डिम्पलको सिम्पल कुरा !

शनिबार, १८ माघ २०७६, १० : ४४ शुक्रवार
डिम्पलको सिम्पल कुरा !

हेर्नुस्, कुरा बडो सिम्पल छ। त के सिम्पल छ भने जब तपाईं काम देखाउन सक्नुहुन्न र पनि क्रेडिट पाउनु छ भने त्यसका लागि राजिनामा दिइहाल्नुस्। यो कुराका लागि तपाईंले अरु कुनै देश÷विदेशको उदाहरण पछ्याइरहन आवश्यक छैन। यसका लागि हाम्रै देशकी दुई नम्बर प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झालाई नै उदाहरण लिनुस्।

अब एउटा मिडियाले उनको राजिनामाको खबर छापेको छ र उनले सो खबरमा भनेकी छन् कि जनताको भावनाअनुसार काम गर्न नसकेको कारण आफूले राजिनामा दिएकी हुँ। ठीक हो, सन्तुष्ट नभई–नभई पदमा बस्ने कुरा पनि भएन !

तर अलि कुबेलामा यो राजिनामा आयो कि भन्ने हाम्लाई लागिरा’छ। सरकार परिवर्तन हुने हल्ला चल्नुअघि अनि नेकपा र राजपाको गठजोड तयार हुनुअघि नै यस्तो हिम्मत देखाएको भए डिम्पलको यत्ति सिम्पल कुरा कति क्लिष्ट हुन्थ्यो, भन्नुस् त !

पूरै सरकार नै धर्मराउँथ्यो होला तर राजनीतिक गठजोडले कुरै अर्कै भइसक्यो। सरकार परिवर्तनको हल्ला चलिसक्यो। यस्तो बेलामा उनले राजिनामा गरेर जग हँसाउने काम गरेकी छन्।

हुन त उनी प्रदेशको राज्यमन्त्री हुन्। पूरै मन्त्रीको त त्यहाँ काम छैन। खाली गाडी चढे पुग्छ भने आधा र राज्य अनि सहायक मन्त्रीको के काम होला र ? ठीक हो, वडाध्यक्षभन्दा बढीको तुजुक देखाउन नपाइने ठाउँमा लामो समय बसिरहनुको पनि कुनै तुक छैन। उनको यस हिम्मतलाई हामी लाजनीतिकर्मीले ठूलो मूल्याङ्कन गरेका छौँ।

Leave A Comment