प्रहरी हाम्रो साथी !

शनिबार, १८ माघ २०७६, ११ : ०९ शुक्रवार
प्रहरी हाम्रो साथी !

कुनै पनि देशको सुशासन नाप्ने पहिलो अस्त्र त्यस देशको शान्ति–सुव्यवस्था हो। जुन देशमा जति बढी शान्ति, उति नै सुशासन भन्ने मानिन्छ। शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले खेल्ने भूमिकाका बारेमा कुनै शंका छैन। जति बढी सक्रिय प्रहरी, उत्ति बढी शान्ति सुव्यवस्था ! तर कहिलेकाहीँ जति बढी प्रहरी सक्रिय भयो, शान्ति सुव्यवस्था उत्ति नै बढी हुन्छ भन्ने कुनै सुनिश्चित हुँदैन।

यतिबेला आस्था राउतको मुद्दामा प्रहरी विवादमा परेको छ। गएको विहीबार काठमाडौँबाट भद्रपुर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिर्ने क्रममा प्रहरी हवल्दार रमिता श्रेष्ठले उनलाई ‘तँ’ सम्बोधन गरेको भन्दै प्रहरीको तल्लो दर्जासँग व्यवहारगत समस्या हुने गरेको औँल्याएकी थिइन्।

त्यसो त उनको धारणा व्यक्त गराई असभ्य नदेखिएको भने होइन। सोही असभ्यताका लागि उनले सर्वसाधारणबाट खप्कीसमेत खाइन्। त्यसका लागि उनले आफ्नोतर्फबाट हुन गएको त्रुटिका लागि माफीसमेत मागेकी थिइन्।

जसै राउतले प्रहरीको तल्लो तहका कर्मचारीको व्यवहारमा चर्को आलोचना गरेको कुरा आयो, धेरैले उनको बोलीमा लोली थपिहाले। हतारोमा प्रहरीले बचाउका लागि संवेदनशील क्षेत्रको भिडियो फुटेज लिक ग¥यो। जसमा हवल्दार श्रेष्ठको गम्भीर किसिमको गल्ती देखिएन, आवाज भने म्युट नै थियो। जसै हवल्दार श्रेष्ठको गम्भीर कमजोरी नभएको प्रष्ट भयो, प्रहरीको मनोबल नै गिराउने तहको गायिकाको अभिव्यक्तिलाई लिएर प्रहरी सक्रिय भयो। र, उनलाई थुन्ने, गलाउने, मनोबल गिराउनेसम्मको डिजाइन तयार गरियो।

हुन त राउतलाई चार हजार रुपैयाँ धरौटी तथा एक रात हिरासतमा राखेर छाडिएको छ। अनुसन्धान गर्न उनलाई हिरासतमै बस्नुपर्ने कुनै कारण नदेखिएकाले प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशमा तत्कालका लागि उनलाई धरौटीमा रिहा गरिएको हो।

एउटी सेलिब्रिटीले गल्ती गरेकी थिइन्, त्यसमा उनले भुक्तान गर्नुपर्ने सजाय भुक्तान गरिन्, भविष्यमा अरु पनि गर्लिन्। तर के प्रहरीले दिने हैरानी, उनीहरुको हातपात र अपमानका विषयमा भने गम्भीर हुनुपर्दैन ? पछिल्लो समय एउटा भिडियो फेसबुकमा सार्वजनिक भएको छ, जसमा सवारी चालक एक युवामाथि दुई जना प्रहरीले भुत्ल्याउने, लात्तले हान्ने गरेको देखिएको छ।

गल्ती हुन्छ, हुन सक्छ तर मानवप्रति गरिनुपर्ने न्यूनतम व्यवहार प्रहरीको तल्लो तप्काबाट हुन सकिरहेको छैन। फिल्डमा खटिने प्रहरीमा ठूलो समस्या छ, चाहे त्यो कसैले मानोस् या नमानोस्। प्रहरीको एउटा ठूलो तप्का हप्ता उठाउने, समस्याप्रति गम्भीर नहुने, गालीगलौजमा उत्रने काममा देखिन्छन्।

जनतासँग प्रत्यक्ष जोडिने, दैनिक व्यवहार गर्नुपर्ने ठाउँमा प्रहरीको मुस्कानसहितको सेवा यति हास्यास्पद नारामा परिणत भएको छ कि यसमा प्रशासन गम्भीर हुनै पर्ने अवस्था आएको छ। अधिकांश सर्वसाधारणको अनुभव त्यति मीठो छैन। जबसम्म तल्लो तप्कामा देखिएका स–साना समस्या सुधार हुँदैनन्, पूरै प्रहरी प्रशासनको विश्वसनीयता बढ्ने छैन।

कसैले पनि मान गर्नुपर्छ भनेर गर्दैन। यो जति सेलिब्रिटीको हकमा लागू हुन्छ, उति नै प्रहरी प्रशासनमा पनि लागू हुन्छ। प्रहरीले तलैबाट सुधार गर्न आवश्यक छ। जसरी आस्था राउत पक्राउ गरेर जथाभावी बोल्दा के हुँदोरहेछ भन्ने नजीर प्रहरीले बसालेको छ, उति नै आफ्नो मातहतका कर्मचारीभित्र भएका गल्तीलाई सार्वजनिक गर्ने, गलत गर्नेलाई कार्बाही हुन्छ भन्ने सन्देश दिन जरुरी छ।

Leave A Comment