हाम्रै कारणले पेसा संकटमा

मङ्गलबार, २१ माघ २०७६, १२ : २६ शुक्रवार
हाम्रै कारणले पेसा संकटमा

मनीष पराजुली, ट्याक्सी चालक 

मैले ट्याक्सी चलाउन थालेको ६ वर्ष भइसक्यो। नाइट, डे दुवै ट्याक्सी चलाउने गर्छु। अहिले काठमाडौंंमा ट्याक्सी चलाएर टिक्न मुस्किल छ। आफ्नै ट्याक्सी भएकोले जुनसुकै समयमा पनि काठमाडौंका रोडमा ट्याक्सी चलाइरहेको हुन्छु ।

दुई वर्ष अगाडिसम्म ट्याक्सीमा रामै्र कमाइ हुन्थ्यो। अहिले आफ्नै कारण हामी ट्याक्सी चालक मारमा परेका छाैँ। हाम्रा सानातिना कमजोरीका कारण हाम्रो टिप टुटल पठाओले बोकिरहेको छ। यात्रुले भनेको ठाउँमा नजाने, लाग्ने रकमभन्दा दोब्बर पैसा माग्ने कारण पनि यात्रु ट्याक्सी चालकबाट हच्केका हुन्। यात्रुले भनेको हुन्छ भनेर मिटर दबाएको भए हाम्रो ठाउँमा टुटल पठाओ आउने थिएन होला।

ट्याक्सीमा समस्या
ट्याक्सीमा अहिले धेरै समस्या आइसकेको छ। ट्याक्सीबाट दुईचार पैसा कमाउँछु भन्नु सपना जस्तै भएको छ। कसैले नजिकै जाऊँ न भन्यो भने हामी मान्दैनाैँ। बरु खाली छैन भन्दै बसिररहेका हुन्छौँ। कसैको गाउँघरबाट मान्छे आउँछ कि भन्दै कुरेर बस्ने ठग्न पाइयो भने हिँडिहाल्ने मानसिकता छ। जसका कारण अहिले ट्याक्सी व्यवसाय धराशयी बन्दै गएको छ। थोरै पैसा आए पनि मान्छे उठाइहाल्ने हो भने यो समस्या कम हुन्छ। ट्याक्सीले पछिल्लो समय एकजना यात्रु पाउने त कमै मात्रामा हो। कि पोको पन्तरो हुनुप-यो कि त दुईतीन जना नै हुनुप-यो। नत्र यात्रु पाइँदैन।

यात्रु थरिथरिका
यात्रु त हरेक दिन फरक फरक नै हुन्छन्। कुनै यात्रु ट्याक्सीमा मातेर बसेका हुन्छन्। कुनै यात्रु ट्याक्सी चढेर एक पैसा नछोड्ने पनि पाएको छु। अहिले मिटरमा पञ्चानब्बे रुपैयाँ उठेको छ भने पाँच रुपैयाँ मागि हाल्छन्। कोही दुई चार पैसा बढी दिएर जाने पनि हुन्छन्। कोही पैसै छैन भन्दै ओर्लिएर हिँडिहाल्छन्।  

विदेशको कमाइ ट्याक्सीमा
मैले कोटेश्वरमा बीबीएस तेस्रो वर्ष पढ्दापढ्दै घरको आर्थिक अवस्था कमजोर भएकोले मलेसिया गएँ। त्यहाँ जाँदा आफूसँग सीप थिएन अनि तीन वर्ष दुःखै पाएर बसेँ अनि नेपाल आएँ। नेपाल आएपछि ड्राइभिङ सिकेर लाइसेन्स लिएँ। तर मलाई गतिलो गरी गाडी चलाउन आउँदैनथ्यो। ट्यालेन्ट हुन आफूलाई कसैले गाडी दिने कुरा पनि भएन। कोही पनि चिनेको थिइनँ। दुई वर्षसम्ममा राम्रो गाडी चालक बन्छु भनेर साउदी अरब गएँ। त्यहाँ मैले सेल्समेनको काम गरेँ। यहाँको जस्तो गाडीमा अरु मान्छे राख्नुपर्दैनथ्यो। आफ्नो गाडीको सामान आफैँ लोड अनलोड गर्ने हो।  त्यो पनि बेकरी आइटममा थिएँ। काम सजिलो थियो। महिनामा खाइवरी साठी हजारभन्दा बढी कमाउँथेँ।  मसँगका साथी पाँच वर्षसम्म विदेशमै बसे। नेपाल आएपछि मैले ट्याक्सी चलाउन थालेको हुँ।

मेरो अन्तरजातीय विवाह
मैले काठमाडाैंकै नेवार समुदायको केटीसँग अन्तरजातीय विवाह गरेको हुँ। हाम्रो प्रेम विवाह हैन मागी विवाह नै हो। बुवा आमाले कुनै अवरोध गर्नुभएन। मेरो बुवा आमा पढे लेखेको नभए पनि पुराना रुढिवादीमा अडिग हुनुहुन्न। हाम्रो विवाह भएको दस वर्ष भइसक्यो। ट्याक्सीको कमाइबाट मात्र जीवन नचलेपछि उनी अहिले कस्मेटिक पसल चलाउन थालेकी छिन्। 
प्रस्तुति : भोला अधिकारी

Leave A Comment