सम्पत्ति अरूलाई दान वा बकस दिन मिल्छ कि मिल्दैन ?

मङ्गलबार, १४ माघ २०७६, ०३ : १० शुक्रवार
सम्पत्ति अरूलाई दान वा बकस दिन मिल्छ कि मिल्दैन ?

आफूसँग भएको सम्पत्ति अरूलाई दान वा बकस दिन मिल्छ कि मिल्दैन ? यदि मिल्दैन भने कस्तो अवस्थामा मिल्दैन ?

–कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पत्ति कुनै व्यक्तिलाई वा धार्मिक, सामाजिक, सार्वजनिक वा सामुदायिक कार्यका लागि निःशुल्क रुपमा दिनुलाई दान भनिन्छ भने कसैलाई पारिवारिक स्नेहको कारण आफ्नो हक, स्वामित्व पुग्ने सम्पत्ति इनाम, पुरस्कार वा बक्सिसको रुपमा दिने सम्पत्तिलाई बकस भनिन्छ। मुलुकी देवानी संहिता,२०७४ को परिच्छेद १० मा दान बकससम्बन्धी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ। दान बकस गर्दा आफ्नो मात्र हक लाग्ने सम्पत्ति दिन पाइन्छ। यदि सम्पत्तिमा आफ्नो बाहेक अरु कसैको पनि अधिकार छ भने त्यस्तो सम्पत्ति आफ्नो मात्र इच्छाले दान बकस गर्न पाईँदैन। दान वा बकस दुई प्रकारले गर्न मिल्छ। दान वा बकस दिने बित्तिकै लिने व्यक्तिले चलाउन पाउने गरी दान/बकस दिनु एउटा तरिका हो भने कुनै निश्चित समय पछि वा दान वा बकस पत्र दिने व्यक्तिको मृत्युपछि मात्र दान वा बकस प्राप्त गर्ने व्यक्तिले चलाउन पाउने गरी दिनु अर्को तरिका हो।

दान वा बकस दिँदा बदर हुने अवस्था पनि आउन सक्छ। बदर भएको खण्डमा त्यस्तो दान वा बकस दिइएको सम्पत्तिमा दिने व्यक्तिको अधिकार रहन्छ। दान वा बकस दिँदा त्यस्तो सम्पत्ति पाउने व्यक्तिले स्वीकार नगरेमा दिइएको दान वा बकस स्वतः बदर हुन्छ। त्यसैगरी कसैलाई शेषपछि हक हुने गरी सम्पत्ति दान वा बकस दिएकोमा दान वा बकस दिने व्यक्तिभन्दा लिने व्यक्तिको पहिले मृत्यु भयो भने त्यस्तो दान बकस पनि स्वतः बदर हुन्छ। गर्भमा रहेको शिशुलाई दिएको दान बकस पनि शिशु जीवित नजन्मिएमा स्वतः बदर हुन्छ।

दान बकस दिँदा आफ्नो निजी सम्पत्ति जसमा आफ्नै मात्र हक छ त्यस्तो सम्पत्ति मात्र दान अथवा बकस दिनुपर्छ। मुलुकी देवानी संहिता, २०७४ को दफा ४०९ अनुसार अन्य व्यक्तिको हक लाग्ने सम्पत्ति दान वा बकस दिएमा त्यस्तो दान वा बकस बदर गराउन सकिन्छ। अक्षम र अर्धसक्षम व्यक्तिबाट कुनै सम्पत्ति दान वा बकस पाएको छ भने त्यस्तो दान बकस पनि बदर हुन्छ।

शेषपछिको बकस पत्र गर्ने व्यक्तिले चाहेमा जुनसुकै बखत सम्बन्धित अधिकारीसमक्ष आफैँ उपस्थित भई निवेदन दिई आफूले गरेको शर्त वा बकस पत्र रद्द गर्न सकिन्छ। एकचोटी गरिसकियो भन्दैमा बकस पत्र फेरबदल गर्न नसकिने हुँदैन तर बदर नगरी अर्को व्यक्तिलाई बकस पत्र गरी दिन मिल्दैन।

दान वा बकससम्बन्धी कुनै कुरामा मर्का पर्न गएमा मर्का परेको व्यक्तिले आफूले दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले दुई वर्षभित्र तथा अन्य अवस्थामा भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले एक वर्षभित्र नालिस गरिसक्नु पर्छ।

Leave A Comment