अवचेतन मस्तिष्कको पुनर्निर्माण

शुक्रबार, २४ माघ २०७६, १२ : ३८ प्रकाश जंग थापा
अवचेतन मस्तिष्कको पुनर्निर्माण

कुनै पनि व्यक्तिको विश्वास प्रणाली, व्यवहार कौशल, गतिविधि, आनीबानी, व्यक्तित्व, सफलताअसफलता तथा जीवनस्तर उसको मस्तिष्कले निर्धारण गर्छ। समग्रमा भन्नुपर्दा, उसको मस्तिष्क कसरी विकास भएको छ, कसरी सक्रिय छ र कार्यविधि के हो, त्यसले उसको जीवन कस्तो हुने, अभावको हुने कि भरिपूर्ण, निरर्थक हुने कि अर्थपूर्ण, यी सबै कुराको निर्धारण गर्छ।

सचेत र अवचेतन मस्तिष्कको कार्यविधि
मानवीय मस्तिष्कलाई दुई भागमा विभाजन गर्न सकिन्छ। एक सचेत र अर्को अवचेतन मस्तिष्क। सचेत मस्तिष्क रचनात्मक एवं तार्किक मस्तिष्क हो। यो मस्तिष्कको विकास सात वर्षको उमेर कटेपछि मात्र हुन्छ। वैज्ञानिक अनुसन्धानअनुसार एक दिनको पाँच प्रतिशत समय मात्र सचेत मस्तिष्क सक्रिय हुने पुष्टि हुन्छ।

अवचेतन मस्तिष्क भावनात्मक मस्तिष्क हो, प्रोग्राम गरिएको मस्तिष्क हो। यो मस्तिष्क गर्भावस्थाको पहिलो त्रैमासिकदेखि सात वर्ष उमेर अवधिसम्म विकास हुन्छ। जब एउटा बच्चाको जन्म हुन्छ, त्यतिबेला बच्चाको अवचेतन मस्तिष्क खुला रहन्छ। अध्ययनअनुसार जन्मदेखि सात वर्षको अवधिमा बच्चाले अरुलाई हेरेरै सिक्ने र मस्तिष्क पनि सोहीअनुरूप डिजाइन गरिएको हुने प्रमाणित छ। त्यसकारण बच्चाले आफ्नो आमाबुबा, दाजुभाइ, दिदीबहिनी र समाजलाई हेरेरै धेरै कुरा सिक्छ। आफ्नो आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा समाजले देखाउने व्यवहार, गतिविधि, आनीबानी हुबहु नक्कल गर्ने मात्र होइन अवचेतन मस्तिष्कमा डाउनलोड गर्छ, छाप्छ। त्यसैगरी बच्चालाई कुरुप, अल्छी, मूर्ख, मूल्यहीन भनेर सम्बोधन गरियो भने उसले ती सबै कुरालाई विश्वास गर्छ र त्यो अवचेतन मस्तिष्कमा संग्रहित हुन जान्छ। त्यसैगरी उसलाई आकर्षक, बौद्धिक र क्षमतावान् भनियो भने पनि विश्वास गर्छ र त्यो अवचेतन मस्तिष्कमा संग्रहित हुन जान्छ। त्यसैगरी त्यस बच्चाले टिभी कार्यक्रम हेरेको आधारमा, अरु व्यक्तिसँग भेटेको आधारमा र वातावरणीय प्रभाव अनुसार उत्पन्न हुने सन्देशलाई ग्रहण गर्छ र त्यो अवचेतन मस्तिष्कमा संग्रहित हुन जान्छ। यही आधारमा बच्चामा एक किसिमको विश्वास प्रणाली विकास हुन्छ र सोहीअनुरुप व्यवहार देखाउँछ। यो विश्वास प्रणालीलाई परिवर्तन गर्न असम्भव जस्तै हुन्छ। वैज्ञानिक अध्ययनअनुसार दिनको ९५ प्रतिशत समय अवचेतन मस्तिष्क सक्रिय हुने पुष्टि हुन्छ। भनाइको मतलब, अधिकांश गतिविधि अवचेतन मस्तिष्कले नियन्त्रण गरेको हुन्छ।

अवचेतन मस्तिष्कको प्रभाव
सचेत मस्तिष्कको तुलनामा अवचेतन मस्तिष्क सयौँ गुणा शक्तिशाली हुन्छ। अध्ययनअनुसार अवचेतन मस्तिष्कमा संग्रहित ७० प्रतिशत सन्देश नकारात्मक, निराशाजनक र स्वयं आफैँलाई हराउने खालको हुने पुष्टि हुन्छ। यस्ता सन्देशले मानवीय जीवनमा कसरी प्रभाव पार्छ, त्यो केही उदाहरणमार्फत बुझ्ने कोसिस गरौँ।

उदाहरण एक, मानौँ तपाईंलाई कोही विशेष व्यक्तिले अस्वीकृत गरिदियो। यस्तोमा अवचेतन मस्तिष्कले विगतमा कतिजना व्यक्तिबाट अस्वीकृत हुनुप-यो, त्यो सबै सतहमा ल्याइदिन्छ। अनि तपाईं आफू प्रेम सम्बन्धका लागि अयोग्य रहेको र अस्वीकृति व्यहोर्न योग्य रहेको विश्वास गर्नुहुन्छ। जसकारण तपाईं भविष्यमा सम्बन्ध जोड्न तयार हुनुहुन्न र सम्बन्धमा सधैँ असफल नै रहनुहुन्छ।

उदाहरण दुई, मानौँ तपाईं आफूलाई कुरुप रहेको विश्वास राख्नुहुन्छ। कुनै आकर्षक व्यक्ति तपाईंप्रति आकर्षित भयो भने ? तपाईंबारे बुझ्न इच्छुक रह्यो भने ? अब तपाईं सशंकित हुनुहुन्छ। त्यस व्यक्ति तपाईंप्रति आकर्षित हुन सक्नेमा विश्वास गर्न सक्नुहुन्न। यस्तो परिस्थितिमा अवचेतन मस्तिष्कले समेत प्रतिरोध जनाउँछ। जसकारण त्यस व्यक्तिले तपाईंलाई अस्वीकृति दिनु अगाडि नै तपाईं त्यस व्यक्तिलाई अस्वीकृति दिनु हुन्छ। यही प्रकृतिको प्रभाव लक्ष्य निर्धारण गर्ने समयमा पनि अनुभूत गर्न सकिन्छ।

पुनर्निर्माण कसरी गर्ने ?
अवचेतन मस्तिष्कमा विकसित पुरानो विश्वास प्रणाली, अवधारणाले सफलताको सुनिश्चितता हुन सक्दैन। यस्ता विश्वास प्रणाली, अवधारणा समयमै हटाउन सक्नुपर्छ। यति मात्र होइन, अवचेतन मस्तिष्कको पुनर्निर्माण अर्थात् पुनर्लेखन गरिनुपर्छ। यसका लागि निम्न विधि अवलम्बन गर्न सकिन्छ।

(क) वातावरणीय प्रभावको व्यवस्थापन
अवचेतन मस्तिष्कले वातावरणबाट निरन्तररुपमा सन्देश ग्रहण गर्दै एकखाले निस्कर्ष निकालेको हुन्छ र त्यही आधारमा विश्वास प्रणालीको विकास हुन्छ। यस्तोमा तपाईं नकारात्मक वातावरणमा रहनुहुन्छ भने तपाईंको अवचेतन मस्तिष्कमा कस्तो सन्देश प्रवाह होला ? कस्तो विश्वास प्रणाली विकास होला ? त्यसैगरी विभिन्न अध्ययनअनुसार वातावरणले आनुवांशिक गतिविधि निर्धारण गर्ने पुष्टि हुन्छ। यसर्थ आफ्नो वरिपरिको वातावरणबारे सचेत रहनुहोस्। सकारात्मक समाचार हेर्ने र पढ्ने गर्नोस्। विषाक्त मान्छेको संगतमा रहनुभन्दा सकारात्मक र सफल मान्छेको संगतमा रहनुहोस्।

(ख) सम्मोहन उपचार
सुतेको अवस्थामा सचेत मस्तिष्क सक्रिय नभए पनि अवचेतन मस्तिष्क भने अत्यधिक सक्रिय हुन्छ। यस्तो अवस्थामा सन्देश सचेत मस्तिष्क नगई सिधै अवचेतन मस्तिष्कमा प्रवेश गर्छ जसकारण अवचेतन मस्तिष्कलाई पुनर्लेखन अथवा पुनर्निर्माण गर्न सकिन्छ। यसका लागि विज्ञमार्फत निर्मित सकारात्मक एवं प्रेरक सन्देश भएको अडियो प्रोग्राम सुन्न सकिन्छ। सकारात्मक र प्रेरक सन्देश सिधै अवचेतन मस्तिष्कमा प्रवेश गराई अवचेतन मस्तिष्क पुनर्निर्माण गर्ने विधि वा प्रक्रियालाई सम्मोहन उपचार भनिन्छ। अवचेतन मस्तिष्क पुनर्निर्माण गर्न सम्मोहन उपचारमा महारत प्राप्त व्यक्तिको सहयोग लिनैपर्छ भन्ने छैन। स्वयं आफैँ पनि गर्न सकिन्छ। यसका लागि स्वयं आफैँले रेकर्ड गरेको अडियो टेप सुतेको अवस्थामा सुन्ने गर्नोस्। यसो गर्नाले अवचेतन मस्तिष्कको पुनर्निर्माण सम्भव हुन पुग्छ।

(ग) प्रतिज्ञा गर्ने
अवचेतन मस्तिष्क पुनर्निर्माण गर्ने अर्को प्रभावकारी विधि हो( प्रतिज्ञा गर्नु। यस विधिमा कुनै एक उक्तिलाई केही समय निरन्तर वाचन गरिन्छ। यस विधि थप प्रभावकारी बनाउन केही कुरामा ध्यान दिन सक्नुपर्छ।

एक, सकारात्मक उक्तिको छनोट। उक्ति वर्तमान कालमा वाचन र उच्चारण गरिनुपर्छ न कि भविष्यत् कालमा। कारण ? अवचेतन मस्तिष्कले वर्तमान स्थितिलाई मात्र गणना गर्न सक्छ। विगत र भविष्यको स्थितिलाई गणना गर्न सक्दैन। त्यसैले वर्तमान स्थिति झल्काउने म खुसी छु, म आत्मविश्वासी छु, म सफल जस्ता उक्तिहरु वाचन गर्नुपर्छ। यी उक्तिलाई भूत र भविष्यत् कालमा वाचन गरिनु हुँदैन। भनाइको मतलब, म खुसी थिएँ अथवा म सफल हुनेछु भन्ने जस्ता उक्तिहरु वाचन गर्नु हुँदैन।

दुई, स्पष्ट मानचित्रको विकास। उदाहरणार्थ, मानौँ तपाईंले वाचन गर्ने उक्ति ‘मलाई ल्यापटप आवश्यक छ’ भन्ने हो। यस उक्तिलाई वाचन गर्दा तपाईं आफूलाई आवश्यक परेको ल्यापटप मन मस्तिष्कमा ल्याउनु हुन्न भने अवचेतन मस्तिष्क भ्रमित हुन्छ। तपाईंले एप्पल कम्पनीको ल्यापटप चाहेको हो कि माइक्रोसफ्ट कम्पनीको, डेल कम्पनीको ल्यापटप चाहेको हो कि एचपी कम्पनी ? यसबारे अवचेतन मस्तिष्कले कुनै निर्णय लिन सक्दैन। त्यसैले ‘मलाई ल्यापटप आवश्यक छ’ भन्ने उक्ति वाचन गर्दा आफूलाई आवश्यक परेको ल्यापटप मानचित्रमा उतार्ने गर्नोस्।

तीन, भावना पनि उत्पन्न गराउने। मानौँ तपाईंले वाचन गर्ने उक्ति ‘म धनी छु’ हो। यस्तोमा तपाईं आफूलाई गरिब नै रहेको अनुभूत गर्नुहुन्छ भने परस्पर विरोधी सन्देश अवचेतन मस्तिष्कमा प्रवेश गर्छ। फलस्वरुप प्रतिज्ञा विधि प्रभावकारी हुन सक्दैन। त्यसैले कुनै पनि उक्ति वाचन गर्दा त्यस उक्तिसँग मिलान हुने भावना अनुभूत गर्नोस् ताकि अवचेतन मस्तिष्कले सो उक्तिलाई सजिलै विश्वास गरोस्।

(घ) कल्पना गर्ने
अवचेतन मस्तिष्कले दृश्यप्रति सकारात्मक प्रतिक्रिया जनाउँछ। अर्को शब्दमा भन्नुपर्दा, दृश्यलाई सहज रुपमा ग्रहण गर्छ। त्यसैले भिजुअलाइजेसन अथवा कल्पना गर्नु अवचेतन मस्तिष्कको पुनर्निर्माण गर्ने सशक्त विधिमध्ये एक हो। यस विधिमा आफ्नो उद्देश्य मानचित्रमा उतार्ने कोसिस गरिन्छ। सामान्यतः कल्पना निम्न चरणमा गर्न सकिन्छ।

– सहज रुपमा शान्त कोठाभित्र बस्ने। साथमा टाइमर हुनु आवश्यक छ। अनि कति समय कल्पना गर्न चाहेको हो, त्यो समय टाइमरमा सेट गर्ने।

–आँखा बन्द गर्ने।

–कल्पना गर्नका लागि ध्यानकेन्द्रित गर्ने। कुन लक्ष्य वा उद्देश्य प्राप्त गर्न चाहेको हो, त्यसको निक्र्योल गर्ने।

–शरीरलाई स्थिर तथा शान्त राख्ने। यसका लागि एकदेखि दुई मिनेट समय लामो, गहिरो श्वास लिने र फाल्ने गर्नुपर्छ। सम्पूर्ण ध्यान शरीर र श्वासमा दिनुपर्ने हुन्छ। यस चरणमा विगत र भविष्यबारे सोच्नु हुँदैन। वर्तमान अवस्थामा रहन सक्नुपर्छ।

–अब कल्पना गर्ने चरणमा प्रवेश गरिन्छ। यस चरणमा कल्पना गर्दा स्पष्ट मानचित्र, दृश्य मस्तिष्कमा उतार्न सक्नुपर्छ। त्यस मानचित्र, दृश्य मस्तिष्कमा उतार्दा उत्पन्न हुने सम्भावित भावना अनुभूत गर्न सक्नुपर्छ। मानौँ तपाईं करोडपति बन्न चाहनुहुन्छ। यस्तोमा कल्पना गर्दा आफू करोडपति भइसकेको चित्र मस्तिष्कमा उतार्ने प्रयास गर्नोस्। करोडपति हुँदा कस्ता भावनाहरु प्रवाह हुन्छन्, त्यसलाई अनुभूत गर्नोस्।

कल्पना विधि अवलम्बन गर्दा केही कुरामा सचेत रहनु अत्यावश्यक छ। पहिलो, कल्पना हरेक दिन गर्नुपर्ने हुन्छ। अन्यथा यस विधिले परिणाम दिँदैन। परिणाम अनुभूत गर्न दुईदेखि चार हप्ता लाग्छ। दोस्रो, अवचेतन मस्तिष्कले प्रतिरोध गर्न सक्छ। यस्तो अवस्थामा अनावश्यक चिन्ता लिनु फलप्रद हुँदैन। सन्तुलित व्यवहार कायम राख्न सक्नुपर्छ।

Leave A Comment