कसैको भाग्य पनि कस्तो ! थाप्लोमा यत्रो सभामुख आइपर्दा पनि झिनामसिना मुद्दाले झ्याउ लगाइरहन्छन्। नवनिर्वाचित सभामुखलाई मुखैमा आइपुगेको सभामुख पदमा बस्न नदेलान्झैँ अवस्था सिर्जना भइसकेको थियो।
एकादेशको समयमा यो देशमा जनयुद्ध पनि भएको थियो। त्यो जनयुद्धमा १७ हजारको हत्या भएको थियो। यत्रो हत्यामा जाबो एउटा व्यक्तिको कुरा निकालेर पनि साध्य हुन्छ त ?
सिन्धुपाल्चोक छत्रेबाँझका अर्जुन लामाको ज्यान गयो। उनको ज्यानले देशमा यत्रो गणतन्त्र ल्याउन भूमिका खेल्यो। दिवंगत आत्मालाई पनि देश गणतन्त्र गएकामा बडो आनन्द लाग्यो होला ! यत्तिका वर्षपछि जम्माजम्मी पाँच हजार ज्यानको जिम्मा लिएको पार्टीका एक सदस्यलाई अर्जुन लामाको मात्रको कुरा उठाएर पनि साध्य हुन्छ र ?
देशले साना–मसिना कुराको अपेक्षा गरेको छैन। जस्तो कि, प्रचण्डले भनेजस्तो पाँच हजारभन्दा बढीको कुरा, प्रधानमन्त्री केपी ओलीले जस्तो जनजीविका र रोजगारी होइन कि रेल, पानीजहाजका कुरा पो कुरा हुन् त !
तसर्थ, हाम्रो पनि आग्रह हो पीडितहरुले सानातिना ज्यानको कुरा उचालेर, स्वयं सभामुख, अड्डाअदालत र देश चलाइरहेका महान् सपुतहरुको समय बर्बादी नगरियोस् ! बरु त्यसको साटो महान् सपुतहरुजस्तै ठूल्ठूलो कुरामा ध्यान दिइयोस्। जस्तो कि, अध्यक्ष कमरेडले अभिव्यक्त गरिरहनु हुने देशलाई स्वीट्जरल्यान्ड बनाउने, हिउँ चिप्लेटीलाई मुख्य आयको बाटो बनाउने, तराईको गर्मीमा त्यहाँको हिउँ बेच्ने आदिजस्तो कुरामा ध्यान दिनुप-यो।
अब हाम्रो यो प्रस्ताव पक्कै पनि पीडित परिवारलाई मनपर्नेछ किनभने देश विकासको विरोधी त उहाँहरु पनि होइन होला नि !
Leave A Comment