पोखरामा नाटक महोत्सव सुरु

सोमबार, १३ माघ २०७६, १२ : ४३ शुक्रवार
पोखरामा नाटक महोत्सव सुरु

पोखरा थिएटरको आयोजनामा पोखरामा सोमबारदेखि महानगरस्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ। माघ १४ गतेसम्म चल्ने ९ दिने नाटक महोत्सवमा ९ वटा नाटक प्रदर्शन हुनेछन्।  उद्घाटन नाटकका रुपमा पोखरा थिएटरकै प्रस्तुति ‘कोही किन बरबाद होस्’ नाटक मञ्चन गरिएको थियो। विजय मल्लले लेखेको नाटकलाई परिवर्तन कार्कीले निर्देशन गरेका हुन्। विभिन्न विद्यालयमा अध्ययनरत तथा पोखरा थिएटरमा अभिनय सिकिरहेका विद्यार्थीको यो नाटकमा अभिनय रहेको थियो। यो मनोवैज्ञानिक नाटक हो। नाटकमा विद्यार्थी, शिक्षक र अभिभावक मुख्य पात्र हुन्। नाटकमा प्रथम श्रेष्ठ, एभोन केसी, उत्सर्ग सुवेदी, तिर्सना थापामगर, मिलन श्रेष्ठ, संगम लामिछाने, सूर्य कुइँकेल, मानसी पनेरु, दृष्टि भुजेल, निरजरा पुन, रिजन केसी र आभा पौडेलको अभिनय छ।

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ हो भन्ने मूल नाराका साथ पोखरा थिएटरले महानगर स्तरीय विद्यालय नाटक महोत्सव सुरु गर्न लागेको हो। नाटक हेर्न विद्यार्थीलाई एक सय र अन्य सर्वसाधारणलाई दुई सय शुल्क लाग्नेछ। महोत्सवमा कुल नौ वटा नाटक मञ्चन हुनेछन्। माघ ७ गतेबाट भने बिहान साढे ११ बजे र दिउँसो २ बजे गरी दैनिक दुई सो नाटक मञ्चन हुनेछन्। महोत्सवमा हिल पोइन्ट माध्यमिक विद्यालयको नाटक ‘ऐना’, प्रतिभा माध्यमिक विद्यालयको ‘गलबन्दी’, डायमण्ड माध्यमिक विद्यालयको ‘मुना मदन’, बाल कल्याण हाई स्कुलको ‘मेरो बचपनको साथी’, प्रगति माध्यमिक विद्यालयको ‘आधा मरेका सन्तानहरु’, राइजिङ स्टार एकेडेमीको ‘आह्वान’, भानुभक्त आवासीय माध्यमिक विद्यालयको डाँडाखेत र माघ १४ गते महोत्सवको अन्तिम दिन एसओएस हर्मन माइनर स्कुलको नाटक ‘मित्रतामा धोका’ मञ्चन गरिने महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए। छनोट भएका नाटक ३३ मिनेटदेखि १ घण्टासम्मको अवधिका छन्। मञ्चन गरिने नाटक छनोट समितिका संयोजक प्रकाश घिमिरे थिए भने समितिमा अनुप बराल, प्रमिला तुलाचन, गणेश पौडेल र परिवर्तन सदस्य रहेका थिए। नाटक महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए।

Leave A Comment