छ दिनमै हजार शैय्याको अस्पताल

मङ्गलबार, २१ माघ २०७६, ११ : ३९ शुक्रवार
छ दिनमै हजार शैय्याको अस्पताल

केही समययता चीनमा कोरोना भाइरसको संक्रमण आक्रामक तरिकाले बढिरहेकाले संसारभर त्रास उत्पन्न भइरहेको छ। नेपालमा समेत एक जना संक्रमित व्यक्ति फेला परेको खबरपछि त फेसबुक वालमा यत्रतत्र सर्वत्र कसरी बच्ने भन्ने जानकारी फैलाइँदैछ।

तर सक्रिय सरकारले संक्रमण रोकिने प्रतीक्षा गरेर बस्दैन। यस रोगको प्रतिरोधक औषधि पहिचान नभइसकेका कारण संक्रमणले ठूलो रूप लिने देखिएको छ। त्यसैले त चीनमा पूरै शहर ठप्प पारिएको छ। रेल, बस, हवाई जहाजसमेत त्यहाँ बन्द छन्।

यसबीच चीन सरकारले रोगको जोखिमबाट बच्न र बचाउन रोगको केन्द्र भनी पहिचान गरिएको वुहान शहरमा कोरोना भाइरस लागेका बिरामीहरूको उपचारका लागि ६ दिनमा अस्पताल बनाउन थालेको छ।

एक हजार शैय्या हुने सो अस्पतालमा सम्भावित संक्रमित तथा संक्रमण भइसकेकाहरूको उपचार हुनेछ। चिनियाँ सञ्चार माध्यमका अनुसार २५ हजार वर्ग मिटर क्षेत्रफलमा उक्त अस्पताल निर्माण हुनेछ।

यसअघि पनि चीनले सात दिनमा अस्पताल खडा गरेको थियो। सन् २००३ मा सार्स भाइरसको संक्रमण बढेपछि राजधानी बेइजिङमा त्यस्तै खालको अस्पताल निर्माण गरिएको थियो।

एक करोड बढी जनसंख्या रहेको वुहानबाट कोरोना भाइरसको संक्रमण शुरू भएको थियो। हालसम्म चीनमा १० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पाइएको छ भने चार सय भन्दा बढीको मृत्यु भइसकेको छ।

Leave A Comment