होला त स्ववियु चुनाव ?

बिहिबार, १६ माघ २०७६, ०१ : ३७ प्रजु पन्त
होला त स्ववियु चुनाव ?

विद्यार्थी हकहितका लागि हुने स्ववियु निर्वाचन नियमित हुन नसक्दा यसको महत्व नै थाहा नपाउने अवस्था सिर्जना हुन थालेको छ। तीन वर्षअघि केही सीमित क्याम्पसहरुमा स्ववियु निर्वाचन भए पनि विद्यार्थीको ठूलो चाप रहेका राजधानीका अधिकांश क्याम्पसमा नियमित रुपमा चुनाव नहुँदा नयाँ पुस्ताका विद्यार्थीहरुले स्ववियुको चुनावबारे अनभिज्ञता देखाएका हुन्।

शंकरदेव क्याम्पस स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत डिलु गुरुङलाई परीक्षाको तनाव छ। आउँदो फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावबारे जिज्ञासा राख्दा उनले अनभिज्ञता प्रकट गरिन्।

‘अस्ति क्लासमा चुनावको कुरा त भयो तर यो किन हुँदैछ, केका लागि हुँदैछ भन्ने बुझ्न सकेकी छैन,’ गुरुङले भनिन्।

यस्तो अनभिज्ञता उनलाई मात्र हैन उनीसँगै परीक्षा फारम भर्ने लाइनमा उभिएकी सहपाठी अनिता कुमाललाई पनि चुनाव के कति कारणले हुन लागेको हो थाहा नभएको बताइन्।

तीन वर्षअघि केही सीमित क्याम्पसमा चुनाव हुँदा रत्नराज्य क्याम्पस पनि चुनाव सम्पन्न गराउने भाग्यमानी क्याम्पसमध्येमा परेको थियो। सक्षम रेग्मीले त्यो बेला मतदान गरेका थिए। अहिले स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना भएका रेग्मी यसपाला चुनाव हुन्छ कि हुँदैन भन्नेबारे आफूलाई जानकारी नभएको बताए।
‘मिति घोषणापछि भोट माग्न आउलान् अनि थाहा होला नि !’ रेग्मीले भने, ‘तर यो चुनावै किन हुन्छ भन्ने कुरा म बुझ्न सक्तिनँ।’

लघु जनमत संग्रहको रुपमा हेरिने स्ववियु चुनावबारे नियमित विद्यार्थीमध्ये अधिकांशलाई चासो नरहेको पाइयो। चुनाव भए के फाइदा हुन्छ भन्नेबारे पनि जानकार नभएको पाइयो।

अखिलका सहसंयोजक सुरेन्द्र बस्नेत नयाँ पुस्ताले थाहा नपाउनु स्वभाविक भएको बताए। ‘उनीहरुले भोट दिन पाएका छैनन्,’ बस्नेतले भने, ‘भोट गर्न पाएको भए पो कलेजमा सवाल–जवाफ र छलफल हुन्थ्यो र उनीहरु पनि जानकार हुन्थे !’

अहिले केही विद्यार्थी आफ्नै हकअधिकार बुझ्न नसकिरहेको र अब हुने स्ववियु चुनावपछि बुझ्दै जाने उनको भनाइ छ।

गौरवपूर्ण इतिहास
विद्यार्थी आन्दोलनमार्फत नै २०३६ सालको जनमत संग्रह गराउन सफल भएको गौरवपूर्ण इतिहास बोकेको विद्यार्थी आन्दोलन यतिबेला देशका महत्वपूर्ण मुद्दा र विद्यार्थी हकहितमा चुक्दै जान थालेको छ।

कतिसम्म भने विद्यार्थी संगठनकै आपसी किचलोका कारण त्रिभुवन विश्वविद्यालय र यस मातहतका क्याम्पसहरुमा विद्यार्थीहरुको हकहित संरक्षण र सम्बर्द्धन गर्न स्ववियु चुकिरहेको आलोचना खेप्दै आइरहेको छ।

२०६५ सालसम्म एकाध क्याम्पसलाई छाडेर आवधिक निवार्चन भइरहेको थियो। तर मुलुक गणतान्त्रिक बनेसँगै दुई–दुई वर्षमा हुने गरेका स्ववियु चुनाव नै हुन सकेन।

स्ववियु चुनाव हुनुपर्ने लगायतका माग गर्दै अखिल छैटौँका विद्यार्थी नेता विमल पोखरेलले सर्वाेच्चमा २०७२ सालमा रिट दर्ता गरेका थिए। सर्वाेच्चले त्रिविलाई  निवार्चन गराउन परामादेश जारी पनि ग-यो। लाजगाल तीन वर्षअघि केही क्याम्पसमा चुनाव पनि गरियो। त्रिचन्द्र, नेपाल ल क्याम्पस, शंकरदेव, पब्लिक युथ, नेपाल कमर्स क्याम्पस लगायतका ठूला क्याम्पसमा भने चुनाव हुन सकेन। वैचारिक स्पष्टता, बौद्धिक एवं प्रखर नेतृत्व क्षमता विकास एवं सिद्धान्त, राजनीति र दर्शनको आधारभूत ज्ञान प्राप्तिका लागि स्ववियु चुनाव हुने गरे पनि पछिल्लो समय निवार्चन हुन नसकेर स्ववियु थला परिरहेको छ।

यति मात्र होइन, विद्यार्थी राजनीतिबाटै नेतृत्व विकास गर्ने अवसरबाट एउटा ठूलो समूह वञ्चित भएको छ। यसको मार स्वयं माउ पार्टीहरुमा पनि परेको छ। स्ववियुको निर्वाचनबाट चुनिएर आउने नेतृत्वको अभाव, पार्टीभित्रकै विद्यार्थी नेताको व्यवस्थापन आदिका कारण पार्टीहरु आफैँले तोकेभन्दा बढी उमेरका विद्यार्थी नेता छनोट गर्नु परिरहेको छ।

चुनाव नहुँदा नेतृत्व अभावको समस्या त हुँदै हो, कलेजकै कतिपय महŒवपूर्ण कार्यमा सहमति जुटाउनसमेत अप्ठेरो भइरहेको शंकरदेवका क्याम्पस प्रमुख कृष्ण आचार्य बताउँछन्। ‘स्ववियु नभएका कारण काम गर्न निकै गाह्रो भइरहेको छ,’ उनले भने, ‘क्याम्पसका हरेक काममा स्ववियु सभापति पदेन सदस्य हुने व्यवस्था छ। स्ववियु नेतृत्वविहीन हुँदा काम गर्न गाह्रो भएको छ।’

फागुन १४ मा चुनाव कार्यतालिका !
त्रिभुवन विश्वविद्यालयको निमित्त रेक्टर शिवलाल भुषालको नेतृत्वमा माघ १४ गते १२ विद्यार्थी संगठनका प्रतिनिधिसहित बसेको बैठकले निर्वाचन आचारसंहिता र कार्यतालिका प्रस्तावित गरेको छ। प्रस्तावित कार्यतालिकामा फागुन ४ गते मतादाता नामावली निकालिसक्नुपर्ने छ भने चुनाब फागुन १४ गते हुनेछ।

हुन्छ त चुनाव ?
त्रिभुवन विश्वविद्यालयले चुनाव गराएको दुई वर्ष पुगेपछि फागुन १४ मा चुनाव गराउनुपर्ने बाध्यकारी नियम छ तर प्रमुख विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु र नेपाल विद्यार्थी संघको आन्तरिक झगडाले चुनाव हुने छाँट देखिदैन। विद्यार्थीहरु मिलेर आए चुनाव गराउन त्रिवि तयार रहेको उपकुलपति धर्मकान्त बास्कोटाले बताए।

‘फागुन १४ मा चुनाव हुनुपर्छ,’ उपकुलपति बास्कोटाले भने, ‘त्रिवि आफ्नो क्यालेन्डरमा चल्छ। क्यालेन्डरअनुसार फागुन २४ गतेदेखि परीक्षा सञ्चालन हुन्छ।’

सत्ताधारी नेकपाको भातृ संगठन अनेरास्ववियु, प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ दुवै प्रमुख विद्यार्थी संगठन आन्तरिक किचलोमा छन्। नेविसंघको निर्वाचित समिति भंग गरिएपछि लथालिंग भएको संगठनका नेताहरु माउपार्टी नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नै गएर कुटाकुट गर्न थालेका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले ५० वर्ष उमेर कटेका राजीव ढुंगानालाई अध्यक्ष बनाउने भएपछि ११ औँ महाधिवेशनमा ३२ वर्षे उमेरहद लगाउने निर्णयविपरीत पार्टी निर्णय आएको भन्दै कुटाकुट गरेका हुन्। आन्तरिक झगडामा रुमल्लिए पनि स्ववियु चुनावको तयारी भने भइरहेको नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेषजंग शाहले बताए।
‘आन्तरिक रुपमा केही समस्या देखिएका छन्,’ शाहले भने, ‘स्ववियु चुनाव हुने बेलासम्म हामी मिलाइसक्छौँ।’

शाहले त्यसो भने पनि नेविसंघको इकाई कमिटी क्याम्पसहरुमा छैन। नेविसंघकै कारण चुनाव वैशाखसम्म सर्न सक्ने सम्भावना देख्नेहरु पनि उत्तिकै छन्।

उता अखिलको पारा पनि उस्तै छ। तत्कालीन माओवादी र एमाले एक भएसँगै तिनका भातृ संगठन पनि सैद्धान्तिक रुपमा स्वतः एक भए तर भावनात्मक एकता भने भइसकेको देखिदैन। अधिकांश क्याम्पसमा दुवै संगठनका छुट्टाछुट्टै इकाई कमिटी छन्। अखिल संयोजक सुरेन्द्र बस्नेतले केन्द्रीय कमिटीले अब केही दिनमा निर्वाचन परिचालन समिति गठन गरेर यस्तो अवस्था र समस्या हटाइने बताए।

‘हामी स्ववियु चुनावको व्यग्र प्रतीक्षामा छौँ,’ उनले भने, ‘त्यसैका लागि केन्द्रीय समितिको वैठक राख्छौँ र चुनावमा होमिन्छौँ।’
अखिल छैटौँका अध्यक्ष विमल पोखरेल पनि आफ्नो संगठन चुनावका लागि तयार भएको बताए।  

के छन् त विद्यार्थीका एजेन्डा ?
अखिलका सुरेन्द्र बस्नेतले संविधानमा मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यान्वयनका लागि दबाब दिने, रोजगारमूलक विश्वविद्यालयीय शिक्षाको पहल गर्ने, विद्यार्थीलाई पार्ट टाइम कामको व्यवस्था गर्ने, ‘हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालय’ बनाउने अभियान चलाउने, स्ववियुलाई दबाब, जागरण र खबरदारीको अचुक हतियार बनाउने लगायतका एजेन्डा बनाइने बताए।

यस्तै नेविसंघका पूर्वउपाध्यक्ष हृषिकेशजंग शाहले त्रिविलाई अनुसन्धानको हब बनाउने, सरकारका हरेक विधेयकलाई विश्वविद्यालयमा छलफल गराई विद्यार्थीको धारणा सार्वजनिक गर्ने, प्रविधीमैत्री शिक्षा, अत्याधुनिक पुस्तकालय लगायतका एजेन्डा मुख्य रहने बताए।

अखिल छैटौँका अध्यक्ष विमल पोखरेल विश्वविद्यालयका अनुसन्धान केन्द्र चुस्त बनाउने, शैक्षिक क्षेत्रमा दलीयकृत गर्न नहुने, सरकारी क्याम्पभित्र निजी तवरका शैक्षिक कार्यक्रम सञ्चाल गर्न नपाउने, शैक्षिक मात्र नभएर अन्य राजनीतिक, दार्शनिक विषयमा पनि छलफल हुने वातावरण तयार गर्ने लगायतको रहने उनले बताए।

जित्ने आ–आफ्नै दाबी
धेरै विद्यार्थी संगठन भए पनि कडा टक्कर नेविसंघ र अखिल बीच नै हुने देखिन्छ। तर दुवै विद्यार्थी संगठनले आफूहरुले नै जित्ने दाबी गरे। नेविसंघका पूर्वउपाध्यक्ष हृषिकेशजंग शाहले सरकारको कामकार्बाहीप्रति जनता रुष्ट भएको कारण चुनावको नतिजा आफ्नै पोल्टामा पर्ने दाबी गरे। उता अखिलका सहसंयोजक सुरेन्द्र बस्नेत दुई विद्यार्थी संगठन एक भएका कारण पनि चुनावको नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्क देखिए।

Leave A Comment