गजलबारबाट निकालिएँ

मङ्गलबार, २१ माघ २०७६, १२ : ४१ शुक्रवार
गजलबारबाट निकालिएँ

नेपाली गायन क्षेत्रमा लोकप्रिय गायिका हुन् बिन्दु परियार। उनले आफ्नो नाइट लाइफको बारेमा भोला अधिकारीसँग गरेको कुराकानी :

गजलबारमा कति सालमा गाउनु भएको थियो ?
पहिलोपटक २०७० सालमा गाएकी थिएँ, गजलबारको नाम भने मैले बिर्सिएँ। अहिले त त्यो गजलबारको नाम चेन्ज भएको जस्तो लाग्छ। त्यहाँ मैले दुई महिना जति काम गरेँ, त्यसपछि छोडेँ अनि लामो समयपछि फेरि रानी महलमा गीत गाउन सुरु गरेँ। 

किन छोड्नुभएको नि  ?
राति गाउदा भोकलमा समस्या आयो, आफ्नो आवाज आफैँलाई मन पर्न छोड्यो। मैले नाइटमा गजल नगाउने भनेर छोडेकी थिएँ। पछि आर्थिक अवस्था कमजोर हुँदैजाँदा पुनः रानी महलमा गाउन थालेकी हुँ। त्यहाँ पनि धेरै समय गाउन पाइनँ। गीत गाउन थालेको दुई महिनापछि बैनी तिम्रो कलेक्स गीत थोरै भएकोले अबदेखि नआउँदा हुन्छ भनेर साहुले निकालिदियो। त्यसपछि म गजलबार गइनँ। दोहोरीसाँझमा पनि दुई दिन जति गाएकी छु।

गजलबाट निकालिँदा त नमज्जा लाग्यो होला है ?
टेलर पनि छोडेकी थिएँ। कतै केही काम थिएन। घरबाट कति पैसा माग्नु। आफैँ काम गरुँ भनेर थालेकी थिएँ। साहुले निकालिदिँदा त नमज्जैै लाग्यो। यो बेलासम्ममा मैले गीत रेकर्डिङ र स्टेज कार्यक्रम पाउन थालिसकेकी थिएँ। बिस्तारै मलाई काठमाडौंमा टिक्न सहज हुन थाल्योे।

दोहोरीसाँझमा पनि गाउनुभयो रे नि  ?
हो, त्यहाँ मैले दुई दिन मात्रै गीत गाएँ। ठमेलको एउटा दोहोरीसाँझ थियो नाम मैले बिर्सिएँ। सवालको जवाफ फर्काउन त आउँथ्यो तर खै मलाई वातावरण नै मिलेन।

किन दुई दिन मात्रै जानुभयो ? कुनै कारण त होला नि ?
मलाई मन नै परेन। खासमा मलाई आधुनिक गाउने भनेर लगिएको थियो। दोहोरीमा सवालको जवाफ दिन त सक्थेँ तर किन हो किन मलाई माहोल नै मन परेन।

खासमा नाइटमा गाउनै पर्ने कारण ?
घरको आर्थिक अवस्था कमजोर थियो। सुरुमा म टेलरमा काम गर्थेँ। टेलरमा काम गर्दा पनि आर्थिकस्थितिले काठमाडौंमा बस्नलाई धान्ने अवस्था भएन। नभएपछि एकजना दिदीले दरबारमार्गको एउटा गजलमा काम गर्नुहुन्थ्यो। उहाँले छोड्न लाग्दा गायिकाको खोजी भएको रहेछ। त्यस ठाउँमा उहाँले मलाई सिफारिस गर्नुभयो। मैले पनि काम खोजिरहेको समयमा उहाँले मलाई त्यो गजलबारमा पु-याउनुभयो। उहाँले यसरीयसरी गाउने भनेर सिकाउनुभयो। सिकाएपछि मैले त्यहीअनुसार गाएँ, सबैले राम्रो गाउने रहेछौ भन्नुभयो। मैले गाउन थालेको दुई तीन दिनमा उहाँ विदेश जानुभयो। विदेश गएपछि मैले गजलबारमा गाउन थालेकी हुँ।

गीत गाएको देखेर कतिले तारिफ गर्दै गीत निकालिदिने कुरा गरेनन् ?
किन नगर्नु गरे नि। ओहो तिम्रो कति राम्रो आवाज तिमीले राम्रो गीत गाउनुपर्छ। लागेको जति खर्च म गरिदिन्छु भन्ने धेरै थिए। एकपटक होला त नि भनेर फोन नम्बर लिएकी  थिएँ। भोलिपल्ट फोन गरेको त के को गीत निकालिदिन्छन्। को हो बैनी भनेर पो सोध्थे भन्या। गेष्टहरुले पिएको बेला जे पनि भन्दिने गर्थे।

साहुले गेष्टहरुसँग खाने पिउने गर्नुपर्छ भन्थे कि भन्दैनथे ?
मलाई साहुले त्यस्तो भन्नुहुन्नथ्यो। स्टेजबाट तल नझर्नु है भन्ने गर्नुहुन्थ्यो।

तपाईंलाई पिउन अनुरोध गर्दैनथे ?
गर्थे तर म जुस मात्रै पिउथेँ। रक्सी कहिल्यै पिइनँ।

टिप्स त राम्रै हुन्थ्यो होला ?
कहिलेकाहीँ  चार पाँच हजार हुन्थ्यो भने कहिलेकाहीँ कत्ति पनि हुँदैनथ्यो। काम गर्ने भनेको नै अलिक टिप्स हुन्छ कि भनेर हो किनभने तलब धेरै थिएन। त्यही दस बाह्र हजार जति मात्र थियो।

तपाईंलाई के कुरा मन पर्दैनथ्यो ?
मलाई गेष्टहरुले चुरोट तानेर धुवाँ उडाएको मन पर्दैनथ्यो। अब धेरै जसो गजलबारमा गेष्टहरु रक्सी पिउने खाने नै हुन्छन्।

छोरी मान्छेलाई नाइटमा कत्तिको गाह्रो हुने रहेछ ?
धेरै गाह्रो हुने रहेछ। मैले धेरै पटक दुःख पाएकी छु। म र एकजना दिदीले रुम लिएर बसेका थियौँ। म राति घर जाँदा त्यो दिदीले ढोका खोलिदिनुहुन्थ्यो। दिदी नहुँदा घरबेटीले गेट खोल्न गाह्रो मान्थे। एक पटक त राति २ बजेको थियो। स्टाप लाने ल्याउने गाडीले मलाई रुममा पु-यायो। घरमा पुगेपछि घरबेटीले ढोका नै खोलिदिएनन्। धेरै बेरसम्म ढोका नखोलिदिएपछि त्यही गाडीमा फर्केर गजलबारको नजिकै होटलमा बसेँ। पछि त्यही होटलमै रुम लिएर बसेकी छु।

Leave A Comment