कोरोनाले तनाव

मङ्गलबार, २१ माघ २०७६, १२ : ५६ उपेन्द्र खड्का
कोरोनाले तनाव

सोमबार बेलुका करिब तीन बजे काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पुग्दा मनग्य भिड थियो। महाशाखाका निर्देशक डा. विवेककुमार लाललाई भेट्न उनको कार्यकक्षबाहिर पर्खिरहका पत्रकार र अन्य व्यक्तिको संख्या बाक्लै थियो। करिव एक घण्टाको पर्खाइपछि शुक्रवारकर्मीको भेट्ने पालो आयो। शुक्रवारकर्मीसँगै अन्य मिडियाका दुई जना पत्रकार पनि डा. विवेकको कार्यकक्षमा प्रवेश गरे।

निर्देशक विवेकसँग चीनबाट  फैलिएको ‘नेवेल कोरोना–२०१९’ भाइरसका बारेमा जिज्ञासा लिनु थियो। निकै हत्तारमा देखिएका निर्देशक डा. विवेकसँगको कुराकानीका क्रममा चीनबाट नेपालमा आएका एक व्यक्तिबाहेक थप व्यक्तिमा यो भाइरस नदेखिएको बताए।

ती व्यक्ति काठमाडौंको टेकुमा रहेकोे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचारपछि डिस्चार्ज भइसकेको उनले प्रस्ट्याए। अस्पतालको ओपिडीमा स्वास्थ्य जाँचका लागि पुगेका ती व्यक्तिमा सामान्य खोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या थियो। तर चीनबाटै फर्किएको भएर रगत र -यालको नमुना परिक्षणका लागि  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोलाबोरेटिङ सेन्टर चीन पठाइयो। प्रयोगशाला परिक्षणको क्रममा ती व्यक्तिलाई  नेवेल कोरोना पोजिटिभ नेखिएको निर्देशक डा. विवेकले बताए। नमुना परिक्षणपछि ती व्यक्तिमा भाइरसको पुष्टि भयो।

नेपालमा थप व्यक्तिमा कोरोना भएको संक्रमण भएको तर सरकारले लुकाइरहेको हल्लालाई चिर्र्दै उनले भने, ‘लुकाउनुपर्ने कुनै कारण छैन।’ त्यसो त महाशाखाले नै सोमबारै जारी गरेको विज्ञप्तिमा पनि १३ गतेसम्म प्रयोगशाला परिक्षण गरिएका कुनै पनि थप व्यक्तिमा नोबेल कोरोना भाइरस (२०१९–एन सिओभी) को संक्रमण पुष्टि नभएको जनाएको छ।

उडेर आए रोक्न मुस्किल
उडेर भित्रिने रोगलाई नेपालले रोक्न चुनौतीपूर्ण रहेको उनी बताउँछन्। हेल्थ डेस्कको व्यवस्था भए पनि लक्षणै नदेखिदासमेत यो भाइरसको संक्रमणकोे जोखिम भएकाले यस्तो अवस्थामा भने संक्रमण रोक्न नसकिने उनले  बताए। कुनै रोग लागेर तथा रोगको लक्षण देखिएर विमानस्थल आइपुगेका व्यक्तिको रोगको लक्षण हेरी रोग नियन्त्रणकोे उपाय अपनाउने उनी बताउँछन्। तर लक्षणै नदेखिएको अवस्थामा समेत व्यक्तिमा कोरोनाको संक्रमण हुनसक्ने भएकाले पहिचान गर्न निकै कठिन हुने उनको भनाइ छ।

‘हामीभन्दा स्रोत–साधन सम्पन्न मुलुकमा पनि यो रोग देखिएको छ,’ डा. विवेकले भने, ‘यो रोगै हाम्रा लागि नयाँ हो। त्यसैले चुनौतीपूर्ण छ।’

उनले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाएको बताए। विमानस्थलमा अहिले थर्मल स्क्यानर राखिएको छ। अहिले विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर तथा नर्सिङ अफिसर सहितको टोली तैनाथ छन्। ‘अहिले आठ जनाको टोली हुनुहुन्छ,’ निर्देशक विवेकले भने, ‘थप एक जना राख्ने तयारी भइरहको छ।’ यसअघि सिनियर पाँच जना सिनियर अहेब थिए।

अफ्रिकी मुलुकमा इबोलाको महामारी फैलिएको समयमा विमानस्थलमा ल्यान्ड गरेका यात्रुमा इबोला संक्रमणको लक्षण छ वा छैन भनेर निक्र्याेल गर्न हेल्थ डेस्कको स्थापना गरिएको थियो। त्यो बेलादेखि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निगरानीमा हेल्थ डेस्क सञ्चालित छ।

तर हेल्थ डेस्कप्रति अझै पनि उनी आफैँ सन्तुष्ट देखिँदैनन्। डेस्कमा स्थायी दरबन्दी छैन। दुई वर्षदेखि हेल्थ डेस्कलाई व्यवस्थित गर्न सरकारसँग अनुरोध गरे पनि आफूहरुले यसको महत्व बुझाउन नसकेका कारण प्राथमिकतामा नपरेको हुनसक्ने भन्दै सरकारप्रति नै उनले व्यंग्य गरे। उनले भने, ‘अस्थायी किसिमको आगमन कक्ष छ। स्थायी किसिमको बन्दैछ।’ आठ वटा सीमा नाकामा हेल्थ डेस्क भए पनि ती प्रभावकारी नभएको उनी आफैं स्वीकार गर्छन्।

विमानस्थलमा पहिले थन्किएका भए पनि अहिले थर्मल स्क्यानर राखिएको उनी बताउँछन्। यसभन्दा पहिले गन जस्तै ‘इन्फ्रा–रे’ मेसिनले प्रत्येक यात्रुलाई एक–एक गर्दै तापक्रम नाप्नुपर्ने झन्झटिलो बाध्यता थियो।

थर्मल स्क्यानर मेसिनले क्यामेराको फोकस यात्रुको निधारमा पार्नुका साथै शरीरको तापक्रम मापन गर्छ। तापक्रमका आधारमा रोगको लक्षण थाहा पाउन सकिन्छ। २०७२ सालको भूकम्पपछि वातावरण अनुकूलको संरचना नभएकाले यात्रुको शरीरको तापक्रम सही मापन गर्न नसक्दा थर्मल स्क्यानर प्रयोगविहीन थिए तर अझैसम्म पनि स्थायी संरचना बन्न नसकेको निर्देशक डा. विवेकले बताए।

विमानस्थलमा अहिले एम्बुलेन्स स्ट्यान्डबाई राखिएको महाशाखाकै एक कर्मचारी बताउँछन्। सामान्यतः अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यको संयन्त्र हुने भए पनि विमानस्थलमा अझै स्थायी प्रकृतिको हेल्थ डेस्क नहुनु दुखद् पक्ष हो।

स्थायी प्रकृतिको हेल्थ डेस्क र कर्मचारी हुनुपर्ने विशेषज्ञको राय छ। निर्देशक डा. विवेकका अनुसार कतिपय केन्द्र र स्थानीय तहका कर्मचारी हेल्थ डेस्कमा खटिएको उनी बताउँछन्। इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, विराटनगरको रानी भन्सार, रसुवाको रसुवागढी, कन्चनपुरको गड्डाचौकी, भैरहवाको बेलिया र नेपालगञ्जको जमुनाहा नाकामा ‘हेल्थ डेस्क’ रहे पनि प्रभावकारी नरहेको डा. विवेकले बताए। स्थलगत मार्गमा भएका हेल्थ स्थायी कर्मचारी र संरचनाको अभावका कारण प्रभावकारी नभएको हो।

डा. विवेकले नेपालमा औषधि, उपचार तथा स्वास्थ्य संस्था तयारी अवस्थामा रहेको बताए पनि चीनमा बस्ने नेपालीलाई नेपालमा बोलाएर उद्धार गर्न आवश्यक नभएको तर्क गरे। उनले नेपालमा चीनमा जस्तो सेवा नहुन सक्ने संकेत गरे।
करिब १५ मिनेटको कुराकानीपछि निर्देशक डा. विवेक मन्त्रालय जानुछ भन्दै हतारिँदै बाहिरिए।

नेपालमै परिक्षण सुरु
मंगलबार दिउँसो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुग्दा निर्देशक रुणा झा पनि निक्कै व्यस्त थिइन्। उनी कोरोना भाइरसको स्वास्थ्यकर्मीलाई ल्याब परिक्षणको तालिमका लागि व्यवस्था मिलाउने तयारीमा भएको कर्मचारीले बताएपछि यस विषयमा प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए। सूचना अधिकारी गुप्ताका अनुसार सोमबार (१३ गते)बाट नेपालमै यो भाइरसको परिक्षण गर्न थालिएको छ। कोरोना भाइरस परिक्षणका लागि आवश्यक रसायन (केमिकल) र किट विदेशबाट ल्याई परिक्षण थालिएको हो। नेपालमै रहेका सिपिआर प्रविधिको मेसिनमा परिक्षण सुरु गरिएको गुप्ताले बताए। उनले पहिलो दिन टेकु अस्पतालमा भर्ना भएका बिरामीमा भाइरसको परिक्षण गरिएको भए पनि रिपोर्ट आउन ४८ घण्टा लाग्ने भएकाले (मंगलबार करिब एक बजेसम्म) ल्याब रिपोर्ट नआएको बताए।

विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त अत्याधुनिक प्रयोगशालामा परिक्षण सुरु गरिएको सूचना अधिकारी गुप्ताले बताए। गुप्ताले भने, ‘बीएएल–टु र बीएसएल–थ्री ल्याबबाट परिक्षण हुन्छ।’  यी दुई ल्याबमा पिसिआर प्रविधि उपलब्ध छन्। छ वटा मेसिनमध्ये कोरोना भाइरस परिक्षणका लागि दुईवटा पिसिआर मेसिन सञ्चालन गरिएको हो। सञ्चालनमै रहेको इन्फ्लुन्जा जाँच गर्ने ल्याबमै परिक्षण गरिएको उनी बताउँछन्।

गुप्ताका अनुसार नेपालमा कोरोना भाइरसको परिक्षणका लागि पर्याप्त किट छ। यसका लागि रगत र -याल परिक्षण गरिन्छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेसँग कोरोनाका विषयमा कुरा गर्न सम्पर्क गर्दा बोल्न असहज मान्दै टेकु अस्पतालमा अहिले छ वटा आइसोलेसन बेड रहेको जानकारी दिए। पाण्डेले भने, ‘छ बेडका आइसोलेसन बेड छन्।’ उनले (मंगलबार बेलुकासम्म) दुई जना कोरोना संक्रमणको शंकास्पद व्यक्ति भर्ना भएर रहेको बताए।

बोल्ने कि नबोल्ने दोधार
यो रोगको जिज्ञासाका लागि एक चिकित्सकलाई सम्पर्क गर्दा मन्त्रालयबाट नबोल्न निर्देशन भएकाले कोरोनाको विषयमा आफूले नबोल्ने बताए। तर मन्त्रालयले भने यस कुराको बचाउ गरेको छ। भ्रमात्मक कुरा नबाहिरियोस् भनेर एकद्वार प्रणालीका लागि कोरोनाको बारेमा नबोल्न अनुरोध गरिएको भए पनि विशेषज्ञ चिकित्सकलाई आफ्नो विशेषज्ञता जाहेर गर्नबाट नरोकेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठको दाबी छ। त्यसो त इपिडिमियोलोजिकै एक चिकित्सकले मन्त्रालयले निर्देशन दिएसँगै आफ्नो मुख टालिएको बताए। सही जानकारी दिने उद्देश्यले प्रोफेसनल रुपमा बोल्दा पनि नियोजित रुपमा नबोल्न आदेश दिइएको एक चिकित्सकको गुनासो छ। यस्तो अवस्थामा विशेषज्ञ चिकित्सकलाई बोल्न नदिँदा कोरोना फोबियाको जोखिमसमेत भएको चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार विशेषज्ञ चिकित्सकलाई यो विषयमा बोल्न नदिँदा व्यक्तिमा झन् त्रास फैलिने जोखिम हुने बताए। स्वास्थ्य मन्त्रालयले संयमित हुन अपिलै गरिसकेको छ। यसले पनि सरकारी निकाय हतास भएको देखिन्छ।

कोरोनाबाट कसरी सावधान हुने ?
कोरोना संक्रमित व्यक्तिमध्ये करिव चार प्रतिशतको मृत्युदर देखिएकाले यस किसिमको नयाँ रोग कत्ति संक्रामक हो भन्ने विषय तत्काल भन्न नसकिने चिकित्सकहरु बताउँछन्।

कोरोना भाइरस सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरमा देखिएको थियो। यो कोरोना भाइरसको नयाँ प्रजाति हो। विशेषज्ञका अनुसार, सार्स र मर्स पनि कोरोना भाइरसकै प्रजाति हुन्। यसको वैज्ञानिक नाम ‘२०१९–नोवेल कोरोना भाइरस हो तर यसलाई सिजनल फ्लु भन्न नमिल्ने चिकित्सक बताउँछन्।

कोरोना भाइरस जनावरबाट सुरु भएको मानिएको छ। सर्पबाट भएको हो भन्ने प्रारिम्भिक अनुमान पनि छ।

संक्रमित मान्छेबाट मान्छेमा सर्ने प्रमाणित भइसकेको चिकित्सक बताउँछन्। फ्लु जस्तैगरी यो भाइरस सर्छ। पशुपंक्षीबाट पनि सर्न सक्छ। एक जना बेलायती वैज्ञानिकले त एक जना संक्रमित व्यक्तिले तीन जनासम्ममा भाइरस सार्न सक्ने बताएका छन्।

मौसम परिवर्तन हुने समय भएकाले मौसमी रुघाखोकी लागेका व्यक्तिसमेत यो भाइरसको त्रासले अस्पताल पुग्ने गरेको चिकित्सक बताउँछन्।

ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, खोकी लाग्नेजस्ता यसका लक्षण हुन्छन्। लक्षणका आधारमा यसको उपचर गरिन्छ। यो रोगको ठोस उपचार पद्दति भने छैन। ज्वरो आए ज्वरोको नियन्त्रण गरिन्छ। श्वासप्रश्वासमा समस्या तथा रुघाखोकी लागे त्यसैको उपचार गरिन्छ। व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा पनि यो रोगले कति बढी असर गर्छ भन्ने कुरा भर पर्ने चिकित्सकहरु बताउँछन्।

त्यसैले यो भाइरसबाट बच्नका लागि पटकपटक नाकमा हात नलाने, राम्रोसँग हात धोएर खाने, मासुलाई राम्रोसँग पकाएर खाने गर्दा यो भाइरसबाट बच्न सकिन्छ। त्यसैगरी भिडभाडमा नजानु नै उचित हुने सल्लाह चिकित्सकहरुको छ।

Leave A Comment