र, विभिन्न संरचना, ५ वटा अध्ययन संस्थान, ४ वटा  रिसर्च सेन्टरका प्रमुखहरुसँग छलफल गरेँ। खास भन्ने हो भने यसबीचमा मैले ओरिएन्टेसनको काम सकेँ।

सबैसँग बुझ्दा त्रिविको अवस्था कस्तो पाउनुभयो ? त्रिविको राम्रो पाटो र सुधार गर्नुपर्ने कुरा के रहेछ त ?
कहाँनिर सुधारको पाटो होइन कि सबैतिर नै सुधार्नुपर्ने देख्छु म। भौतिक संरचनाको त कुरा छँदैछ। विश्वविद्यालय नै विश्वविद्यालय जस्तो छैन। प्राध्यापकहरु तीन प्रकारका हुनुहुन्छ। एकथरि उत्कृष्ट, अर्काेथरि मध्यम र तेस्रोथरि राजनीति गर्ने। उत्कृष्टलाई अनुसन्धानमा लगाउने, मध्यमलाई उत्कृष्ट बनाउनेदेखि राजनीति गरेर माग मात्रै ते-याउनेलाई काउन्सिलिङ गर्नुपर्नेसम्मका काम छन्।

प्राध्यापक भन्नेबित्तिकै उहाँहरुले पढाउने मात्र हैन। रिसर्चको काम पनि गर्नुपर्ने हो तर त्यो देखिएको छैन। पढाउने त ५० प्रतिशत मात्र हो। इन्नोभेसन सेन्टरका रुपमा विश्वविद्यालयलाई उभ्याउनुपर्ने छ। सरकारको नीति–नियमलाई सहयोग पुग्ने गरी अनुसन्धान हुन पाएको छैन। सुधार्नुपर्ने कुरा त धेरै छन्।

अनुसन्धानमा लगाउनेतर्फ के योजना ल्याउनु भएको छ त ?
प्राध्यापकहरुसँग मिलेर गर्न सकिने कुरा धेरै छन्। मैले सरकारलाई अनुसन्धानमा जति बढी लगानी ग-यो, उति राम्रो हुन्छ भनेको छु। कुनै बेला तिनै रिसर्च सेन्टरहरुले थुप्रै काम गर्थे। अहिले सरकारको रिर्सच एनजिओ/आइएनजिओले मात्र गर्छन्। तर हाम्रै प्राध्यापकहरुमार्फत सिधै विश्वविद्यालयलाई दिन केले रोकेको छ ?

अहिले रिसर्च सेन्टरहरुलाई जम्मा पैसा ५० लाख रुपैयाँ दिइन्छ। यतिले के हुन्छ ? सरकारलाई बुझाउन नसकिएको हो या सरकार आफैँले नबुझेको हो ? मैले सरकारलाई कन्भिन्स गरिरहेको छु। जबसम्म हामीले अनुसन्धानलाई ध्यान दिदैनौँ, हाम्रो विकास हुन सक्दैन भन्ने सरकारलाई के अनुभूति गराउने प्रयासमा छु।

२०४६ सालपछि त्रिविभित्रका रिसर्च सेन्टरहरुमा भएका अनुसन्धानहरु प्रयोगमा आएनन् भन्ने निष्कर्ष एउटा अध्ययन प्रतिवेदनले निकालेको छ। खास समस्या केमा छ ?
विगतको त के भनौँ र ? जो जान्छ, त्यसको भिजन र कार्ययोजना चाहिन्छ। त्यो सोचलाई मूर्तरुप दिन बजेट चाहिन्छ। लगानी र भिजन भएपछि काम गर्ने टिम चाहिन्छ।  सबै कुराको अभाव छन्।

उसो भए तपाईंको भिजन र कार्ययोजना के छन् त ?
मैले १५ बुँदे योजना बनाएको छु। विश्वविद्यालयको भौतिक संरचना, छात्रावास, विदेशीलाई गेस्ट हाउस, रिसर्च गर्ने प्राध्यापकहरुका लागि आवास गृह, आइटी फ्रेन्ड्ली, त्यस्तैे एकेडेमिक क्यालेन्डर र त्यसको कार्यान्वयन। परीक्षा प्रणाली, मूल्याङ्कन प्रणालीमा सुधार अर्थात् नतिजा छिटो निकाल्ने र शिक्षणको स्तर बढाउने आदि कुरा छन्।

सबै उपकुलपतिले योजना बनाउने तर कार्यान्वयन नहुने अनि त्रिविलाई बेरोजगार उत्पादन गर्ने कारखाना पनि भन्छन् नि ?
मेरो उद्देश्य तीन प्रकारका जनशक्ति उत्पादन गर्ने हो। पहिलो, बजारको मागअनुसार देश निर्माणमा चाहिने जनशक्ति। जस्तो अहिले टनेल बन्ने भयो तर दक्ष कर्मचारी हाम्रामा छैनन्। यसका लागि काम गरिन्छ। दोस्रोेमा, भाषा, साहित्य, कला, संस्कृति, भूगोल, इतिहास पढेको मान्छेहरुको व्यवस्थापन। उनीहरुको आवश्यकता देशलाई हुन्छ। जस्तो लिम्पियाधुराको विवाद आएपछि मैले प्राध्यापकहरुलाई यसबारे अनुसन्धान गर्न भनेको छु ताकि सरकारले खोजेको बेलामा बुझाउन सकियोस्। त्यसकारण पढ्ने पढाउनेले ध्यान दिनुप-यो।

गुणस्तरीय शिक्षा भन्दै गर्दा तपाईं नियुक्त हुनुअघि त्रिवि शिक्षा आयोगको नतिजामा नै चरम लापारबाही देखिएको थियो। कसरी गुणस्तरीय शिक्षाको उद्देश्य प्राप्त होला त ?
मैले त्यहाँका कर्मचारीसँग कुराकानी गरेको छु। यो अब लागु भइहाल्छ। लोकसेवा आयोगको मोडालिटीअनुसार सेलेक्सन प्रक्रियामा मेरो जोड छ। म आफू पनि कसैलाई जागिर खुवाउँदिनँ, अरुलाई पनि यस्तो अनैतिक काम गर्न दिन्नँ।

मेडिकल शिक्षाको समस्यालाई कसरी हेरिरहनु भएको छ ?
सामाधान भइसक्यो।

विद्यार्थीले फिर्ता रकम पाउँछन् त ? न त अवैध असुल्नेलाई कार्बाही भएको छ, न त विद्यार्थीले नै रकम रकम पाएका छैन् !
भौचर हुनेले बढी तिरेको रकम फिर्ता पाउँछन्। कार्बाही सरकारले गर्छ। पत्रकारहरुले पनि स्पष्ट लेखिदिनु प-यो। समस्या चारथरिका छन्। विश्वविद्यालयले अनुगमन गरेन, मेडिकल काउन्सिलले हेरेन भन्नुहुन्छ भने म काउन्सिलमा हुँदा बेइमानी हुन दिइनँ। १७ वटा मुद्दा जितेको छु। विद्यार्थी मात्रै मारमा परे भनेर लेख्दा उनीहरुको बदमासीमा आँखा चिम्लनु भएन। नम्बर नल्याउने विद्यार्थीहरु पनि जसरी भए पनि घुस्न खोज्छन् भन्ने हामीलाई थाहा छैन र !

गैरकानुनी पैसा दिने अभिभावक दोषी भन्न खोज्नुभएको हो ?
हो नि !

जो बढी तिरेर आउन खोज्छन्, त्यसलाई सिधै हुन्न नभनेर पैसा असुल्ने कि दोष दिने ?
यो विगतको इतिहास हो। यो अब चल्दैन।

मेडिकल सञ्चालकहरु दलहरुसँग कुम जोडेका कारण मातहतका निकायले काम गर्न नसकेका हुन् ?
हैन, सानो मुलुक छ। सबैसँग संगत हुन्छ तर संगतकै आधारमा बेइमानी गर्न दिनु हुन्न। परिणाम केही दिनमा देख्नुहुन्छ।

प्रसंग बदलौँ। त्रिचन्द्र कलेजका क्याम्पस चिफ विद्यार्थीबाट कुटिनु भयो। प्राध्यापक कहिलेसम्म यसरी कुटिने ?
यस्तो विकृतिको कुरै नगरौँ। मेरै टेबुल पनि लडाइदिए। यो हाम्रो विकृति हो। विद्यार्थी पढ्न नपर्ने, प्राध्यापक पनि त्यस्तै ! खिया लागेका कर्मचारी छन्, जताततै। नहुनु पथ्र्यो, भयो। किटानी जाहेरी दिन लगाएको हो। गृहसचिव, गृहमन्त्री, शिक्षा सचिव, मन्त्री, आइजीपी भएको बेला मैेले यस्तो प्रवृत्ति अन्त्य गर्नुस् भनेकै हुँ।

अभद्र व्यवहार मात्र भनियो। सिसिटिभी हेर्दा क्याम्पस चिफसँग कुरा गर्दा त मार्ने नै उद्देश्यले विद्यार्थी आएका थिए भन्नुभएको थियो नि ?
अभद्र व्यवहारमा मात्र विद्यार्थीलाई कार्बाही गर्नु सरकारको कुरा भयो। सरकारको ठेक्का म लिन सक्तिनँ।

प्राध्यापकको सुरक्षा गर्ने जिम्मा त तपाईंकै होला नि ?
मैले गर्छु। प्रदीप सर निरन्तर सर्म्पकमा हुनुहुन्छ।

विद्यार्थी अराजक छन्, है ?
पढ्ने विद्यार्थी त छैनन्। विद्यार्थीको रुपमा छिरेका गुण्डा चाहिँ अराजक हुन्। कोही विद्यार्थीले प्राध्यापकलाई कुट्छ ? तर त्यस्ता अराजकलाई प्रहरी प्रशासनले ठेगान लगाउँछ।

फागुन १४ गते स्ववियु चुनाव हुने हल्ला छ, हुन्छ त ?
हुनुपर्छ।

प्रमुख विद्यार्थी संगठनहरु नेविसंघ, अखिलको केन्द्रीय समिति छैन। हुन देलान् त ?
हुनुपर्छ। त्रिवि आफ्नो क्यालेन्डरमा तलमाथि गर्दैन। २४ गते परीक्षा पनि हुन्छ।

स्ववियु तालिका कहिले सार्वजनिक हुन्छ त ?
केही दिनमा सार्वजनिक गर्छाैं। नेवि संघका प्रतिनिधि तोकिएका छैनन्। विप्लप नेतृत्वले सरकारले थुनेको १०० विद्यार्थीलाई बिनाशर्त रिहाइको कुरा गरेको छ। त्यो सरकारले गर्ने काम भयो।

भनेपछि स्ववियु चुनाव हुन्छ त ?
हुनुपर्छ। विद्यार्थीको नेतृत्व विकास भएको खै त ? त्यसका लागि पनि चुनाव आवश्यक हो। फ्रेस नेतृत्व आउन प-यो नि !

तपाईं त दलले नियुक्त गरेको व्यक्ति, आफूअनुकूल काम लगाउँछन् भन्ने छ। तपाईं चाहिँ कत्तिको स्वतन्त्र भएर काम गर्न पाउनु भएको छ ?
त्यस्तो अप्ठेरो छैन। मेरो काममा कसैले बाधा अड्चन गरेको छैन।

Leave A Comment