माहुरीबाट टाेकाउने थेरापी

मङ्गलबार, १४ माघ २०७६, १२ : ०७ शुक्रवार
माहुरीबाट टाेकाउने थेरापी

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

माहुरीको मह त मिठो हुन्छ नै। माहुरीको यक्ति मात्रै गुण छैन। सामान्यतः माहुरीले टोक्दा व्यक्तिमा आतेस लाग्नु तथा तनाव हुनु स्वाभाविकै हो। तर उपचारात्मक थेरापीका रुपमा समेत माहुरीको टोकाइ व्यक्तिमा प्रयोग गरिने भएकाले आत्तिनु पर्दैन।

माहुरीको टोकाइ व्यक्तिका लागि थेरापीको रुपमा प्रयोग गरिनु लाभदायक छ। अंग्रेजीमा ‘बी बाइट थेरापी’का रुपमा चिनिने यो थेरापीको लोकप्रियता बढ्दै गएको देखिन्छ। चीनबाट सुरु भएको माहुरीबाट व्यक्तिको शरीर टोकाइने (चिल्ने) थेरापी आजकाल नेपालमा पनि सुरु भएको छ।

हार्मोनको निष्कासन
माहुरीले व्यक्तिलाई चिल्दा ‘टाइलोशन’ नामक हार्मोन निष्कासन हुन्छ। यस किसिमको हार्मोन माहुरीको खिलबाट निष्कासन हुने भएकाले चिल्ने क्रममा व्यक्तिको शरीरमा खिल गाडीएसँगै यस्तो हार्मोन शरीरमा प्रवाह हुन्छ। शरीरमा माहुरीको खिल गाडिएको अवस्थामा हार्मोन फैलिएपछि नसा तथा मांशपेशी फुल्न थाल्छन्। नसा तथा मांशपेशी फुल्दा शरीर सुन्निने, चिलाउने, रातो हुनेजस्ता लक्षण देखिन्छन्। यसरी नसा तथा मांशपेशी फुल्दा व्यक्तिको शरीर लचिलो हुन सहयोग पुग्छ। शरीरका नसा तथा मांशपेशी लचिलो हुनाले सिंगो शरीरै लचिलो भई शरीर मर्किने तथा सड्किने समस्याबाट समेत बच्न सकिन्छ। त्यति मात्रै हैन यस्तो थेरापीले शरीरका नसा फुल्ने र चलायमान हुने भएकाले रक्तप्रवाहमा समेत सहजता ल्याउँछ। जसले व्यक्ति स्वस्थ रहन सहयोग गर्छ।

त्यसैगरी चिल्ने क्रममा माहुरीबाट ‘पेपटाइड मेलिटिन’ नामक हार्मोन निष्कासन हुन्छ। यो हार्मोनले मस्तिष्क सक्रिय राख्ने भएकाले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ। यसरी माहुरीले टोक्दा व्यक्तिमा डोपामाइन्, मेलोटोनिन्, इन्डोर्फिनजस्ता खुसीका हार्मोनको निष्कासन हुन्छन्। जसले व्यक्तिमा खुसी उत्पन्न भई तनाव कम हुँदा व्यक्ति मानसिक रुपमा समेत स्वस्थ रहन सक्छ। माहुरीबाट निष्कासन हुने ‘पेपटाइड मेलिटिन’ हार्मोनका कारण शरीरको दुखाइ, हाडजोर्नी दुख्ने तथा सुन्निने, पोल्ने समस्या कम हुन सहयोग मिल्छ।

वयस्कलाई दुईवटा माहुरी
माहुरीले टोक्दा ‘टाइलोसन’ र ‘पेपटाइड मेलिटिन’जस्ता हार्मोनका कारण व्यक्तिको शरीर सुन्निने भए पनि शरीर फिट र स्वस्थ रहन माहुरीको टोकाइ लाभदायक हुन्छ। माहुरीले टोक्दा २४ देखि ४८ घण्टासम्म सुनिन्छ। त्यसपछि क्रमैसँग सुन्निएको बस्न थाल्छ। शरीर सुन्निँदा आत्तेस हुनु स्वभाविकै हो। तर यसले शरीरमा लचकता दिन्छ। 

यस किसिमका थेरापी पाको र वयस्क व्यक्तिका लागि उपयोगी हुन्छ। सामान्यतः वयस्क व्यक्तिका लागि एकदेखि दुईवटा माहुरीले शरीरमा टोकाइन्छ। दुईवटाभन्दा बढी माहुरीले चिल्दा भने व्यक्तिको शरीर सुन्निएर रक्तप्रवाहमा अवरोध तथा तनावका कारण व्यक्ति विहोस हुन सक्छ। त्यसैले थेरापीको क्रममा दुईवटाभन्दा बढी माहुरीले शरीर नटोकाएकै राम्रो। हात र खुट्टामा टोकाउनु उचित हुन्छ। हात वा खुट्टामा माहुरी राखिदिएर त्यसलाई चलाउँदा तथा दुःख दिँदा माहुरी रिसाएर चिल्छ। यसरी टोकाउँदा संवेदनशील अंगमा भने टोकाउनु हुन्न। हप्तामा एकपटक वा महिनामा दुईपटक यो थेरापी गर्नाले रोगप्रतिरोधात्मक क्षमता बढ्छ। जसले विभिन्न किसिमका रोग लाग्नबाट समेत बच्न सकिन्छ। तर यसरी चिल्दा माहुरीको भने मृत्यु हुन्छ।

फाइदा र सुन्निएको कम गर्ने उपाय
बाथ, युरिक एसिड, हाडजोर्नी, शारीरिक दुखाइजस्ता समस्या भएका व्यक्तिका लागि समस्याबाट छुट्कारा पाउन थेरापीका रुपमा माहुरीलाई टोकाउनु उचित हुन्छ। माहुरीको टोकाइ (चिलाइ) ले शरीरमा निष्कासन हुने हार्मोनका कारण हाडजोर्नी लचिलो बनाउन सहयता पु-याउँछ। यस्तो थेरापी अधिकांश दीर्घ रोगीको समस्या भएका व्यक्तिमा गर्न सकिन्छ। दीर्घरोगको समस्या भएका व्यक्तिमा यस्तो किसिमको थेरापी गर्नाले दुखाइ कम हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्छ। जसले दीर्घरोगको पीडा कम गर्न सकिन्छ।

छिटो एलर्जी हुने किसिमको शरीर भएका व्यक्तिमा माहुरीले चिल्दा चाँडै असर हुन्छ। थेरापीका क्रममा माहुरीको टोकाइबाट व्यक्तिको शरीर सुन्निएको, रातो भएको, चिलाएको अवस्थामा शरीरको जुन ठाउँमा चिलेको छ, त्यही भागमा विभिन्न किसिमका क्रिमको प्रयोग गर्नाले सुन्निने तथा चिलाउने अवस्था कम हुन्छ। ‘हाइड्रो कर्टिसेन’ नामक तत्व रहेका क्रिम चिलेको भागमा लगाउँदा सुन्निएको, चिलाएको तथा दुखाइ कम हुन सक्छ।

यस किसिमको थेरापी गर्नाले बान्ता हुने, झाडापखाला लाग्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिन सक्छन्। त्यसैले यो थेरापी तालिमप्राप्त थेरापिस्ट तथा विज्ञको सल्लाहमा गर्नुपर्छ। थेरापीको क्रममा समस्या उत्पन्न भए त्यसको व्यवस्थापन गर्न सक्ने विषयको निगरानीमा माहुरीले चिल्ने थेरापी गर्नु उचित हुन्छ।

थेरापी गर्दा मात्रै हैन, माहुरीको मह खाँदा पनि ख्याल गर्नुपर्ने हुन्छ। महमा माहुरीको ‘मेनम’ नामक हार्मोन मिसिएको हुन्छ। घारबाट काडेर प्रशोधन नगरी सिधै मह खाँदा माहुरीमा हुने हार्मोन महमा मिसिने भएकाले शरीर चिलाउने, पोल्ने, सुन्निने, शरीरमा एलर्जी देखिने समस्या हुन सक्छ। त्यसैले निचोरेर तथा छानेर वा प्रशोधन गररे मात्र मह खानु नै उचित हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment