ज्याकेट भुल्दा पनि चिट

सोमबार, १३ माघ २०७६, १० : ५१ शुक्रवार
ज्याकेट भुल्दा पनि चिट

कृष्ण श्रेष्ठ, नाइट ट्याक्सी               

सिन्धुपाल्चोकबाट काठमाडौं आएको त लामै समय भयो तर ट्याक्सी चलाउन थालेको भने धेरै भएको छैन। त्यस्तै एक वर्ष जति भयो। ट्याक्सी चलाउन थालेपछि धेरै दुःख पाएँ। ट्याक्सी चलाउँदा सबैतिरबाट हेपिएको जस्तो लाग्छ। रोडमा उभिएका ट्राफिक प्रहरीबाट त झन् धेरै हेपिएको जस्तो लाग्छ।

सोझा नै ट्राफिकको फन्दामा
हामी काम गरेर खाने मान्छेलाई ट्राफिक प्रहरीले छड्के चेकिङमा पारिरहेको हुन्छ। ट्याक्सी चालकलाई दाइ ठमेल जाऊँ न भन्छन्। अनि मिटरमा जाऊँ भनेर सोध्दैनन् एकै पटक कति लिने भन्छन्। कति लिने भनेपछि अनुमान गरेर यति दिनुस् भन्नु परिहाल्यो। अनि हामी छड्के चेकिङमा आएको तपाईं हाउमचमा पर्नु भो भनेर चिट काटिदिने गरेका छन्। छड्के चेकिङका नाममा हामीलाई नै सताइरहेका छन्। हामीले एक दुइ पैसा बढीभन्दा हाउमचको चिट थमाइदिने ट्राफिकले टुटलपठाओले बह्मलुट गर्दा किन कारबाही गर्दैन। यसमा मलाई अचम्म लाग्छ।

ज्याकेट भुल्दा नि कारबाही
अहिले ट्याक्सीलाई जताततैबाट कारबाही गर्ने होड चलेको छ । कहिलेकाहीँ खाना खान जाँदा होस् या बाहिर निस्कँदा ट्याक्सीको ज्याकेट लगाउन भुलियो भने चिट कादिदिन्छ। केही सयम अगाडि सुकेधाराकै कुरा गरौँ। म  ट्याक्सीको लाइनमा पछाडि बसेको थिएँ। एकजना साथी ट्वाइलेट जाँदा ज्याकेट ट्याक्सीमै छोडेर जानुभएको थियो। उहाँलाई ड्रेस नलगाई किन हिँडेको भनेर कारबाही ग¥यो। हावाको भरमा कारबाहीको भागिदार बन्दा पेसा नै छोडौं जस्तो लाग्छ।

ट्याक्सीलाई दोष
पछिल्लो समय ट्याक्सीले गर्दा जाम भएको हल्ला गराएका छन्। ट्याक्सीवालाले बाटोमा हिँड्दै गर्दा साइड लाइट बालेर प्यासेन्जर ट्याक्सीमा चढाउने अधिकार त  छ नि। प्यासेन्जर कहाँबाट चढाएको भनेर खेदाइखेदाइ कारबाही गर्छ सरकारले। अब कि सरकारले पार्किङ बनाइदिएर यो ठाउँबाट मात्र ट्याक्सीले प्यासेन्जर बोक्ने भन्ने नियम लगाउनु प-यो। हैन भने जथाभावी चिट काटेर हामीले कहाँको पैसाले ट्याक्सी साहुलाई पैसा दिनु। छोराछोरी कसरी पढाउनु। कोठभाडा तिर्नु। कि हामीलाई लखेट्ने सरकारको नीति हो। लखेट्ने हो भने हो भन्नुप-यो। हैन भने अति गर्न त भएन।

हामीलाई शान्ति सुरक्षा छैन। केही दिनअगाडि गंगबुमा एकजना नाइट ट्याक्सी चालकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। नाइट ट्याक्सी ड्राइभरको   सुरक्षा खै। सरकारले नाइटमा पनि सुरक्षा व्यवस्था अलिक कडा बनाइदिनुप-यो भन्न चाहन्छु।

नाइटका यात्रु
मैले बिहानदेखि बेलुका ९, १० बजेसम्म ट्याक्सी चलाउँछु। दिउँसोको मात्र कमाइले घर चलाउन कठिनाइ छ।  त्यस कारण नाइटमा पनि ट्याक्सी चलाइरहेको हुन्छु। ट्याक्सीमा चढेका यात्रु सबै असल हुन्छन् भन्ने लाग्दैन। कपल जोडी चढे भने उनीहरु आफ्नै तालका कुरा गर्छन्। अलिक मातेका चढे भने के बोल्दैछु भन्ने नै बिर्सिन्छन्। नाइटका यात्रु थरि थरिका हुन्छन्।
प्रस्तुति : भोला अधिकारी

Leave A Comment